सफलताका रहस्य

0
4

संसारमा हरेक मानिसहरु काममा व्यस्त छन् । सफलता प्राप्त गर्नु सबैको एक उद्देश्य हो । तर, सबै मानिसहरुले अपेक्षित लाभ लिन सकेका हुँदैनन् । काम कुनै पनि सानो ठूलो हुँदैन । स्वभाव रुची र गर्दै गरेको आफ्नो कामको प्रकृति अनुसार हामी अरुको कामको मूल्याङ्कन गर्छौं र राम्रो या नराम्रो ठान्दछौं । फरक–फरक बाटोबाट आफ्नो लक्ष्य प्राप्त गर्नका लागि मानिसहरु क्रियाशील छन् । तर, किन मानिसहरु अपेक्षित लाभ लिन सक्दैनन् र असफल बन्दछन् आउनुहोस् यसबारे छोटो विमर्श गरौं ।

काम नगरी बस्नुमा सफलता प्राप्त नभए पनि ठूलो असफलता भोग्नु पर्दैन । एउटा विन्दुबाट हजारौं लम्बाईका रेखा कोर्ने या चित्र बनाउन सकिन्छ । तर, एउटा तयारी रेखा वा चित्रलाई फेरि बिन्दु बनाउन सकिँदैन । बिन्दुको मूल्यांकन हुँदैन, तर त्यही बिन्दुबाट बनेका रेखा र चित्रहरुको नाप र मूल्यांकन अवश्य हुन्छ । हाम्रो जीवनको यर्थाथता करिब–करिब यस्तै हुन्छ ।

त्यसो भए सफल मानिसहरु के गर्छन् त हरेक मानिसका काम गर्ने तरिका फरक हुन्छन् । तर, सबै सफल मानिसहरुका क्रियाहरु एउटै हुन्छन् । कि उनीहरु थालेका कामलाई निरन्तर अगाडि बढाइरहन्छन् । उनीहरु व्यक्तिका आलोचना र स्याबासीमा त्यति दुःखी वा खुशी हुँदैनन् । तर, ती कुराहरुबाट धेरै कुरा सिक्छन् । उनीहरुले आलोचनाबाट आफूलाई त्रुटी गर्न छुट नै छैन भन्ने बुझ्दछन् । र, यदि भई हाले पनि यसलाई सुधार्नैपर्छ भन्ने अन्तिम निर्णयमा पुग्छन् । सुधार्न असम्भव छ भने अरु कुनै राम्रा कामले यसलाई अवश्य ओझेलमा पर्छन् ।

प्रक्रिया फरक होस् तर सबै सफल मान्छे क्रियाहरु निरन्तर गरिरहन्छन् । हरेक सफल मानिसहरुले आफूले गर्ने वा गर्दै गरेको कामलाई यसरी बुझ्दछन् कि मैले कामलाई सिध्याउनुपर्छ, नत्र यही कामले मलाई सिध्याउनेछ । किनकि अधुरो काम गर्नेलाई नै हामी असफल भन्छौं भन्दा अत्युक्ति नहोला ।

खोला जतिसुकै लामो या छोटो होस उसको लक्ष्य समुद्रमा पुग्ने नै हो । खोला समुद्रमा पुग्दैन, बीच बगरमै सुक्छ भने त्यो पानी खोला बन्न मुहानबाट ननिस्किएकै राम्रो हो । समुद्रमा पुग्ने खोलाको पानी सहजै समुद्रमा अवश्य पुग्दैन । उसले बाटोमा हजारौं चट्टानको सामना गर्नुपर्छ । सयौं घुमाउने दहमा महिनौं अल्झनु र घुम्नु पर्छ । तथापि उसको यात्रा निरन्तर अगाडि बढिरहन्छ । अर्जुनदृष्टि समुद्र राखेर एक थोपा पानीले समुद्रको उपमा प्राप्त गर्छ । आखिर सफल हरेक थोपाहरुको संगालो नै त समुद्र हो । के समुद्र हामीले टेकेको पृथ्वीको जमिनको सिंगो भागभन्दा तीन गुणाले ठूलो छैन र ?

जुनसुकै विधामा होस्, जो मानिसले विश्व रेकर्ड कायम गरेर गिनिजबुकमा नाम लेखाए प्रत्येक तिनीहरुले गरेका कामलाई हामी हेरौं त के हाम्रो आङ जिरिङ्ग हुँदैन र । के हामीलाई आश्चर्य लाग्दैन र ? लाग्छ अवश्य लाग्छ । के तिनीहरु हामी जस्तै साधारण मानिसबाट असाधारण बनेका होइनन् र ? हो, अवश्य हो हामीले राम्ररी बुझेका छौं ।

सफल मानिसहरु अरुको तारिफ गर्नमा त्यतिधेरै समय खर्च गर्दैनन्, तर उनीहरु ती मानिसका सफलता पछाडिका राज र रहस्यहरु पत्ता लगाएर उनीहरुको गुणको अवलम्वन भने अवश्य गर्छन् । सफल मानिसहरु हरेक चुनौतीलाई गम्भीरतापूर्वक अध्ययन गर्छन् र सामान्य तरिकाले हल गर्छन् । हरेक चुनौतीलाई अवसरको रुपमा लिने उनहरुको सबैभन्दा राम्रो गुण हो ।

