सचेतनामा जोड देऊ

0
3

अभिव्यक्ति स्वतन्त्रताको बलियो माध्यमका रुपमा स्थापित सामाजिक सञ्जाल कतिपय अवस्थामा ‘टाउको दुखाइ’को कारण बनिँदै गएको छ । मानिस र मानिसका बीचमा अनि मानिस र समुदायका बीचमा अन्तरक्रिया गर्दै विचार, रुचि, मनोरञ्जन, सिप, जानकारी र ज्ञान प्रवाह गर्ने सशक्त साधन पनि सामाजिक सञ्जाल नै हो । यसकै माध्यमबाट सूचना सम्प्रेषण गरिन्छ, सूचना प्रविधिको पहुँच बढाउने, ज्ञान र सिप हासिल गर्ने, सम्बन्ध स्थापित गर्ने, व्यापार–व्यवसायको प्रवद्र्धन गर्ने र ज्ञानमा आधारित समाज निर्माण गर्ने सामथ्र्य समेत प्राप्त भएको छ । कतिपयका लागि महमा झिंगालाई आकर्षित गर्ने सरहको सामाजिक सञ्जाल हाम्रो समाजका लागि चक्रब्यूहमा परिणत भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रत्येक वस्तुमा अवगुण पनि हुन्छन्, प्रयोगकर्ता त्यसतर्फ सजग र सचेत हुनुपर्छ– यो त हाम्रा पुर्खाहरुले भनि ल्याएका कुरा हुन् । नाट्यसम्राट बालकृष्ण समले भने जस्तैः ‘विज्ञानको मरण रोएरै हुन्छ अर्थात् रोई विज्ञान मर्दछ’ पनि तिनै पुर्खाहरुको भनाइको पुनर्उक्ति हो । हामी कहाँ सामाजिक सञ्जालको दुरुपयोगका तथ्याङ्क प्रत्येक दिन, प्रत्येक महिना र प्रत्येक पछिल्ला वर्ष उकालो लागिरहेको छ । चलाउँदा रमाइलो हुने, ख्यालठट्टा गर्न पाइने र मनोरञ्जन समेत हुने कारणले नयाँपुस्ताका लागि यही सेवा निष्कृय, विकृत, विसंगत बनाउने माध्यम बन्दै गएको छ । सञ्जाल कतिपयका लागि भ्रम सिर्जना गर्न, चियागफ गर्न, कुरा काट्न सहायक बनिएको छ भने अश्लीलता प्रदर्शन गर्ने, रिसइबी साध्ने र बदला लिने साधन पनि बनिएका कारण अपराधहरु पनि बढ्दैछन् ।

सामाजिक सञ्जालको दुरुपयोगले मानव बेचबिखन, भ्रामक सूचना प्रवाह, सूचनाको चुहावट बढेको मात्रै छैन आममानिसमा कुण्ठा, निराशा वैमनस्यता पनि पैदा गरेको छ । त्यसैले यस्ता नकारात्मकतालाई निस्तेज गर्न प्रहरीले साइबर ब्यूरोको स्थापना गरेको छ । त्यस सम्बन्धी उजुरी दिने ठाउँ ब्यूरोमा उजुरीकर्ताको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । सञ्जालकै ज्ञान नहुँदा खाता नै ‘ह्याक’ हुनेदेखि आर्थिक क्षतिसम्मका घटना बढ्दै जान थालेपछि विद्यालयदेखि नै साइबर अपराध सम्बन्धी सचेतना शिक्षा दिन थालिएको छ । सञ्जालको प्रयोग उचित ढङ्गले गर्न नजान्दा वा सचेत नहुँदा निरपराधले दोषी प्रमाणित हुनुपर्ने स्थिति पनि छ । एकातिर यसले बालबालिकामा सिर्जनशीलता हराउँदैछ भने अर्कातिर उनीहरुलाई एकाकी बनाउँदै लगेको छ । त्यस्तै सामाजिक अपराधहरु बढ्दै छन् भने समाजमा संवेदनशीलता पनि हराउँदै गएको छ । त्यसैले प्रयोगकर्तामा यस सम्बन्धी सचेतना आजको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here