साहस र प्रेरणाकी पर्याय बनून् छेकी

0
8

देशको कूल जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाले ओगटेको छ । त्यसमाथि एउटा पुरुषको जीवन महिलाको अभावमा अपूर्ण नै हुन्छ भनिन्छ । देशको पूर्णाङ्ग विकासमा पनि महिलाको समान सहभागिता हुनै पर्छ । त्यहीकारण हुनसक्छ वैदिककालमा महिला र पुरुषका बीच विभेद थिएन भनिन्छ । भनिन्छ, त्यसकालमा महिलाहरु पनि पुरुष सरह वेदविज्ञ थिए । त्यही भएर होला त्यसबेलाका स्रष्टाले ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ ईश्वर रमाउँछन्’ भनिएको । तर, कालान्तरमा अर्थात् मध्ययुगबाट समाजमा सामन्ती युग शुरु भयो र महिला माथि विभेद शुरु भयो । जसको अवशेष विश्वका कतिपय देशमा अझै रहेको छ ।

समाजमा महिलामाथिको विभेद सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक तथा शैक्षिक क्षेत्रमा कायम रहनु समाज विकासको बाधक हो । यो मान्यताकै कारण हामीकहाँ महिला सशक्तिकरणको नीति तथा कार्यक्रम सञ्चालन गर्न थालेको धेरै भयो । अहिले राजनीतिक क्षेत्रमा पनि तेत्तीस प्रतिशत महिलाको सहभागिता अनिवार्य गरिएको छ । यसले महिलालाई घरभित्रबाट बाहिर निकालेर शिक्षाको अवसर प्राप्त गर्ने अवसर दिलाएको छ । शिक्षाको विकास नभई न परिवारको अवस्थामा परिवर्तन हुन्छ, न त समाजको । महिला चेतनाको विस्तार गरी राज्यद्वारा प्रदान गरिने सबै सेवासुविधाको पहुँचमा समान सहभागितालाई सशक्तिकरणको पहिलो आधार भनिएको हो । महिलामा हुने सबै प्रकारका विभेद र हिंसाको अन्त्य नगरी उनीहरुलाई आत्मनिर्भर, सचेत र जागरुक बनाउन विद्यमान कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन आवश्यक हुन्छ ।

प्रकृतिले महिला र पुरुषलाई समान गुण प्रदान गरेका हुन्छन्, तर परम्परागत मान्यताका कारण महिलाहरु घरभित्रै सीमित हुने गरेका थिए । त्यसैले उनीहरुसँग रहेको क्षमतालाई प्रष्फुटन गर्ने वातावरण निर्माण गर्नु नेता, नेतृत्व र सरकारले विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । आफ्नो समस्याको समाधान आफैं गर्न सक्ने क्षमता नै सशक्तिकरण हो र त्यसका लागि महिलाले पनि अघि आउनुपर्छ । यद्यपि धेरै नेपाली महिलाले पुरुष सरह र पुरुषभन्दा बढी कुशलता र सामथ्र्य प्रकट गरिसकेका छन् । तर, त्यो नै सम्पूर्ण र पूर्णताको उदाहरण होइन ।

यही महिला अग्रसरता र क्षमता प्रदर्शनको श्रृंखलामा इलाम जमुनाकी एक युवती जोडिएकी छिन् । उमेरले भर्खरै किशोरवय नाघेकी उमेरले १९ वर्षकी छेकी सेर्पा आफ्ना बुवा सवारीचालक फुर्वा सेर्पाको प्रेरणा, हौसला र सहयोगले इलामकै कठिन मानिने जमुना–इलाम सडकखण्डमा यात्रुवाहक सवारी सञ्चालन गर्छिन् । डेढ वर्षदेखि निरन्तर जमुनाबाट इलाम नगरपालिकाको बिब्ल्याँटेसम्म सार्वजनिक सवारी चालक भएर महिला पनि पुरुषभन्दा कम हुँदैनन् भन्ने दृष्टान्त भएकी छिन् छेकी सेर्पा । गाडी चलाएरै आफ्नी बहिनीलाई चिकित्सक बनाउने सपना र लक्ष्य लिएकी उनको साहस हाम्रा महिलाका लागि प्रेरणा पनि बन्न सक्नु पर्दछ । यद्यपि उनी पहिलो महिला सवारी चालक होइनन्, तर सानै उमेरमै कच्ची र कठिन सडकमा सवारी चलाउने मध्येकी नमूना हुन सक्छिन् । शहर बजारमा भौतिकता र विलासितामा ऊर्जावान समय व्यर्थ फ्याल्नेहरुका लागि भीडमा छुट्टै र विशेष पहिचान बनाएकी छेकीको लक्ष्य पूरा होस् । उनको सेवा यात्रुहरुका लागि पनि सुरक्षित र सुनिश्चित होस्, शुभकामना छेकी सेर्पालाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here