लामो समय लगाएर त्यसको रिजल्ट प्राप्त गर्न होइन, सफल मानिसहरु छोटो समयमा लामो समयमा मात्र सकिने कामको मज्जा र आनन्द प्राप्त गर्छन् । मतलब यो हो कि कुनै चलचित्रको कथावस्तु जान्नका लागि दशर्कहरु चलचित्र छायांकन भएको ठाउँमा जाँदैनन् उनीहरु वर्षौं लगाएर र सयौं कोष टाढा–टाढा गएर बनाएको चलचित्र एक ठाउँमा बसेर दुई–तीन घण्टामा हेर्छन्, मज्जा लिन्छन् र मूल्यांक गर्छन् ।

सफल मानिसहरु आफूले गर्न चाहेको स्थानबाट मानिसहरुलाई उनीहरुको चाहना अनुसारको वा उनीहरुको माग अनुसारको सेवालाई छनोट गर्छन् र यसलाई उपलब्ध गराउँछन् ।
सफल मानिसहरुलाई यो पनि थाहा हुनुपर्छ कि उपयोगिताको ह्रास नियम जस्तै उपलब्ध सेवाहरुको पनि एक निश्चित समय हुन्छ र यसलाई पनि माग र रुची बद्लिए सँगै मैले बदल्न सक्नुपर्छ । यो ज्ञान र बदल्ने गुण उनीहरुमा हुन्छ ।

सफल मानिसहरु आफूभित्र अपराजयको बोझ बोकेर बस्दैनन् । यदि हारियो भने यो झन् ठूलो अवसर हो भन्ने उनीहरु बुझ्दछन् । उनीहरुलाई थाहा छ कि गुलेली जति धेरै तन्काएर पछाडि तान्न सकियो भट्याङ्गा त्यति टाढा पूग्न सक्छ त्यसैले पछाडि धकेलिनु नै अगाडि पुग्ने अवसर हो ।

सफल मानिसहरु आफूलाई निर्धारित सिमाभित्र राख्दैनन् । उनीहरु जान्दछन् कि भोलि समयले मलाई अर्को फड्को मार्ने अवसर जुटाउँछ । र म फरक कामका लागि पनि योग्य हुन सक्छु । यस्ता अवसर प्राप्त भएका सयौं मानिसलाई तपाईले पनि देख्नु भएको छ ।

तपाई जंगलमा हराउनुभएको छ, तर पनि तपाई हिँडीरहनुहुन्छ । त्यो तपाइँको मुर्खता होइन, तपाई त्यहाँ गोरेटो खोज्दै हुनुहुन्छ र त्यही गोरेटोको सहाराले ठूलो बाटो हुँदै गन्तव्य प्राप्त गर्न खोजिरहनु भएको छ । त्यस्तैगरी सफल मानिसहरु सधैँ क्रियाशिल, सक्रिय र आशावादी हुन्छन् ।

सफल मानिसहरु सधैँ होसियार हुन्छन् । तपाईलाई थाहा हुनुपर्छ कि आँखा नदेख्ने मानिसहरु ठूलो र भीडभाडयुक्त सहरमा पनि अक्सर दुर्घटनामा पर्दैनन् । दुर्घटनामा ती मानिसहरु पर्छन जो टाढा–टाढासम्म देख्छन् । त्यसैले एक लापरवाहीले हजारौं अवसर र तागतलाई पनि क्षणभरमा नष्ट गरी दिन्छ । यो कुरा बुझ्न जरुरी छ ।

सफल मानिसहरु हरेक चुनौतीलाई धन्यवाद दिन्छ न कि यो काम गर्न सबै डराएर मलाई अवसर प्राप्त भयो । चुनौती यस्तो कुरा हो कि जहाँ प्राप्त हुन्छ त्यहीबाट अवसर साथै आउँछ । मानौं एउटा बच्चा नेपालमा जन्मियो र २० वर्षसम्म नेपाली मात्र पढ्यो र बोल्यो भने उसलाई अंग्रेजी बोल्न र पढ्न आउँदैन । तर, त्यही बच्चा अमेरिकामा जन्मेको थियो र उसले शुरुदेखि नै अंग्रेजी मात्र बोल्ने थियो र अंग्रेजी मात्र लेख्यो भने उसलाई नेपाली बोल्न र लेख्न आउँदैन थियो ।

भन्नुहोस् अब केलाई चुनौती भन्ने केलाई अवसर भन्ने ? मेरो विचारमा यहाँ चुनौती केही छैन संसारमा केबल अवसर मात्र छ । त्यसैले हामीले परिस्थितिलाई बुझेर स्थितिलाई बदल्नु नै बुद्धिमानी हो । यदि हामी वास्तविक रुपमा जागरुक छौं भने हामी सफल छौं र हुन्छौं । अन्यथा हामी कल्पनाको खेती गर्ने सामान्य आम मान्छे मात्र बन्न सक्छौं । त्यसैले उठौं, जागौं र लक्ष्य निर्धारण गरेर जीनवको लाभ प्राप्त गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here