आगोसँग खेलाचीँ नगरौं

0
3

गर्मीयामको शुरुवातसँगै आगलागी तथा डढेलोको प्रकोप बढ्ने सम्भावना बढेर गएको छ । गत वर्षहरुमा यही समयमा नै देशका विभिन्न भागमा आगलागीका कारण कैयौं धनजनको क्षति व्यहोर्नु परेको थियो । डढेलोको प्रकोप चैत तथा बैशाख महिनामा झन् बढेर जाने सम्भावना देखिन्छ । विगतका वर्षहरु भन्दा यस वर्ष अधिकांश वन तथा जंगलहरुमा आगलागीका घटना भइरहेका छन् । सरकारले विगतमा भएका विपद्बाट पाठ सिक्न नसक्दा यसबाट वर्षेनि ठूलो क्षति व्यहोर्नुपर्ने देखिन्छ ।

प्राकृतिक तथा दैवी प्रकोप कसैको नियन्त्रणमा हुँदैन । तर, हाम्रो लापरवाहीले आगलागी र डढेलो जस्ता घटनाहरुमा बढोत्तरी भई राखेको छ । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए । उनका अनुसार चैत र बैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गर्छन् । पूर्वमा पनि आगलागीका घटना बढिरहेका छन् ।

झापासहित देशका विभिन्न स्थानमा आगलागीबाट जनधनको क्षति भइरहेका समाचारहरु दैनिकजसो आइरहेका छन् । कसैले ननिभाइकन फालेको चुरोटको ठुटो, वनमा केही पोल्न तथा कुनै पनि वस्तु ढडाउन फुकेको आगोबाट हावाहुरीका कारण अन्जानबस डढेलो लाग्छ भने कतिपय ठाउँमा वर्षायाममा घाँस राम्रोसँग पलाउने, बाटो हिँड्दा डरलाग्दो झाडी देखिए कै कारण तथा दाउराको अभाव पूर्ति गर्नका लागि पनि गाउँघरतिर वन जंगलमा जानाजान डढेलो लगाउनेक्रम बढ्दो छ । वन जंगलमा लाग्ने यस्ता डढेलोले वातावरणमा समेत प्रतिकूल असर पार्ने गर्छ । तीव्ररुपमा भइराखेको जलवायु परिवर्तनमा आगलागीले मद्दत पु¥याउँछ, जुन राम्रो कुरा होइन । जलवायु परिवर्तनलाई बढावा दिनु भनेको हाम्रा सन्तती र हाम्रो भविष्यमा नकारात्मक असर पु¥याउनु हो । त्यसैले गर्मीयाम सँगै आगलागीको जोखिमप्रति सावधानी अपनाउन जरुरी छ ।

सुख्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएको र हाम्रो सानो लापरवाहीले डढेलोले ठूलो रुप लिन सक्ने भन्दै सरकारले सजग गराउने काम गरिरहेको छ । तर, यसलाई तीनै तहका सरकारले गम्भीररुपमा लिएको पाइँदैन । कुनै पनि विपद्पछि राहत लिएर जानुभन्दा त्यस्ता घटना हुनै नदिन सचेत र सजग बन्न जरुरी छ । त्यसैले ठूलो जनधनको क्षतिबाट बच्नका लागि सावधानी अपनाऔं । सरकारले कसरी सुरक्षित तरिकाले आगलागी नियन्त्रण गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न जरुरी छ । आगोसँग खेलाचीँ नगरौं । कहीँकतै आगो बाल्नुभएको छ भने पूर्णरुपमा निभाऔं, बालबालिकालाई बारुदजन्य पदार्थ तथा आगोबाट टाढा राखौं, वन र वातावरण जोगाऔं आगलागीबाट बचौं र बचाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here