जनताका आशाका केन्द्र अर्थमन्त्री

0
4

मुलुकका सबभन्दा ठूला दुई दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा अन्य साना दलहरू पनि सामेल गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा अर्थमन्त्रीको रूपमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नियुक्ति भएपछि अर्थ जगतमा आशाको सञ्चार भएको छ । अर्थमन्त्रीले सम्बोधन गर्नुपर्ने मुद्दा र विषय एउटा होइन अनेक छन् । वितरणकारी र सस्तो लोकप्रियतावादी अर्थनीतिले मुलुकलाई कमजोर बनाएको छ । लगानीको क्षेत्रमा देखिएको निराशाजनक अवस्थामा सुधार ल्याउन अर्थमन्त्री पौडेलको सकारात्मक भूमिका रहने र सर्वसाधारणदेखि पूँजीपतिसम्म उनकै कदमको प्रतीक्षामा छन् । अर्थतन्त्रका बाह्य सूचक सकारात्मक भएर मात्रै अर्थतन्त्र सबल हुन्न । अर्थतन्त्र चलायमान नभएको मात्रै होइन, शिथिलै छ । यस्तो बेला अर्थ मन्त्रालयको बागडोर सम्हालेका पौडेलका सामु चुनौतिका चाङ छन् औपचारिक रूपमा व्यवस्थापन वा अर्थशास्त्रको अध्ययन नगरेका तर जीवनका उकाली ओराली, दुःख–सुखबाट अर्थशास्त्र बुझेका अर्थमन्त्री पौडेल चुनौतिका चाङमा भासिने छैनन् ।

अनुभवी अर्थमन्त्रीसँग पूँजी बजारका लगानीकर्ताको अप्रितम् आशा छ । शेयर बजारमा सकारात्मक बदलाव देखा पर्न शुरु भइसकेको छ । बजारले उनको स्वागत गरिसक्यो, तर त्यो कतिको टिकाउ हुन्छ भन्ने चाहिँ पौडेलले आउँदा दिनमा लिने नीति र गर्ने व्यवहारमा निर्भर हुन्छ । पौडेल आजसम्म आठ पटक मन्त्री हुँदा पाँच पटक त अर्थ मन्त्रालयको सारथी भएका छन् । तसर्थ, अब अरू मन्त्री जसरी अध्ययन गर्दैछु, बुझ्दैछु भनेर टार्ने काम उनीबाट हुने छैन । अर्थमन्त्रीको आफ्नै मात्रै नभई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको मूल कार्यभार नै अर्थतन्त्रलाई उकास्ने र व्याप्त निराशालाई चिर्ने हुनुपर्छ । यसर्थ अर्थमन्त्रीमाथि ठूलो कार्यभार छ । बितेको आर्थिक वर्ष सरकारलाई कर राजश्व र गैरकर राजश्वबाट १० खर्ब ५८ अर्ब रुपैयाँ आम्दानी भएको छ । यो आवको बजेट भने १७ खर्बमाथिको छ र राजश्व लक्ष्य गत आवमा उठेभन्दा धेरै । ऋणमा आश्रित छ बजेट । यसै पनि मुलुकको पूँजीगत खर्चको स्थिति कमजोर होइन टिठलाग्दो छ । तर, सरकार निर्माण व्यवसायीलाई भने गरेकै कामको पनि भुक्तानी गर्न असमर्थ छ । ५० अर्ब रुपैयाँ नपाएर व्यवसायी आन्दोलित छन् । बैंक तथा वित्तीय संस्थाहरूमा पूँजीको थुप्रो लागेको छ । ऋण प्रवाह भएको छैन । बैंकहरूको प्रतिफल कमजोर भएको छ । खराब कर्जा चाहिँ उकासिएको छ ।

उनको सफलता निजी क्षेत्रलाई कति विश्वासमा लिन सक्छन् भन्ने अहम् प्रश्नमा निहित छ । व्यावसायिक र उद्यमको वातावरण कमजोर छ, त्यसैले पनि अर्थतन्त्र चलायमान नभएको हो, शिथिल भएको हो । अर्थतन्त्रलाई उकास्ने सबैभन्दा पहिलो कार्यभार हो उनको । त्यसपछि नै मुलुकमा आश गरिएको राजनीति स्थिरतालाई त्यसले पुट दिन सक्छ र सरकार सफल पनि हुन्छ उनकै कारण । जनताले अर्थमन्त्री पौडेलबाट मुलुकको अर्थतन्त्रमा आमूल परिवर्तन होइन, केही न केही सकारात्मक बदलावको आशा गरेका छन् । अर्थमन्त्री पौडेलको अनुभवी, परिपक्व र सुझबुझसहितको निर्णय र तिनको सफल कार्यान्वयनबाट मुलुकले अर्थतन्त्रमा थोरै भए पनि सुधार गर्न सक्छ । अर्थमन्त्री पौडेल नेपालको खस्केको अर्थव्यवस्थालाई ठीक बाटोमा ल्याएर जनताको निराशालाई चिर्न सफल हुनेमा आशावादी बनौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here