अरिदमन गणमा  नेपाली भूतपूर्व सैनिकहरुको पुनर्मिलन तथा सैनिक सम्मेलन

0
9

झापा । झापाको चारआलीस्थित अरिदमन गणमा  नेपाली भूतपूर्व सैनिकहरुको पुनर्मिलन तथा सैनिक सम्मेलन सम्पन्न भएको छ ।

नेपाली सेना नम्बर २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, सैनिक कल्याणकारी बोर्डका प्रतिनिधि अधिकृत, जिल्लास्थित स्थानीय निकाय तथा सुरक्षा निकायका प्रमुखहरु, पत्रकार, झापा र इलाममा बसोबास गर्ने भूपू सैनिक तथा एकल महिलालगायत करिब एक हजार ६०० जनाको उपस्थिति रहेको थियो ।  

भव्य रुपमा सम्पन्न सम्मेलनको आयोजना नेपाली सेना कल्याणकारी बोर्डले गरेको थियो ।  कार्यक्रममा झापा र इलाम जिल्लामा बसोबास गर्ने भूपू सैनिक तथा एकल महिलाहरुलाई सहभागी गराइएको थियो ।

कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले गरेको सम्बोधन सैनिक सम्मेलनको मुख्य केन्द्र इटहरीबाट प्रत्यक्ष प्रसारण गरेर भूपू सैनिक तथा एकल महिलाहरुलाई देखाइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सहायक रथी थापाले शारीरिक रुपमा अशक्त भएका भूतपूर्व सैनिक तथा एकल महिलालाई जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले ह्विलचियर र बैशाखी वितरण गरेका थिए ।

त्यस्तै, थापाले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको तर्फबाट प्रदान गरिएको आर्थिक सहयोग समेत हस्तान्तरण गरेका थिए ।

सम्मेलनमा अरिदमन गण चारआली ब्यारेकद्वारा तयार पारिएको विभिन्न सांस्कृतिक कार्यक्रम, तेक्वान्दो, पिटी, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो ।

त्यस्तै, झापा जिल्लाका कला र संस्कृतिको जगेर्ना गर्न लागिपरेका महिलाहरुको समूहले तयार पारेको पञ्चेबाजा र धुलाबारीस्थित इस्ट होराइजन माविका विद्यार्थीले ब्यान्ड डिस्प्ले समेत गरेका थिए ।

भूपू सम्मेलनको अवसरमा नेपाली सेना नम्बर २१ फिए गुल्मले हिताधिकारीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न डा।अधिकृतहरुको टोलीसहितको दुई दिने स्वास्थ्य शिविर समेत सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here