बोट एउटा, फल थरी–थरीका

0
10

सुरेन्द्र भण्डारी
बाह्रदशी । बाह्रदशी–५का कृषक तुलसीप्रसाद पाण्डेले एउटा बोटमा थरी–थरी १० प्रजातिका फल फलाउन सफल भएका छन् । उनले होक्सेको बोटमा अमिलो प्रजातिका दश प्रकारका फल फलाएसँगै नपढेका कृषि बैज्ञानिकको उपाधि समेत पाएका छन् ।

लामो समयदेखि व्यावसायिक खेती गर्दै आएका पाण्डे एउटै बोटमा अमिलो प्रजातिका दश प्रकारका फल फलाएर उत्कृष्ट कृषकका रुपमा समेत पुरस्कृत हुन सफल भए । होक्सेको बोटमा अमिलो प्रजातिका विभिन्न १० जात जोडेर फल फलाएसँगै २०७२ सालमा राष्ट्रपतिबाट उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएका पाण्डे कृषि पेशामा नयाँ– नयाँ प्रयोग गर्दै उन्नत जातका फलफूल तथा तरकारी खेती गर्छन् ।

परम्परागत खेतीको सट्टा व्यावसायिक खेतीमा जुटेका पाण्डेले पछिल्लो सयम होक्सेको बोटमा सुन्तोला, पहाडको गोल कागती, तराईमा हुने चाइनिज कागती, मदरासी कागती, मन्तोला, बिमिरो, ज्यामिर, नाइटे ज्यामिर लगायतका फल फलाएसंगै उत्कृष्ट कुषकका रुपमा राष्ट्रपतिबाट पुरस्कृत भएका थिए । अहिले पनि एउटा आँपको बोटमा आठ प्रजातिका आँप जोड्न सफल भएका पाण्डेले एउटै आँपको बोटमा १६ प्रजातिका आँप फलाउने सोच राखेका छन् । आठ प्रजातिका आँप जोडिसकेका पाण्डेले चार प्रजातिका आँप फलाउन सफल भएका छन् । हाल पाण्डेले सूर्जापुरी, बम्बाई, कृष्णभोग, अम्रपाली, मल्लिका, निलम, तोतापुरी, दसहरी प्रजातिका आँप राउण्डिङ गरेर जोडेका छन् । कलमी गरेर जोडिएका आँपमध्ये अधिकांशले फल दिन शुर गरेपछि पाण्डेको उत्साह अझ थपिएको छ । यही वर्षभित्र आँपका १६ प्रजातिलाई एकै रुखमा जोडेर छुट्टाछट्टै प्रजातिका आँप फलाउने लक्ष्य लिएको पाण्डेले बताए ।

‘अमिलो प्रजातिमा १० प्रकारका फल एउटै रुखमा फलाएर यसअघि नै रेकर्ड राख्न सफल भएँ, अब आँपका परीक्षणमा छु’– पाण्डेले भने– एउटै बोटमा धेरै प्रकारका फल फलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न यो अभ्यास गरिरहेको छु । म यो बर्ष नै सफल हुन्छु । त्यसो त पाण्डेले गर्ने हरेक कृषि कर्म अरुको भन्दा भिन्न छ । अरुले जे गर्छन् पाण्डे त्यो गर्दैनन् । बरु कृषिमा नयाँ–नयाँ आयाम भित्र्याउँछन् । ओशिलो र पहाडी क्षेत्रमा पाइने फलफूलदेखि गर्मीमा मात्र हुने फलफूल खेती गरेर मनग्य आम्दानी गरिरहेका पाण्डेले अहिले फूल खेतीलाई समेत जोडेका छन् ।

‘पाण्डे फलफूल तथा नर्सरी फर्म’ दर्ता गरेर व्यवसायिक खेतीमा जुटेका पाण्डेको अहिलेको दैनिकी फलफूलको हेरचाह र बजारीकरणमा बित्ने गरेको छ । आफूले उत्पादन गरेका फलफूल तथा तरकारी पाण्डेले बाह्रैमास झापा सहित पूर्बका बजारमा बिक्री गर्दै आएका छन् । उनको फर्मबाट अधिकांशले फलफूलका विरुवा खरिद गर्ने गर्छन् ।

