इलामका युवासँग दक्षिण कोरिया पठाइदिन्छु भन्दै अवैध असुली

0
9

इलाम ।

रोजगारीका लागि दक्षिण कोरिया जाने वैधानिक तरिका दुईवटा मात्र छन् । एउटा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया भाषा परीक्षा पास गरेर र अर्को व्यक्तिगत श्रम स्वीकृति लिएर । व्यक्तिगतबारे अधिकांश मानिस अवगत नै छन् ।

इपीएस प्रणाली अनुसार भाषा परीक्षा पास भएकाहरुको नाम प्रक्रिया पूरा गरेर रोस्टरमा राखिन्छ । कोरियाका रोजगारदातालाई श्रमिक चाहिए अनलाइनमार्फत जब सेन्टरमा श्रमिकको माग गर्छन् । जब सेन्टरले सूची उपलब्ध गराइदिन्छ, सोही सूचीबाट रोजगारदाताले श्रमिक छनोट गर्छन् । यसमा कुनै पनि निकाय वा व्यक्तिको संलग्नता हुँदैन ।

तर, दक्षिण कोरिया गएकाहरुले गरेको आकर्षक आम्दानीमा लोभिएका, मुलुकमै स्वरोजगारमा रहेका या कुनै पेशा व्यवसाय गरिरहेका युवालाई थप ‘ब्ल्याकमेलिङ’ गरेर ‘कोरिया पठाइदिन्छु’ भन्दै करोडौं पैसा उठाएको पाइएको छ । यस्तो कार्यमा नेपाली कांग्रेस नेता, कार्यकर्तादेखि मन्त्रीका स्वकीय सचिव (पीए) सम्म संलग्न भएको भेटिएको छ ।

इलामका ज्ञानु दाहाल करिब ५० लाख लगानी रहेको हार्डवेयर पसल सञ्चालन गरिरहेका थिए । कमाइ राम्रै थियो । एक वर्षअघि स्थानीय सुरेन राईले उनलाई ‘आफ्नो माथिल्लो तहमा चिनजान रहेकाले दक्षिण कोरिया सजिलै पठाइदिने’ बचन दिए ।

शुरुमा दाहालले पत्याएनन् । तर, कोरिया गएका युवाले राम्रो कमाएर पैसा पठाएको खबर उनले सुनिरहेका थिए । उनीहरुको परिवारको आर्थिक स्थितिमा केही वर्षको अवधिमै ठूलो परिवर्तन आएको थियो । यता, देश आर्थिक मन्दीको चपेटामा पर्दा उनको व्यवसाय पनि खस्किँदै गएको थियो ।

आम्दानी सुक्दै जाँदा उनलाई बढी कमाउने लोभले गाँज्न थाल्यो । बीचबीचमा सुरेनले कोरिया पठाइदिने प्रलोभन देखाइरहेका थिए । कोरिया जान पाइन्छ भने किन नजाने त भनेर उनले राईलाई २०७९ फागुन ९ गते अढाइ लाख रुपैयाँ दिएँ,– उनले भने – तर कोरिया पठाउनेभन्दा पनि ठगी धन्दाको योजना बुनिएको रहेछ, मलाई के थाहा ? अहिले पैसा उठाउने लडाइँ चलिरहेको छ । कोरिया जानका लागि धेरै इलामेलीका घरखेत, गाईभैंसी सबै सकिएको उनले बताए ।

कोरिया जाने लोभमा मानिसहरु भएका पेशा व्यवसाय छाडेर बसेका छन्,– दाहालले भने,–गाईभैंसी, घरखेत सबै सकेका छन् । सुरेनलाई पनि कसैले फसाएको उनको अनुमान छ । उनी कोरियन भाषा पढाएर राम्रै कमाउथे दाहालले भने – मानिससँगको चिनजान र स्टाटस हेरेर पनि कारोबार गरियो तर नराम्रोसँग फसियो । इलामकै एकतप्पाका लक्ष्मी श्रेष्ठ पनि त्यसैगरी पैसा बुझाएर फसेको उनले बताए ।

युवालाई कोरिया पठाइदिन्छु भन्दै पैसा उठाउन नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ का सभापति डिकेन्द्र इदिङ्गो पनि संलग्न छन् । इलामको माङ्सेबुङ गाउँपालिकाका पूर्वअध्यक्ष इदिङ्गोले माई जोगमाई गाउँपालिकाका आइन्द्र लिम्बूसँग तीन लाख लिएका छन् । ‘कोटा सकिन्छ छिटो गर्नुस्’ भनेर उनले पैसा उठाएको लिम्बूले बताए ।

कांग्रेस नेता इदिङ्गोको इसेवा अकाउन्टमा मंसीरमा गजेन्द्र दाइ (आइन्द्रले हामीसँग लिएको नाम)ले तीन लाख हालिदिएका छन् । इदिङ्गोलाई पैसा दिएपछि उनी ललितपुरको भैंसेपाटी बस्न थाले । अहिले पनि उनी उतै छन् । उहाँ (डिकेन्द्र इदिङ्गो)ले काम भइहाल्छ भनेपछि आएँ,– उनले भने –भैंसेपाटीमा बस्छु, हिजोआज त आम्दानीका लागि सानोतिनो काम पो गर्न थालेको छु ।

आइन्द्र किसान हुन् । आफ्नै गाउँको केटी बिहे गरेको र आफूले फुपाजु भन्नुपर्ने मान्छे भएकाले विश्वास गरेर पैसा दिएको तर फसेको उनले बताए । नेता इदिङ्गोले आइन्द्रलाई शरतसिंह भण्डारी श्रममन्त्री भएका बेला ‘मिलाएर कोरिया पु¥याइदिन्छु’ भनेका थिए । ‘अहिलेका श्रममन्त्रीले रोकिराखेको छ रे– आइन्द्रले भने, –अब चुनावपछि कुरा गरौं भन्नुभएको छ ।

