शरणार्थी उन्मुलनको दिवस बनोस्

0
9

प्रत्येक वर्ष जुन २० का दिन विश्वभर शरणार्थी दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोगको आह्वानमा यो दिवस मनाउन थालिएको हो । सन् १९५१ को उक्त आह्वान अनुरुप मनाउन थालिएको दिवसको उद्देश्य भनेको द्वन्द्व, हिंसा, प्राकृतिक विपद् र युद्ध जस्ता कारणले धेरै मानिस विस्थापित हुनु परेकोले यसको दीर्घकालीन समाधानका लागि आवाज उठाउनु र सचेतना फैलाउनु हो । आज पनि विश्वमा करिब चार करोड मानिस आफ्नो थातथलोबाट विस्थापित छन् । जन्मभूमि लगायत सर्वस्व त्यागेर भाग्न बाध्य हुनेहरुको पनि स्वदेशमा फर्किन पाउने सार्वभौम अधिकार हो । त्यही अधिकारको पक्षमा विश्वलाई गोलबन्द गर्न आज विश्वभर यो दिवस मनाइँदैछ ।

वैदिक सनातन हिन्दू धर्मका पक्षधरहरु त ‘वसुधैव कुटुम्वकं’को आदर्शबाट अनुप्राणित छन् । यसकारण पनि बलपूर्वक लखेटिएका मानिसहरुको अधिकार सुरक्षित गर्न उनीहरुको भूमिका र क्रियाशीलता अझ बढी महत्वपूर्ण हुन्छ । कुनै पनि कारणले लुटिएका, अनिश्चित भविष्य भएका, क्षमता भएर पनि मान्यता नपाएकाहरु, गन्तव्य र अस्तित्वविहीन बनाइएकाहरुले समानता, स्वतन्त्रता र अरुहरु सरह सार्वभौम हक प्राप्तिका लागि विश्वको ध्यानाकृष्ट गराउने यो दिवस आज पनि सान्दर्भिक छ । विश्वको जुनसुकै कुनामा रहेका भए पनि मानिस एउटै जातिको हो र सबैको इच्छा, चाहना र अपेक्षा समान हुन्छ । तसर्थ, ज–जसले शरणार्थी हुनुको पीडाबोध गरेका छैनन् उनीहरुमा शरणार्थीहरुप्रति सम्मानजनक व्यवहार गर्ने चेत आउनुपर्छ ।

नेपालमा विविध कारणले घरबास र थातथलो त्यागेर जीवनको सुरक्षा खोज्न आइपुगेका शरणार्थीहरुको पीडा सार्वजनिक भएकै हो । भुटानबाट बलात् खेदिएका नेपाली मूलका नागरिकहरुले भोगेको पीडा, परिवारसँगको वियोग तथा भाषिक तथा सांस्कृतिक आक्रमणको परिणाममा उनीहरुले अस्तित्वविहीन हुनुप¥यो । ती मध्ये ठूलै संख्यामा अझै शरणार्थी शिविरमै छन् । स्वदेश फिर्ता जान पाउनुपर्ने मागसहित कठिन संघर्ष गरिरहेका उनीहरुलाई उनीहरुकै जन्मस्थल फिर्ता पठाउने नाममा झण्डै एक दर्जन पटक वार्ता पनि भए । यसबीचमा धेरैले पराई भूमिमा देहत्याग गरे, कति दातृ राष्ट्रहरुको सहयोगमा पुनः स्थापित पनि भए । तर, अझै उनीहरु खुशी छैनन् र भन्दैछन्– आफ्नो देशमा सम्मानपूर्वक जान पाउँ ।

हुन पनि सुरक्षित, स्वतन्त्रतापूर्वक र आत्मसम्मानका साथ बाँच्न पाउनु उनीहरुको सार्वभौम अधिकार हो । तसर्थ, हाम्रै देशमा दश वर्षे सशस्त्र द्वन्द्वबाट विस्थापित भएका नेपाली हुन् वा भुटानबाट लखेटिएका भुटानी शरणार्थीहरु सबैलाई मानवीयता, सहअस्तित्व र खुल्ला हृदयले स्वागत गर्नुपर्छ । सन्तान, दरसन्तान शरणार्थी बन्नुपर्ने यस्तो अवस्थाको सधैँका लागि अन्त्य हुनुपर्छ । यो दिनलाई शरणार्थी समस्या उन्मुलन भएको सम्झनामा मनाउने परिस्थिति निर्माण भएको दिन बनाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here