झापा गाउँपालिकाः आन्तरिक आय न्यून, योजना महत्वाकांक्षी

0
23

सुरेन्द्र भण्डारी,
बिर्तामोड ।

आन्तरिक आय न्यून भएपनि झापा गाउँपालिकाले दिगो विकासका लागि महत्वाकांक्षी योजना अघि सारेको छ ।

चालू आर्थिक वर्षको हालसम्म १ करोड ५५ लाख रुपैयाँ मात्र आन्तरिक राजश्व संकलन गरेको झापा गाउँपालिकाले सोमवार ४९ करोड ९० लाख रुपैयाँको बजेट सहितको नीति कार्यक्रम सार्वजनिक गरेको हो ।

नेपाल सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, त्यस्तै प्रदेश सरकारको बित्तीय समानीकरण अनुदानर राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम सहित गाउँपालिकाले बजेट सार्बजनिक गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले आर्थिक विकासका क्षेत्रमा छुट्याएको बजेट मध्ये ३६ दशमलव ४ प्रतिशत रकम हालसम्म खर्च गरेको छ । कृषि, पर्यटन, सहकारी, जलस्रोत, पशुपंक्षी विकास र भूमि ब्यवस्थाका क्षेत्रमा विनियोजन गरिएको रकम मध्ये हालसम्म ९८ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षका लागि पालिकाले आर्थिक विकासका क्षेत्रमा २ करोड ७० लाख २० हजार रुपैयाँको बजेट व्यवस्था गरेको थियो ।

तर, समपूरक बजेट कम आएको जनाउँदै झापा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकासका क्षेत्रमा एक करोड ८४ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । विनियोजित बजेट मध्ये सहकारी विकासका लागि ५ लाख, कृषि समूह र कृषकसँंगको साझेदारीमा कृषिजन्य सामग्री खरिदका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले कृषि उपकरण खरिदमा अब ५० प्रतिशत अनुदान दिने भएको छ ।

कृषि क्षेत्रमा विद्युत् विस्तारका लागि एक करोड रुपैयाँ बजेट ब्यवस्था गरेको छ । कृषकलाई सिँचाई कार्यक्रमका लागि विद्युत् महसुलमा ६० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि ८० प्रतिशत महसुल व्यहोर्ने भएको छ । योसंँगै कृषिका लागि सिँचाई गर्ने कृषकले २० प्रतिशत मात्रै महसुल बुझाउँदा हुने भएको छ । किसानलाई सिँचाईका लागि विद्युत् महसुलमा सहुलियत दिन २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । त्यस्तै कृषि बाली तथा पशुपालन कृषकसंँगको ५० प्रतिशत लागत साझेदारीमा विमा कार्यक्रमका लागि ६ लाख रुपैयाँ र कृषक तालिमका लागि मात्रै दुई लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

पूर्बाधार विकास क्षेत्र अन्तरगत चालू अर्थिक वर्षका लागि १९ करोड ८० लाख ७८ हजार १ सय ८९ रुपैयाँ अनुमानित बजेट विनियोजना गरेको झापा गाउँपालिकाले हालसम्म १० करोड १० लाख ७८ हजार ४ सय ७९ रुपैयाँ खर्च गरेको छ । यो कूल खर्चको ५१ दशमलब ०२ प्रतिशत हो ।

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले १० करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा विनियोजित रकमबाट सातवटै वडामा वडास्तरीय योजनाका लागि ३ करोड १८ लाख रुपैयाँ, झापा गाउँपालिकाभित्र गौरवका आयोजना सञ्चालनका लागि ३ करोड ५० लाख समपूरक कोषका लागि ६५ लाख, सानातिना मर्मतका लागि ८० लाख , स्थानीय सरकार सञ्चालन ऐन२०७४ को दफा ७० मा व्यवस्था भए अनुरुप आकस्मिक कोषका लागि ४५ लाख, विपन्न आवास कार्यक्रमका लागि ८० लाख रुपैयाँ बजेट विनियोजना गरेको गाउँपालिकाले अस्पताल भवन तथा संरचना निर्माणका लागि ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ । त्यस्तै वारुणयन्त्र खरिदका लागि २५ लाखर डीपीआर लगायतका परामर्श सेवाका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सामाजिक विकास क्षेत्रका लागि २७ करोड रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले हालसम्म ६२ दशमलव ७७ प्रतिशत रकम खर्च गरेको छ । हालसम्म १७ करोड २४ लाख ६१ हजार ७ सय ७९ रुपैयाँ खर्चको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष समेत रहेकी उपाध्यक्ष अञ्जुदेवी थपलियाले बताइन् ।

