क्षमताभन्दा तेब्बर बढी भएपछि ५७ कैदीबन्दी स्थानान्तरण

0
10

चितवन,

जिल्ला कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ५७ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । वैशाख ११ गतेदेखि १३ गतेसम्म चार जिल्लामा रहेका विभिन्न कारागारमा उनीहरुलाई स्थानान्तरण गरिएको हो ।

कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार ३० जना भीमफेदी कारागार कार्यालय मकवानपुर, १० जना वीरगञ्ज कारागार, नौ जना नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम), आठ जनालाई सर्लाहीमा स्थानान्तरण गरिएको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।

अहिले कारागार कार्यालय चितवनमा सात सय ३० जना कैदीबन्दी छन् । दुई सय ५५ जना पुरुष कैदीबन्दीको क्षमता रहेको बन्दीगृहमा अहिले छ सय ९० जना र २५ जना क्षमता रहेको महिला बन्दीगृहमा ३९ जना छन् । उनीहरुसँग आश्रित चार जना बालबालिका छन् ।

“बढ्दो गर्मी र कैदीबन्दीको चापका कारण सरुवा रोगको समस्या हुने भएकाले उनीहरुलाई स्थानान्तरण गरिएको हो”, प्रमुख आचार्यले भन्नुभयो । यस कारगारमा छिमेकी जिल्ला नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)बाट समेत कैदीबन्दी आउने हुँदा चाप बढ्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार यस आर्थिक वर्षमा पटक–पटक गरी एक सय चार कैदीबन्दी स्थानान्तरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here