कविको सिर्जना ‘उपहार’

0
5

 

नेपाली काव्य भण्डारमा अर्को एक कृति थपिएको छ । त्यो हो कवि जयनारायण अधिकारीको ‘उपहार’ कविता संग्रह । जसमा कविता, गजल प्रकाशित भएका छन् ।

कृतिकार जयनारायण अधिकारी एक स्वअध्ययनशील स्रष्टा हुन् । विशेषगरी उनको रुची आध्यात्मिक ग्रन्थ तथा कृतिहरु अध्ययन रहेको पाइन्छ । अध्यात्म क्षेत्रका विविध विषयहरु मुखर किसिमले पर्गेल्र्ने गर्दछन् । सभा समारोह, कार्यक्रम, साहित्यिक कार्यक्रमहरुमा अध्यात्म क्षेत्रमा विचार र सिर्जनाहरु प्रभावकारी ढंगले प्रस्तुत गर्ने गरेका पाइन्छन् । फुटकर कविता, गजल आदि सिर्जना र प्रस्तुतिकरणमा पनि उनी निकै सक्रिय देखिने गरेका छन् । छन्दमा समेत काव्य सिर्जना गर्ने क्षमता राख्दछन् । कृतिको रुपमा भने उनको यो पहिलो कृति हो । जसलाई उनले उपहार नामको काव्य विधा पाठक समक्ष ल्याएका छन् ।

‘परमात्माको यो सुन्दर सृष्टि रुपी बगैँचामा मनुष्य जातिलाई सर्वोत्कृट पुष्प उपहार मानिन्छ, कारण मानव जातिले आफ्नो उच्च ज्ञान विवेक प्रयोग गरेर समाज उपयोगी सर्वजन हिताय सर्वजन सुखाय कार्य गर्न सक्छन्, यदि हामीले ईश्वरले दिएको विवेक र बुद्धिलाई सही ठाउँमा लगाउन सक्यौँ भने यो लोकमा धन्य धन्य साथै परलोकमा धन्य धन्य हुन सकिन्छ ।

समाजमा धेरै महापुरुषले मनुष्यलाई सतमार्गमा डो¥याउनका लागि विविध धर्मग्रन्थ, साहित्य, दर्शन आदिको रचना गरेर महान कार्य गर्नुभएको छ । सोही अनुरुप सेवा जप तप साधनको प्रतिफल यो लघु ग्रन्थ तयार पार्नु भएको देखेर धेरै हर्ष लाग्यो । यहाँको यो सुन्दर रचना मानव समाजको लागि एउटा दर्पण बनोस् भन्ने शुभेच्छा अर्पण गर्दछु ।’ सन्त जगतनन्दन, गोपी धाम धरानबाट यसरी यस उपहार कृतिबारे विचार प्रकट भएका छन् ।

बसुन्धरा अधिकारी प्रकाशक रहेको यस कृतिमा विभिन्न विद्वानहरुका विचारहरु पनि समेटिएका छन् । ‘आदरणीय जयनारायण अधिकारीज्यूको यो कविता संग्रह पुस्तक सरसरती हेर्ने मौका पाएँ । ज्ञानको प्रकाश सबैतिर लौकिक र पारलौकिक चिन्तनले ओतप्रोत रहेछ । पक्कै पनि यो अनुभव भुकृ शब्दहरुले सुन्दर समाजको निर्माणमा टेवा पु¥याउने काम गर्छ भन्ने विश्वासमा दुई शब्द उपहार स्वरुप मैले चढाएँ ।’ प्राचार्य महेन्द्र महाराज, रायगढबाट व्यक्त भएका छन् । जगतराज महाराज करनाल, हरियाणा भारतबाट पनि अधिकारीको कृतिले जनमानसमा सकारात्मक प्रभाव पार्न सक्षम हुने विश्वास गरिएको छ । त्यसैगरी अर्जुनधारा–१ सिस्ने झापाबाट कवि कालीबहादुर थापाबाट शुभकामना व्यक्त भएका छन् ।

‘जयनारायण अधिकारी जी उमेरले वान प्रस्थ अथवा उहाँको तपस्याकालीन अवस्था हो । यो अवस्थादेखि परमात्माको चिन्तन गरेर घरमै रहँदा घर पनि तपोवन हो भनिएको छ । तर, परमात्माको चिन्तन गर्दै गर्दै पनि आफ्नो उत्तराद्र्ध जीवनमा आएर उहाँ साहित्य सेवामा लाग्नु भएको छ । श्रष्टाले रचना गरेका वाणीले मानव या प्राणीको कल्याण हुने काम गरिरहेको हुन्छ । यस मानेमा उहाँलाई धन्यवाद नदिई रहन सकिँदैन ।

यस उपहार कविता संग्रह नामक ग्रन्थमा आफ्ना मौलिक रचना र साभार रचना प्रस्तुत गर्नुभएको छ । प्राथमिक शिक्षा मात्र आर्जन गरेका श्रष्टाले आफ्ना जीवन भरिका अनुभवहरु कवितामा लेख्न खोज्नु कोक्राको बालकले चन्द्रमा पकडिन खोजे जस्तो मात्र हुन्छ, तरै पनि उहाँले आफै समुद्रमा हेलिएर तर्न खोज्नु उहाँको प्रयास मात्र होइन साहस पनि हो । वहाँले नेपाली साहित्य महलमा एउटा इँटा थप्ने काम गर्नुभएको छ ।’ साहित्यकार मोहनप्रसाद घिमिरेको विचार प्रकट भएका छन् ।