सामाजिक विकास क्षेत्रका लागि गाउँपालिकाले आगामी आर्थिक वर्ष शिक्षा विकासका लागि २० लाख, विद्यालयको भौतिक सुधार तथा व्यवस्थापन एवम् जनता, डिल्लीराज र जनकल्याण माविमा निःशुल्क प्लस टुसम्मको शिक्षा प्रदान गर्न ७० लाख, नौ कक्षामा अध्ययनरत् छात्रछात्रालाई साइकल वितरण गर्नका लागि ३० लाख, उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थी तथा प्रत्येक माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने सन्थाल समुदायका १÷१ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमका लागि १० लाख, स्थानीय पाठ्यक्रम निर्माण तथा व्यवस्थापन गर्नका निम्ति १० लाख र झापा नमूना क्याम्पस सञ्चालन गर्नका लागि रु. १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसैगरी बाल शिक्षक तथा विद्यालय कर्मचारीलाई नेपाल सरकारबाट प्राप्त हुने पारिश्रमिक रकममा थप गर्न ७१ लाख, मदरसामा अध्यापन गराउने शिक्षकको पारिश्रमिकका लागि . ४१ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

३५ दिनभित्र ४००० ले गरे जन्मदर्ता

झापा गाउँपालिकाले सुत्केरी भएको ३५ दिनभित्र नवजात शिशुको जन्मदर्ता गराए चार हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । बालबालिकालाई बालपोषण तथा सुत्केरी सहायताका लागि भन्दै चार हजार रुपैयाँ सहयोग गर्ने नीति लिएको छ । जसका लागि २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ ।

३५ दिनभित्र जन्मदर्ता गर्ने दलित बालबालिकातर्फ जन्मदर्ता प्रोत्साहनका लागि ५० हजार, विभिन्न दिवस तथा अन्य कार्यक्रमका लागि रु. ५० हजार, बालमैत्री गाउँपालिका घोषणा तथा बाल लक्षित कार्यक्रमका लागि पालिकाले ३ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै ८४ वर्षमाथिका ज्येष्ठ नागरिक तथा ६० वर्ष माथिका विधुर एकल ज्येष्ठ नागरिकलाई सम्मान प्रदान गर्न तथा सबै धर्म, वर्ग, लिंङ्ग, क्षेत्रका ज्येष्ठ नागरिकको भ्रमण तथा तीर्थयात्रा कार्यक्रमका लागि एकमुष्ठ रु. २० लाख विनियोजन गरेको छ ।

अपांग सशक्तिकरण कार्यक्रम तथा अपाङ्गता केन्द्रको कार्यालय व्यवस्थापनका लागि ५ लाख बिभिन्न धर्म, परम्परा, संस्कारको जगेर्ना गर्न रु. १० लाख रकम विनियोजन गरिएको छ । झापा गाउँपालिकाका स्थायी बासिन्दाहरूलाई सर्पदंश तथा छाडा कुकुरको टोकाइमा निःशुल्क उपचार सहायता प्रदानका लागि रु. ५ लाख र झापा गाउँपलिकाबासीलाई निः शुल्क रक्त सहायता कार्यक्रमका निमित्त रु. ४ लाख विनियोजन गरिएको छ । मृत्यु संस्कार कार्यक्रममा प्रदान गर्दै आएको रु. १७ हजारमा रु. ३ हजार वृद्धि गरी रु. २० हजारका दरले प्रदान गर्न रु. ५० लाख रकम विनियोजन गरिएको छ । यो सुविधा लिन नचाहने झापा गाउँपालिकाबासी मृतककापरिवालाई स–सम्मान समवेदना प्रकट गरिने कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख छ ।

