रोजगारीका नाममा भइरहेको ठगी रोक्न सरकारको ध्यानाकर्षण

0
5

झापा ।

सरकारले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी युरोप, अमेरिका, जापान, दक्षिण कोरिया, इजरायललगायतका मुलुकमा वैदेशिक रोजगारीका नाममा बढ्दै गइरहेको ठगीका सम्बन्धमा आमसञ्चार माध्यमबाट प्रकाशन प्रसारण भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको र त्यसका लागि आम सरोकारवालाको उत्तिकै सक्रियता आवश्यक पर्ने विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र त्यसको ५० प्रतिशतले हुने रकम हर्जनाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराएर निजलाई ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ७ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ ।

‘उल्लिखित कानुनी व्यवस्थाका बाबजुत वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका देशमा रोजगारीको अवसर छ भनी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रेषित गर्ने र भ्रम सिर्जना गरी आर्थिक रुपमा ठगी गर्ने गरेको समेत पाइएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न मन्त्रालयअन्तर्गतका निकाय तथा सरकारका अन्य नियमनकारी निकाय प्रतिबद्ध रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए । वैदेशिक रोजगारीमा जानका लागि हाल तीन प्रकारका विधि रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

ठगीबाट बच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया सुरु गर्नुअघि इजाजतपत्र प्राप्त संस्थामार्फत प्रक्रिया अगाडि बढाउन मन्त्रालयले आग्रह गरेको छ । कुनै पनि संस्था इजाजतपत्र प्राप्त हो वा होइन र वैदेशिक रोजगारीका लागि पूर्वस्वीकृति लिएको छ वा छैन भन्ने कुरा वैदेशिक रोजगार विभागको वेबसाइट धधध.मयाभ.नयख.लउ बाट यकिन गर्न सकिन्छ ।

कसैको प्रलोभनमा परी बिनाप्रमाण तोकिएको शुल्कभन्दा बढी रकम नदिन र वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउन पनि मन्त्रालयले स्पष्ट गरेको छ ।

यस सन्दर्भमा आवश्यक सूचना, जानकारी, गुनासो एवं उजुरीका लागि श्रमाधान कल सेन्टरमार्फत वा प्रत्यक्ष रुपमा मन्त्रालय वा मन्त्रालयअन्तर्गतका निकायमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

विभिन्न माध्यमबाट दक्षिण कोरया पठाइदिन्छु भनेर देशका विभिन्न जिल्लामा सयौं युवालाई प्रलोभनमा पारी नक्कली तालिम दिएर गएको भदौ असोजमा तीन लाखदेखि पाँच लाखसम्म पैसा उठाएको समाचार पूर्बाञ्चल दैनिकले प्रकाशन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here