झापामा १७ वर्षपछि ‘मिस्टर झापा’

0
4

झापा।

अभिनेताका रुपमा परिचित बिर्तामोड–६ निवासी सुबास मेचेले २०६४ सालमा ‘मिस्टर झापा’ च्याम्पियनसिपको उपाधि हात पारेका थिए ।

फिटनेश वल्र्डको आयोजनामा भएको प्रतियोगितामा सहभागी उनी सो प्रतियोगितामा ‘मिस्टर झापा’ च्याम्पियन बने । त्यस यता सो प्रतियोगिता विभिन्न कारणले हुन सकेन । तर, १७ वर्षपछि मेचेकै अगुवाइमा बिर्तामोडमा ‘फस्ट स्टेप मिस्टर झापा बडीबिल्डिङ च्याम्पियनसिप–२०८१’ हुन लागेको छ । प्रतियोगिता आगामी असोज १९ गते बिर्तामोडमा हुँदैछ ।

फस्ट स्टेप फिटनेशले मिशन बिर्तामोडको सहकार्यमा आगामी असोजमा प्रतियोगिताको आयोजना गरेको हो । झापामा खेलाडी उत्पादन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिस्टर झापा’ प्रतियोगिता आयोजना गर्न लागिएको फष्ट स्टेप फिटनेशका अध्यक्ष सुवास मेचेले जानकारी दिए । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० केजी प्लस तौल समूहबाट सहभागी भएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिने जनाइएको छ ।

प्रतियोगितामा महिलाको समेत सहभागिता रहने फस्ट स्टेप फिटनेशका सञ्चालक तथा आयोजक समितिका धनञ्जय गनगाँईले जानकारी दिए । प्रतियोगितामा ओभरअलमा सहभागीता जनाएर ‘मिस्टर झापा’ को च्याम्पियनसीप हुनेलाई नगद एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलाई क्रमशः एक लाख एक हजार, ७६ हजार, ५१ हजार र ३६ हजार नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित १५ लाख खर्च हुने र स्थानीय सरकार, खेलप्रेमी, सामाजिक संघ–संस्था, सामाजिक ब्यक्तित्वसँग सहकार्य गरिने कोषाध्यक्ष रमेश भट्टराईले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न मेचेको अध्यक्षतामा ११ सदस्यीय समिति निर्माण भएको छ ।

समितिमा वरिष्ठ उपाध्यक्ष दीपेन्द्र चौधरी, उपाध्यक्ष सीमा राई, सचिव माधकुमार झा, सहसचिव डिल्लु दाहाल र कोषाध्यक्षमा रमेश भट्टराई रहेका छन् । समितिको सदस्यमा सञ्जु चौधरी, सुदीप भण्डारी, सञ्जय राई, कोपिला सिटौला र देवराज परियार रहेका छन् । बडीबिल्डिङ क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएसंगै झापामा शारीरिक सुगठनका सदस्यहरु उत्साहित देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here