झापा गाउँपालिकामा स्थायी रुपले बसोबास गरेका मासिक ५० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका घर परिवारको विद्युत् महसुल स्थानीय सरकारले बेहोर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि रु. ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । झापा गाउँपालिकाबासीलाई विद्युतीय सामग्रीको पहुँच अभिवृद्धिका लागि ५० प्रतिशत साझेदारीमा इन्डक्सन चुल्हो खरिद तथा वितरणका लागि रु. २० लाख विनियोजन गरिएको छ । गाउँपालिकाले सामाजिक विकासका लागि भन्दै आगामी आर्थिक वर्ष ५ करोड ७४ लाख २० हजार बजेट विनियोजन गरेको छ ।

गाउँपालिकामा सात गौरवका आयाोजना

झापा गाउँपाालिकाले सातवटा गौरवका आयोजनाका लागि साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विनियोजित बजेट मध्ये सालमारादेखि सितुमारीसम्म सडक कालोपत्रे गर्ने , हुलाकी सडक पिताम्बरको घरदेखि कुमरखोद स्वास्थ्य चौकीसम्म सडक कालोपत्रे गर्ने, भानुभक्त विद्यालय चोकदेखि अमरपथसम्म तथा कामाटोली बजारदेखि वडा कार्यालय र गापा प्रशासकीय भवनसम्म सडक कालोपत्रे गर्ने रहेको छ ।

त्यस्तै हुलाकी सडकदेखि दक्षिण पेचकारवस्तीको सीमाना बाँसवारी हुँदै बच्चुटोलसम्म कालोपत्रे, हुलाकी सडक पन्थापाडादेखि दक्षिण भीम गणेशको गाउँ विष्णु चोक हुँदै पश्चिम आधारभूत स्वास्थ्य केन्द्रसम्म कालोपत्रे, अमरपथ सडक हेमाराईको घरदेखि पूर्व भित्री गाउँ हुँदै किरात चोकसम्म कालोपत्रे, मदरगाछ बजारदेखि जनमघुटु हुँदै ७ नं. वडा कार्यालयसम्म सडक कालोपत्रे गर्ने कार्यका लागि ५०/५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी, मर्यादित जीवन, समावेसी र सुशासनयुक्त गाउँपलिका निर्माण गर्ने लक्ष्य सहित आर्थिक वर्ष २०८१/०८२ का लागि गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष थपलियाको भनाइ छ ।

झापामा जिरो होम डेलिभरी कार्यक्रम

स्वास्थ्यका क्षेत्रमा झापा गाउँपालिकाका गर्भवती महिलालाई जिल्लाभरीका अस्पतालसम्म लैजान÷ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा (जिरो होम डेलिभरी) प्रदान गर्नका लागि १९ लाख ६४ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ । गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यलाई मध्यजनर गर्दै यो कार्यक्रम ल्याएको बताइएको छ ।

अस्पताल तथा स्वास्थ्य सेवा सञ्चालनका लागि रु. १० लाख, विपन्न नागरिकहरूलाई स्वास्थ्योपचार सहायता प्रदान गर्नका लागि जनता उपचार कोषमा रु. ५ लाख, महिला स्वास्थ्य स्वयम् सेविकालाई कार्यसम्पादनमा आधारित ३००० मासिक प्रोत्साहन प्रदान गर्न रु. ११ लाख १६ हजार विनियोजन गरिएको छ ।

गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकलाई सुगर, प्रेसर लगायतका दीर्घरोगहरूको निःशुल्क स्वास्थ्य विमा कार्यक्रमका लागि १० लाख विनियोजन गरेको गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here