उनले इलाममा वेल्डिङ सिकेका छन्, तर, प्रमाणपत्र पाएका छैनन् । त्यसका लागि २० हजार तिरेका छन् । कोरिया पठाइदिन्छु भन्दै युवाबाट पैसा उठाउने अर्का व्यक्ति हुन्, नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संगठन नेवि संघका केन्द्रीय सदस्य भूपेन्द्रसिंह थेवे । उनले पनि धेरै युवाबाट ५ लाखसम्म उठाएको प्रमाण प्राप्त भएको छ ।

कोरिया लगिदिने प्रलोभनमा पारेर झापाका कुलप्रसाद उप्रेतीबाट २०८० असोज ८ गते भूपेन्द्रले ५ लाख लिएका छन् । इलामकै मोहन थेबेबाट पनि भूपेन्द्रले १ लाख २० हजार रुपैयाँ असुलेका छन् । त्यस्तै ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका याम सुब्बाबाट डेढ लाख लिएका छन् ।

युवाबाट पैसा उठाउने अर्का व्यक्ति हुन् कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईका स्वकीय सचिव प्रकाश भट्टराई । नेपाली कांग्रेसका इलाम जिल्ला सदस्य भट्टटराईले याम सुब्बाबाट ५० हजार रुपैयाँ उठाएका छन् । त्यस्तै इलामका राजेन्द्र निरौलाबाट भट्टराईले ३ लाख लिएको प्रमाण रहेको बताइन्छ । उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता सशांक कोइराला, संखुवासभाका सांसद दीपक खड्का, प्रदेशमन्त्री शमशेर राई लगायतसँगको सम्बन्ध देखाएर प्रभावमा पारेको पीडितहरुले बताएका छन् ।

त्यति ठूला मान्छेसँगको उठबस देखेपछि काम गरिदिन्छन् होला भन्ने लागेर पैसा दिएका हौं– अधिकांश पीडितको भनाइ हो यो । कोरिया लैजान उनीहरुले मान्छे हेरेर १५ लाखदेखि २८ लाख रुपैयाँसम्म लाग्ने बताएका थिए । त्यसका लागि कोरियन टिम आएको भनेर युवालाई झुक्याइएको थियो । कोरिया लैजाने भनेर शरुमा युवाहरुलाई भदौमा काठमाडौं बोलाएर भत्केको पाटीमा वेल्डिङ तालिम दिइएको थियो । त्यसमा पनि युवाबाट मनपरी पैसा लिइएको छ । जम्मा १० दिन तालिममा सहभागी गराएर २० हजार लिएको पीडितले बताएका छन् । तर, उनीहरुलाई ६ महिना तालिम दिएको भनेर २०७२ र २०७४ सालतिरका प्रमाणपत्र बनाइएका छन् । त्यो ट्रेनिङ सेन्टर र प्रमाणपत्र पनि नक्कली रहेको स्रोतले जनाएको छ ।

कोरियाको ‘सिप बिल्डिङ’मा लैजाने भनेर तालिम लिएका युवाबाट लगत्तै भिसा आउँछ भनेर दशैंअघि नै पैसा उठाइएको थियो । काठमाडौं आउँदा, तालिम लिँदा, बस्दा, खाँदा र फर्किंदा पीडित युवाको अर्को ५०–६० हजार रुपैयाँ खर्च भएको छ । तालिममा करिब चार सय युवा सहभागी भएको झापाका उप्रेतीले बताए । चार सय जनामा दुई सय जना छानेको तपाईंहरु पर्नुभयो भनेर हरेक युवासँग पैसा उठाइएको रहेछ– उनले भने । सीप परीक्षणमा कोरियन नै सहभागी रहेको उप्रेतीले बताए । यसले ठगी कार्यमा कोरियनहरुलाई पनि प्रयोग गरिएको अनुमान गर्न सकिन्छ । सिरिजंघाका याम सुब्बा तीनपटक प्रयास गर्दा वैधानिक तरिकाबाट नभएपछि हैरान भएका बेला ठगी समूहको फन्दामा परेका हुन् । १३–१४ वर्षदेखि झापाको बिर्तामोड बस्दै आएका उनी हाउस वायरिङमा निपूर्ण छन् ।

कोरियन भाषा पढिरहेको थिएँ, ३९ वर्षको भइसकियो, पटक–पटक प्रयास गर्दा पनि जान सकिएको थिएन, छिमेकी भूपेन्द्रसिंहले म कोरिया पठाइदिन्छु भनेपछि पत्याएँ, भइहाल्छ नि भनेर पैसा दिएँ, नमज्जाले फसियो – उनले भने । अहिले पैसा माग्दा थेबेले –जे मन लाग्छ गर, जे सक्छस् गर, सक्छस् भने पुलिस रिपोर्ट गर– भनेर धम्क्याउने गरेका छन् । अब उनीहरु पावर भएका मान्छे, केही गरिहाल्ने हुन् कि भनेर डर पनि लाग्छ,– उनले भने । अर्का इलामकै ज्ञानबहादुर गुरुङले पनि‘खास कोरिया पठाउने म पो हो त भन्दै युवाबाट पैसा उठाएका छन् । पैसा उठाउने कार्यको नेतृत्व भने ताप्लेजुङको सिरिजंघा गाउँपालिका –१ स्थायी घर भएका सुरेश इवारामले गरिरहेको अनुमान छ । सुरेश दक्षिण कोरियामा लामो समय बसेर आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here