यस संग्रहका स्रष्टा अधिकारीको कलमबाट यस्तो लेखिएको छ– ‘जनकेशरी धर्मराज थापा, सिद्धिचरण श्रेष्ठ, गोकुल जोशी, ईश्वर दास ओझा, महाकवि लक्ष्मिप्रसाद देवकोटा, भानुभक्त आचार्य, कवि कालिदास आदि आज्ञ अज्ञात साहित्य श्रष्टाहरुको सन्देशमूलक लेख, रचना विभिन्न विधामा आध्यामिक, धार्मिक, सामाजिक, राजनैतिक, आर्थिक, व्यबहारिक रचनाहरुको संगालो ताजा राख्न र साहित्य श्रष्टाहरुको जीवनी अक्षुण राख्नका निम्ति सुनेसम्मका र भेटेसम्मका सबैका एकएक सिर्जना, रचनाहरुको खोज गरी, वैदिक साहित्य श्रष्टाहरुदेखि वर्तमानसम्मका कवि, श्रष्टाहरुका कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथा जो शास्त्रीय, वैज्ञानिक, सामाजिक, व्यबहारिक र सन्देशमूलक छन् त्यस्ता रचनाहरु खोजी गरेर र मेरा आफ्ना रचनाहरु समेत राख्ने जमर्को गरेको छु ।’

भुटानमा जन्म भई हाल बुद्धशान्ति गाउँपालिका वडा नं. २ झापा निवासी स्रष्टा जयनारायण अधिकारी शिक्षाका नाममा साक्षर मात्र रहेपनि स्वअध्ययन र विद्वानवर्गको सत्संंगबाट ज्ञान हासिल गरी धर्म, संस्कृति, संस्कार, अध्यात्म, संस्कृत भाषामा समेत उच्च ज्ञान हासिल गर्न सफल भएका छन् । साहित्यमा पनि त्यतिकै रुची राख्ने उनी छन्दमा समेत कविता लेख्न सक्षम छन् । स्रष्टा अधिकारीको ज्ञान र योगदानको कदर स्वरुप विभिन्न संस्थाले सम्मान समेत गरेका छन् । बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानबाट २०७५ मा र घरदलान साहित्य अभियान बुद्धशान्तिबाट पनि सोही सालमा सम्मानित भएका छन् ।

बटुवा रुख मनि बसी रात, छोडी हिँड्दछन् जस्तै उठी प्रातः । प्राण यो त्यसरी नै उड्ने छ, सम्झना अमर त्यो रहने छ । देख्नुहुन्छ जुन यो झोपडी खास, हो कुनै क्षणिकको पथ बास । सुख दुखः जग बीच अंगाली, पर्खि काल हिँड्ने गरी खाली । यस्तो जीवनपयोगी उच्च विचार राख्दछन् यस संग्रहका सिर्जनाकार अधिकारी ।

कृतिभित्रका केही सिर्जनाका लाईनहरु पढौँ । कृष्ण कथा बाङ्गो हुन्छ झट्ट बुझिँदैन, लीला रुप त्रिभङ्ग छ मनमा सुझिँदैन, कोही भन्छन् बासुदेव देवकीका पुत्र, कोही नन्द यशोदाका बुझिँदैन सुत्र । कृष्ण कथा शीर्षकको कविताबाट । अब अर्को सिर्जना पढौँ । सन्ध्या प्रात गीतादिको अध्ययन निरन्तरै भैदिए, युवा वर्ग जमातले बुझि कुरा सत्मार्गमा गैदिए, नारी वैश्य र शुद्रले पनि त जो हक पाएका नै थिए, माने यो उपदेश विज्ञ बनिँदै सम्मान पाउने थिए ।
पुर्खाको सन्देश पालना गरौँ शीर्षकको कविताबाट । फेरि अर्को कविताको अंश पढौँ र काव्यको रस्वस्वादन गरौँ । कसैका चित्तमा चोट पु¥याए माफ माग्दछु, क्षमाको प्रार्थना गर्दै म आफ्नै लेख कोर्दछु, अर्ति उपदेश गर्दामा उच्च नीच केही परे पनि, गाली त यो होइन अर्ति सम्झिएँ पुग्छ नि । गृहस्त धर्म र हिन्दु संस्कृति शीर्षकको कविताबाट ।

यस्तै यस्तै जीवनपयोगी सिर्जना समेटिएका छन् उपहार कृतिभित्र । यो के होला ? छक्क पर्ने कुरा, आचरण सुधारौँ, श्रद्धाञ्जली भानु प्रति, चार युगको गति, गाईको पुकार, हाम्रो आत्माको असलीघर परमधाम, हरायो पो कि क्या हो ? श्रीकृष्ण वन्दना, बुढेसकाल शीर्षकका काव्य लगायत थुप्रै सिर्जनाहरु यस कृतिमा समेटिएका छन् । वैदिक, हिन्दु धरोहरुप्रति चिन्तनहरु र राष्ट्रप्रेमले भरिएको यो कृति अध्ययनबाट पाठक वर्गमा मार्गदर्शन प्रवाह हुन्छन् । कृतिको नाम उपहार भए जस्तै कृतिभित्रका सिर्जनाहरु अमूल्य उपहार भई प्रकाशित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here