बन्यो पूर्वाधार विकास कार्यालयको सुविधासम्पन्न भवन

0
4

पर्वत,

 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्वतमा रहेको पूर्वाधार विकास कार्यालयको भवन निर्माण सम्पन्न भएको छ ।

कार्यालयको २१ कोठको चारतले भवन निर्माण सम्पन्न भएको हो । कार्यालय प्रमुख गुरुदत्त अधिकारीका अनुसार झण्डै रु साढे तीन करोडको लागतमा निर्माण भएको भवन भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री छ । विसं २०७८ वैशाख २५ गते भवन निर्माणका लागि अमित बिल्डर्स र कार्यालयबीच रु तीन करोड ४० लाखमा ठेक्का सम्झौता भएको थियो । हालसम्म रु तीन करोड छ लाख भुक्तानी भएको अधिकारीले बताउनुभयो ।

हाल खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भवनमा रहेको कार्यालय आगामी नयाँ आर्थिक वर्षदेखि नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । साँघुरो कोठा भएका, छरिएका र पुराना भवनमा रहेको कार्यालय एउटै भवनबाट सञ्चालन गर्दा सहज हुने उहाँले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय पर्वतमा स्थापना भएको छ वर्षपछि आफ्नै भवन तयार भएको हो । कार्यालय तयार भए पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्यसम्पादनमा भने समस्या भएको छ । चालु आवमा बजेट विनियोजन भएका एक सय ५२ वटा योजनामध्ये हालसम्म ६६ योजना सम्पन्न भइसकेका छन् ।

कार्यालयका अनुसार जिल्लामा यस वर्ष १६ किलोमिटर सडक कालोपत्र भइसकेको छ । चालु आवको चैत मसान्तसम्म कार्यालयको भौतिक प्रगति ४५ प्रतिशत भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here