२५ इञ्चसम्मका करेला

कृषिमा नयाँ–नयाँ आयाम भित्र्याउँदै व्यावसायिक खेती गर्दै आएका पाण्डेले फलफूलसँगै तरकारी खेतीलाई समेत अघि बढाएका छन् । उनी विगत ३७ बर्षदेखि निरन्तर व्यवसायिक तरकारी खेती गदै आइरहेका छन् । २०४४ सालमा तरहरा कृषि फर्मबाट ल्याएको सिंघिया प्रजातिको करेला उनको आम्दानीको अर्को मुख्य श्रोत हो । उनले विगत ३७ वर्षदेखि निरन्तर सिंघिया प्रजातिका करेला उत्पादन गर्दै झापासहित पूर्वका बजारमा बिक्री गर्दै आएका छन् ।
त्यस्तै उनले २५ इञ्च लामोसम्म फल्ने झेलरी प्रजातिको करेला समेत उत्पादन गरेका छन् । झट्ट हेर्दा घिरौला जस्तै र जत्रै देखिने यो एउटै करेला एक केजीभन्दा बढीको हुन्छ । यो करेला समेत बिगतका वर्षदेखि नै उनले उत्पादन गर्दै बिक्री गर्दै आएका हुन् ।

अहिले पाण्डेका बारीमा झेलरी प्रजातिका करेला लटरम्मै फलेका छन् । यो करेलाको बीऊ उनको आम्दानीको अर्काे श्रोत हो । यो प्रजातिको करेलाको बीऊ बिक्री गर्दा एउटै दानाको मूल्य ५० पैसा लिने गरेका छन् । पाण्डेको आम्दानीको अर्काे श्रोत हो– आलु खेती । बर्षेनि एक विगाह १० कठ्ठा क्षेत्रफलमा आलू खेती गर्दै आएका उनले बर्षेनि ५० क्वीन्टल बीऊ आलू उत्पादन गर्दै बिक्री गर्छन् ।
आफूले उत्पादन गरेको आलूलाई चिस्यान केन्द्रमा राखेर उनले आलू रोप्ने समयमा मात्र बिक्री गर्छन् । यो वर्षपनि आलूको बीऊ उनले बिर्तामोडस्थित चिस्यान केन्द्र ( कोलस्टोर)मा भण्डारण गरेका छन् । चिस्यान केन्द्रमा राखिएको आलूको बीऊ रोप्ने समयमा मात्रै बिक्री गर्ने गरेको बताउँछन् । पाण्डेले आफ्नो नर्सरीमा अहिले अंगुरदेखि बनाना, रेड बनाना, सपाटो, उन्नत जाताको लिची, उन्नत जातका बिभिन्न प्रजातिका आँप, नस्पातीसहितका फलफूल लगाएका छन् । उनले आफ्नो नर्सरीमा ३० भन्दाबढी प्रजातिका फलफूलका विरुवा उत्पादन गर्ने गरेका छन् ।
पछिल्लो समय अधिकांश युवा भएको खेती योग्य जमिन बाँझैं राखेर धन कमाउन भन्दै विदेश पलायन भइरहेका छन् । कतिपयले कृषिमा भविष्य नरहेको भन्दै लाखौं रुपैयाँ खर्चिएर विदेश गइरहेका छन् । तर, बाह्रदशीका पाण्डेले स्वदेशमा कृषि कर्मबाट बार्षिक लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन् ।
विशेषगरी फलफूलका बिरुवा उत्पादन र बिक्री, तरकारी उत्पादन र बिक्री, आलुको बीऊ उत्पादन र बिक्री उनको आम्दानीको मुख्य श्रोत हो । परम्परागत खेतीबाट फाइदा नहुने भन्दै २०३६ सालबाट व्यवसायी कृषि कर्म अंगालेका पाण्डेले आजपर्यन्त खेतीलाई निरन्तरता दिएका छन् ।

कसरी रमाए कृषि कर्ममा ?

