सटकेमा पुल नहुँदा समस्या

0
2

युद्धबहादुर बोहोरा,
इलाम ।

जब पानी पर्न थाल्छ अनि छ वटा साना खोल्साहरु र डाँडाको भलसहित सटके खोलामा उर्लेर आउँछ । यसबेला बाटो काट्नेहरुलाई धौ–धौ पर्छ । खोलामै बास बस्नु कि फर्किनु भन्ने पीर खेपिरहेका छन् इलाम फाकफोकथुम–१ खाम्बाङ र ठिंगेपुर टोलका स्थानीयबासीहरु ।

उनीहरु दिनहुँ सटके खोला तर्न भैंसेटार भन्ने ठाउँको बाटो हिड्ने गर्दछन् । हिउँदको समयमा खोलामा पानी कम हुने र बाटो छोटो भएका कारण वडा कार्यालयमा सेवा लिन जाने सेवाग्राही पनि यही बाटो हिड्ने गरेका छन् । तर, वर्षायाम सुरू भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयबासी मारमा परेका छन् ।

स्थानीय मिलेर वर्षेनि बाँसको पुल हाल्छन् । केही दिन टिक्न नपाई भलबाढीले कतिबेला बगाउँछ पत्तै हुँदैन । उनीहरुलाई खोला तर्न र पुल बनाउन हैरानीसँगै उत्तिकै पीडा छ । यही पीडाको प्रमुख शिकार बनेका छन् १ नम्बर वडा निवासी गणेश प्रसाद भट्टराई । उनी पेशाले शिक्षक हुन् । हालसम्म उनले कुनै सवारीसाधन चलाउन सिकेका छैनन् अनि सधँैभर पैदलयात्रा गर्ने गर्दछन् । पानी पर्न थालेपछि मनमा त्रास बोक्दै दैनिक बिहान स्कूल जाने गर्छन् ।

घरबाट स्कूल पुग्न करिब दुई घण्टा लाग्छ । उनले शिक्षण गर्ने विद्यालय पालिकाको यसै वडामा अवस्थित ज्योति आधारभूत विद्यालय हो । उनी यस संस्थाका प्रधानाध्यापक हुन् । उनी हिँड्ने बाटो निकै जोखिम छ । नपत्याउँदो खोला भेलबारी आउने गर्छ । मनमा त्रास लिएर उनी सधैँभरि हिँड्ने गर्छन् । जब बर्खा शुरु हुन्छ उनलाई खोलाकै पिर हुन्छ । उनी भन्छन्– ‘अब उमेरका हिसाबले जागिर खान छ वर्ष बाँकी छ । खोला तर्नका पिरले अहिलेनै पो जागिर छोडौ कि जस्तो लाग्छ कहिलेकाहीँ त ।’

अहिले बर्खाको सिजनमा यस ठाउँका स्थानीय मिलेर असार २१ गते स्थानीय २० जना मिलेर लगभग १५ मिटर लामो, डेढ मिटर फराकिलो बाँसको पुल लगाएका छन् । बाटोमा दिनहुँ धेरै मानिसहरू हिँड्ने गर्छन् । किनभने पुरानो मूल बाटो र छोटो बाटो भएकै कारण यो बाटो बारेमा जानकार मान्छे आउँछन् । तर, खोलाबाढी आएपछि तर्न नसकेर फर्किन बाध्य छन् ।

ठूलो पानी दैनिक पर्दा जोखिम मोल्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि सम्बन्धित निकायले तत्काल पुलको व्यवस्था नगरे मानवीय क्षति हुन सक्ने स्थानीय बताउँछन् । यसतर्फ बेलैमा ध्यान दिन जरुरी छ । दीर्घकालीन सडक निर्माणसँगै पुलको पनि ग्रामीण भेगमा उत्तिकै आवश्यकता देखिन्छ । बाँसको पुलबाट त्रासमा यात्रा गर्नुपर्दा यस ठाउँका स्थानीयबासीले भोग्नु परेको समस्या प्रति स्थानीय, प्रदेश र संघीय सरकारले बेलैमा ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here