पारिवारिक एकता बलियो होस्

0
3

वैदिक सनातनी धर्म र संस्कृतिले विश्वका सम्पूर्ण मानिसलाई एउटै परिवार मान्नुपर्छ भन्ने सन्देश दिएको छ । ‘वशुधैव कुटुम्बकं’ यो मन्त्र नै हो जसले मानिसमा उदारता हुनुपर्छ भनेको छ । हुन पनि सृजनाका आधारमा विश्वको जुनसुकै कुनामा रहेको मानिसको शरीर उस्तै छ, श्वास उसैगरी प्रवाहित हुन्छ, हाड, छाला, रगत र मांशपीण्ड समान छ । उही, उस्तै र एउटै जाति भएर पनि विचार, भावना, सोच्ने तरिका, आस्था र विश्वासले मानिस–मानिसमा विभाजन छ । यसले कहिलेकाहीँ विचारको मात्र नभएर व्यवहारमै द्वन्द्व निम्त्याएको इतिहासले देखाएको छ । हुँदा–हुँदा हिजोआज मानिस रौं–चिरामा विभक्त हुन थालेको छ । धर्म, जात, सम्प्रदाय, वर्ण, लिङ्ग जस्ता मानव निर्मित विभाजन रेखाले मानिस–मानिसका बीच शत्रुता बढ्दै गएको छ ।

विगतमा भएका आन्तरिक वा बाह्य द्वन्द्व, युद्ध जसले मानव जातिकै संहार गरेको छ, जसको रापमा परेर लाखौंले ज्यान गुमाएका छन्, लाखौं असहाय, अपाङ्ग र बेघरबार भएका छन् । हुँदाहुँदा घरभित्रै परिवारमै वैचारिक वर्गीकरणले पारिवारिक एकता, प्रेम, सद्भाव, हार्दिकता र आत्मियता पनि मर्दै जान थालेको छ । त्यही अवस्थामा संयुक्त राष्ट्र संघले सन् १९९४ मा अन्तर्राष्ट्रिय परिवार दिवस मनाउने घोषणा ग¥यो । त्यही घोषणालाई उसका सदस्य राष्ट्रहरुले अंग्रेजी महिना मे १५ का दिनलाई परिवार वर्षको रुपमा मनाउन थाले । परिवारको महŒव उजागर गर्दै विश्व बन्धुत्वको भावना जागृत गराउने उद्देश्यले मनाउन थालिएको यो दिवसले एउटा परिवारमा मात्र होइन विश्वका मानव जातिलाई एउटै सूत्रमा बाँध्न प्रेरित ग¥यो भने यो दिनको सार्थकता र महŒव अझै बढ्नेछ । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा परिवर्तन आइरहेको छ । त्यसैले परम्परागत संस्कार, संस्कृतिसँगै बालबालिकाको संरक्षकत्व, अभिावकत्व र लालनपालनमा समेत प्रभाव पर्दै गएको छ । त्यसकारण पनि पारिवारिक एकता, सद्भाव र अपनत्वको विकास गर्दै विश्वलाई नै एउटै परिवारका रुपमा विकास गर्नु आजको आवश्यकता हो ।

आज पूर्वीय परिवार नै खण्डित हुँदै जान थालेको छ । संयुक्त परिवारको नेपाली संस्कृति क्रमशः एकल बन्दै गएको छ । हाम्रो परम्परागत पारिवारिक मूल्य र मान्यता विखण्डित हुँदै जाँदा भावीपुस्ता झनै संकीर्ण र संकुचित हुँदै जाने जोखिम बढेको छ । संयुक्त परिवारमा हजुरबुवा, हजुरआमाबाट पाइने नैतिक तथा आध्यात्मिक शिक्षा र निर्देशनले दिने सदाचार, बन्धुत्वको शिक्षालय नै बन्द भएको अवस्थामा मनाइने यो दिवसले परिवारका सबै सदस्यमा मन, विचार, कर्म र हार्दिकताले एकता कायम गर्न सकोस् । विविधतालाई बलियो बनाउने लक्ष्यका साथ मनाइने यस वर्षको विश्व पारिवारिक दिवसले मानिस–मानिसबीच सद्भाव, एकता र समानताको बीज रोपोस् । आधुनिकताले खण्डित पारेको पारिवारिक मूल्य र मान्यता पुनस्थापित हुन सकोस् विश्व परिवार दिवसको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here