समयमै बनोस् जलन अस्पताल

0
5

कोशी प्रदेशको इटहरीमा बन्ने भनिएको जलन अस्पतालका लागि प्रदेश सरकारले डेढ करोड रूपैयाँ अनुदान दिएको छ । उक्त अनुदान सम्बन्धी सम्झौता गत माघ ३ गते नै भएको हो । तर, निर्माणको डीपीआर नै सम्पन्न नभएको अस्पताललाई डेढ करोड रूपैयाँ अनुदान दिने सम्झौता गरेको छ भने इटहरी उपमहानगर पालिकाले भवन निर्माणको प्रक्रिया नै शुरू नभएको जनाएको छ । इटहरीमा सञ्चालित मोडल अस्पताल मै जलन (बर्न) अस्पताल सञ्चालन गर्ने गरी जनस्वास्थ्य सरोकार ट्रस्ट (फेक्ट)ले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । कीर्तिपुरमा जस्तै जलन सम्बन्धी विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पताल सञ्चालन गर्न यस क्षेत्रका बासिन्दाले माग गर्दै आएका थिए ।

आउँदो तीन महिनाभित्र अस्पताल निर्माण कार्य शुरू गर्न भएको सम्झौता अनुसार आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक सय शय्याको अस्पताल निर्माण गरिने छ । कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सुधा देवकोटा र ट्रस्टका कार्यकारी निर्देशक डाक्टर गौरी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । इटहरी–११ पकलीस्थित भवानीपुर सात वर्ष अगाडि खरिद गरेको अढाइ बिगाह जग्गामा पचास शय्याको जलन र पचास शय्याको सामान्य अस्पताल निर्माण गर्न लागेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति ट्रस्टले व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ ।

ट्रस्टले कीर्तिपुर बाहेक मोडेल अस्पताल र सात वटै प्रदेशमा जलनका, ओठ तालु फाटेका र बोली सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । पूर्वी नेपालका बासिन्दाले दीर्घ प्रतिक्षा गरेको जलन सम्बन्धी विशिष्टीकृत सेवा अब सञ्चालन हुने आशा पलाएको छ । तर, त्यसका लागि पूर्वाधार तयार भई नसकेको अवस्थामा सम्झौता अनुसार पाँच वर्षभित्रै अस्पताल सञ्चालन हुनेमा विश्वस्त हुन चाहिँ सकिन्न । अस्पताल बन्नु, सञ्चालन हुनु र सेवामुखीले सेवा प्राप्त गर्न पाउनु कोशी बाहेक मधेस प्रदेशका बासिन्दाका लागि समेत हर्षको कुरा हो । तर, हामीकहाँ कुनै पनि आयोजना समयमै सम्पन्न भएको उदाहरण छैन । त्यसैले पनि यो योजना उदाहरणीय बन्नु पर्छ र जलनका बिरामीलाई अकाल मृत्युको त्रासबाट जोगाउने माध्यम हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here