यलम्बर सम्वतको अवसरमा किराया अर्जुनधाराको विविध कार्यक्रम

0
6

अर्जुनधारा ।

किरात राई यायोक्खा अर्जुनधारा नगर कार्यसमितिले भवन निर्माण गर्ने भएको छ ।

यलम्बर सम्वत् ५०८४ को अवसरमा सोमबार भवन निर्माणस्थलमा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ र अर्जुनधारा–९का वडाध्यक्ष भीष्म मिश्रले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

अर्जुनधारा–९ मा रहेको संस्थाको भवन हाल जीर्ण अवस्थामा रहेको र दाताहरुबाट भवन निर्माण गर्न सहयोग रकम जुट्न शुरु भएको हुँदा कार्यसमितिले भवन निर्माण गर्ने निर्णय गरेको अध्यक्ष विजय साङपाङ राईले बताए ।

अनुमानित ४० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन सुविधा सम्पन्न सभाहलसहित दुई तलाको हुने समितिका सचिव सिंहबहादुर राईले जानकारी दिए । भवन निर्माण गर्न हाल अमेरिकामा रहेका युवा व्यवसायी मनोज राईबाट सात लाख रुपैयाँ, अर्जुनधारा नगरपालिकाबाट पाँच लाख रुपैयाँ, अध्यक्ष विजय साङपाङ राईबाट दुई लाख रुपैयाँ, ९ नं. वडा कार्यालयबाट एक लाख रुपैयाँ, हाल बेलायतमा रहेका चन्द्र वान्तवा राईबाट एक लाख रुपैयाँ प्राप्त हुने बताइएको छ ।

बहुउद्देश्यीय प्रयोजनमा प्रयोग हुने उक्त भवनको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने समितिको लक्ष्य रहेको छ । यसैबिच यलम्बर सम्वत् ५०८४को अवसरमा किराया अर्जुनधाराले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समितिको कार्यालय सभाहलमा अध्यक्ष विजय साङपाङ राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि किराया झापाका अध्यक्ष गणेश राईले उद्घाटन गरेका थिए । सोही कार्यक्रममा जग्गादाता स्थानीय बलबहादुर कुमाल र समितिकी सदस्य एवम् दाता अर्जुनधारा–४ निवासी मीना राईलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । त्यसैगरी कार्यक्रममा सहभागीहरुको लागि बाघचाल, छेलो हान्ने, हाजिरी जवाफलगायतका खेलहरु सञ्चालन एवम् मौलिक खानाका परिकारहरु वितरण गरिएको थियो ।

कार्यक्रममा किराया झापाका सल्लाहकार समर थुलुङ राई, सदस्य गौरीमान राई, अग्रज पत्रकार दिपीन राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका सल्लाहकार क्या.शिवकुमार चाम्लिङ राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सिंहबहादुर राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here