पथरीमा धिमाल जातिय विकास केन्द्रले चिचिरी- गेन्द्रो दिवस मनाईने

0
7

पथरी शनिश्चरे,

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको कार्यालय उर्लाबारी, मोरङ्गको आयोजनामा पर्सी २६ गते शनिवार मोरङको पथरीमा एक दिवसीय चौथो चिचिरी – गेन्द्रो दिवस मनाइने भएको छ।

अघिल्लो वर्ष झैँ यस वर्ष पनि धिमाल जातिको मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवर्धनका लागि सो दिवस मनाईने भएको हो ।

पथरीमा आयोजित पत्रकार सम्मेलनमार्फत यस पटक पथरी शनिश्चरेको शान्ति – भुल्के सिमसार तथा पर्यटकीय स्थलमा “सँस्कृति, मौलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ सो दिवसको आयोजना गरिएको धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिका सह अध्यक्ष तथा कार्यक्रम संयोजक केदार धिमालले बताउनुभयो।

उहाँले धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका परिकारहरुका स्टलहरु मात्रै राखिने जनाउनुभयो। यि परिकारका स्टलहरु बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म उपलब्ध गराउने जनाउनुभयो।

मोरङ क्षेत्र नं ३ का संघीय संसद डा सुनिल शर्माले सो दिवसको औपचारिक उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ भने अपरान्ह पछि राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक तथा साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ।

सो अवसरमा विभिन्न कलाकारहरुको उपस्थितिमा साँस्कृतिक तथा साङ्गेतिक कार्यक्रममा गायिका रचना रिमाल, गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल लगायतको प्रस्तुति रहनेछ । करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको आयोजकले सो अवसरमा दुई हजार भन्दा बढि दर्शकहरू आउने अनुमान गरेको छ ।

सो दिवस यसअघि दमकमा पहिलो, उर्लाबारीमा दोस्रो र बेलबारीमा तेस्रो संस्करण सम्पन्न भएको थियो । आयोजकले पथरी शनिश्चरे नगरको प्रथम जाति धिमाल समुदायको एक मात्र गौरवशाली संस्था धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रम भएकाले पथरीशनिश्चरेका राजनीतिक दल, सामाजिक संघ/संस्था, शैक्षिक संस्था, उद्योगी, व्यवसायी, पत्रकार लगायत सम्पुर्ण महानुभावहरुलाई यसै पत्रकार सम्मेलन मार्फत सहयोगको अपेक्षा समेत गरेको छ।

पत्रकार सम्मेलनमा धिमाल जातिय विकास केन्द्र केन्द्रीय समितिका अध्यक्ष अम्बर बहादुर धिमाल, सचिव अजित कुमार धिमाल, महिला सचिव रोमान्सी धिमाल, सचिवालय सदस्य मोहन कुमार धिमालको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here