२०२८ सालदेखि साविक चकचकी–५ (हाल बाह्रदशी गाउँपालिका–५ हरियाली टोल) मा स्थायी बसोवास गर्दै आएका पाण्डेले शुरुका केही बर्ष काठको काम गरे । तर, आफूले भने अनुसार आम्दानी गर्न नसकेपछि उनले कृषि कर्म अंगाले । भारतबाट फलफूलका बिरुवा बिक्री गर्न आउनेहरुसंग बिरुवा कलमी गर्न सिकेसँगै त्यसप्रति उनमा रुची बढ्यो । आपूmले उत्पादन गरेका विरुवा बिक्री हुन थालेपछि उनले त्यही कामलाई अघि बढाए । जुन कामले राम्रो आम्दानी दिन थालेपछि उनी सोही कामका लागि बिभिन्न ठाउँमा पुगेर तालिम लिँदै कृषिमा नयाँ–नयाँ आयाम भित्र्याउन सफल भएका छन् । फलफूल खेती गर्ने क्रममा आँप र लिचीमा औषधि छर्कन समस्या भएपछि स्लाइनको पाइप जोडेर उनले २० फुट अग्लो स्प्रे गर्ने उपकरण बनाए । जुन उपकरणले उनलाई चर्चामा ल्यायो । त्यसमाथि उनले एउटा बोटमा विभिन्न प्रजातिका फल फलाएसँगै उनको चर्चा देशभर फैलियो । झापा जिल्लामा मात्र सीमित उनी त्यसयता देश तथा विदेशमा नपढेका बैज्ञानिकका रुपमा परिचित छन् । उनले बनाएको स्प्रे– मेसिनको सहायताले अहिले पनि २५ फिट माथिसम्म फलफूलका बिरुवामा स्प्रे गर्ने गरिएको छ । ताप्लेजुङको सिनाममा २०११ सालमा बुबा प्रभाकर र आमा हरिमाया पाण्डेका पुत्रका रुपमा जन्मिएका पाण्डेले स्थायी बसोबास झापालाई बनाए । २०२८ सालमा झापा झरेका उनी कृषि कर्ममा रमाएर आफूलाई सफल कृषकका रुपमा स्थापित गराउन सफल भए । पाण्डेले उत्पादन गरेका उन्नत जातका विरुवाको मुख्य बजार आसाम हो । उनले उत्पादन गरेका बिरुवा भारतको आसामका कृषकले लाने गरेका छन् । आसाममा समेत पाण्डेको चर्चा हुने गरेको छ । त्यसो त सहारा नेपाल सहकारी संस्थाले समेत उनले उत्पादन गरेका विरुवा खरिद गर्दै कृषकलाई बितरण गर्दै आएको छ । सहकारीका सदस्यलाई कृषि कर्ममा जोड्न सहकारीले विभिन्न प्रजातिका विरुवा प्रदान गर्ने गरेको र त्यस्ता विरुवा आफ्नो नर्सरीबाट जाने गरेको उनको भनाइ छ ।

तालिम केन्द्र बनाउने पाण्डेको सोच

लामो समयदेखि आफूले सञ्चालन गर्दै आएको फर्मलाई तालिम केन्द्रका रुपमा रुपान्तरण गर्ने पाण्डेले सोच बनाएका छन् । आफूले जानेको ज्ञान र सिपलाई अरुलाई समेत सिकाउने उनको लक्ष्य रहेको छ । आफ्नो फर्ममा आउने कृषकलाई विरुवासँगै ज्ञान र सिप सिकाउँदै आएको उनी बताउँछन् । तपाईले कृषि कर्ममा दुई कुरा जान्नु भएको छ भने म २० कुरा सिकाउन सक्छु– पाण्डेले भने– मेरो फर्ममा आउनुहोस् । यहाँ गरिएको खेतीलाई अवलोकन गर्नुहोस् र तपाईपनि कृषि कर्ममा लाग्नुहोस् । तपाइँले नजानेको ज्ञान म प्रदान गर्छु । तपाई खेती गर्न चाहनुहुन्छ भने सिपसँगै विरुवा समेत निःशुल्क दिन तयार छु । पाण्डेले पात, डाँठ, बीऊको प्रयोग गर्दै विभिन्न प्रजातिका विरुवा तयार गर्ने गरेका छन् । जसका लागि प्रदेश सरकारको सहयोगमा टनेल निर्माण गरेका छन् ।

पाण्डेले रेड बनानाको पाकेको कोसाबाट अहिले विरुवा तयार गरेका छन् । कामको खोजीमा विदेश जाने युवालाई समेत स्वदेशमा नै व्यवसायिक खेती र पशुपालन गर्न सल्लाह दिँदै आएका पाण्डेले सरकारले युवा लक्षित कार्यक्रम जनस्तरसम्म पु¥याउन सके नेपाली भूमिलाई अमरावती बनाउन सकिने बताए ।

पाण्डेको नर्सरीमा ड्राइगनफुडदेखि केजीवान अम्वासम्म

झापामा ड्राइगनफुड खेती सामान्य जस्तै भयो । तर, एउटै नर्सरीमा धेरै प्रजातिका खेती कर्मले गर्छन्, जसमध्ये बाह्रदशीका पाण्डे पर्छन् । उनले आफ्नो नर्सरीमा ३० बढी प्रजातिका विरुवा उत्पादनसँगै व्यावसायिक रुपमा फल उत्पादन गरेर आम्दानी गरिरहेका छन् । पाण्डेले तयार गरेको नर्सरीमा फलेको अम्वाको तोल एउटाकै एक केजी रहेको छ । जसका कारण अम्वाको नाम नै केजीवान रहेको पाण्डे बताउँछन् । त्यस्तै सिटलेस लिची, केजीवान नस्पाती, सपोटा, नरिवल, सुपारी, अञ्जिर, वयर, मन्तोला, गुलाफ जामुन, सरिफा, अमृत सागर कोला, रातो मकै, बेबीकन आदि पाण्डेको नर्सरीमा प्रशस्तै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here