भन्सार सेवामुखी कार्यालय बनोस्

0
5

प्रत्येक वर्षको जनवरी २६ का दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइने गरेको छ । विश्व भन्सार संगठनको निर्णय अनुसार विश्वभरका भन्सार समुदायले आजको दिन विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरेका छन् । आजको विश्व प्रविधिका कारण साँघुरिएको छ भने पछिल्ला खोज र सुविधा प्रयोग गरेर आवश्यकताको परिपूर्ति पनि गरिरहेका छन् । मानिसका असीमित आवश्यकताको परिपूरण एक्लो व्यक्ति वा राष्ट्रले गर्न नसक्ने हुनाले अर्को व्यक्ति वा राष्ट्रको भर पर्नु पर्नेछ । यस्तोमा पठाइने वा ल्याइने वस्तुको विवरण राख्दै त्यसबारे कर उठाउने प्रयोजनका लागि देशीय सीमामा खोलिएका अड्डालाई भन्सार कार्यालय भनिन्छ र वस्तु आयात निर्यात गरेबापत राज्यलाई बुझाइने कर नै भन्सार हो ।

हाम्रा अधिकांश सीमानाहरू खुल्ला छन्, जसका कारण वस्तुको आयात–निर्यातलाई व्यवस्थित गराउन सकिएको छैन । आयात गरेवापत भन्सार तिर्नुपर्दा वस्तुको मूल्य बढ्छ नै । चोरी पैठारी गर्दा व्यक्तिलाई लाभ त हुन्छ तर, राज्यले गर्नुपर्ने विकास निर्माणका काम प्रभावित हुन पुग्छन् । त्यसैले निकासी पैठारीमा नियन्त्रण गर्न भन्सार लगायत सुरक्षा निकायले मुख्य भूमिका निर्वाह गर्नुपर्छ । विश्वका हरेक देशले यसरी उपभोग्य वस्तु आयात निर्यात गर्न कानूनी प्रबन्ध गरेको हुन्छ । त्यही प्रबन्ध र कानून अनुसार सङ्कलन गरेको करलाई राजश्वका रूपमा राज्यले खर्च गर्छ । देशको शान्ति सुरक्षा, विकास निर्माण र देशको हितमा खर्च गर्छ । त्यसैले भन्सार कार्यालय प्रभावकारी, कर्मचारी इमानी र निष्ठावान भए राजश्व बलियो र देश आर्थिक रूपले सवल हुन सक्छ ।

उपभोग्य वस्तुको सरल तथा सहज ढङ्गले आयात–निर्यात हुनु उपभोक्ता, व्यापारी–व्यवसायी तथा सबै पक्षका लागि सुखद् परिणाम हो । वस्तुको आयात–निर्यातमा हुने सबै प्रकारका गलत क्रियाकलापहरू रोकिनुपर्छ । त्यही उद्देश्यले विश्वभर मनाउन थालिएको भन्सार दिवसका दिन नेपालमा पनि जागरण तथा चेतनामूलक कार्यक्रमका साथ मनाइने गरिएको छ । देशका विभिन्न नाकाहरूमा मनाइने विश्व भन्सार दिवशको कार्यक्रमले भन्सारलाई पारदर्शी बनाउन सक्यो भने र व्यवसायी वा आयातकर्तालाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ भन्ने ज्ञान दिन सक्यो भने यो दिवशको सान्दर्भिकता अरू बढ्नेछ । भन्सार कार्यालयहरूले आफूहरूलाई जसरी पनि राजश्व असुल्ने संस्था ठान्नु हुँदैन र आमजनताको सहयोगीका रूपमा लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here