कुटनीतिक क्षमता बढाऊ

0
3

दुई देशका बीचको अन्तर्राष्ट्रिय कानूनी व्यवस्था अनुसार निर्धारण गरिएको दशगजाको दश मिटर वारि वा पारि कुनै प्रकारको भौतिक संरचना निर्माण गर्न पाइँदैन । तर, भारत सरकारले भने नेपालका विभिन्न भू–भागमा दशगजा क्षेत्र मिचेर भौतिक संरचना निर्माण गरिरहेको छ । सीमा सम्बन्धी अन्तर्राष्टिय नियम अनुसार दुई देशको सीमारेखाको दुबैपट्टि दश मिटर भू–भागमा बसोबास गर्न पनि पाइँदैन । तर, भारतले भने मेचीदेखि महामालीसम्मका दक्षिणी भू–भागमा कतै पक्की बाँध बाँधेर, कतै सडक निर्माण गरेर त कतै सेनाकै क्याम्प खडा गरेर अन्तर्राष्ट्रिय एवम् नेपाल–भारतका बीचको सम्झौता, सहमति र मान्यता माथि बल मिच्याइँ गरिरहेको छ ।
झापा जिल्लाको पूर्वी तथा दक्षिण क्षेत्रमा भारतले विगतमा पटक–पटक सीमा स्तम्भ सार्ने, सडक बनाउने र दशगजा नै अतिक्रमण गर्ने गरेको छ । पछिल्लो पटक दक्षिण–पूर्वी क्षेत्र कचनकबल गाउँपालिकाको वडा नं. १ स्थित घेराबारीमा नेपाल–भारत सीमाको दशगजामै बाटो खनेको छ । ‘मानिस नै बस्न–जान नहुने’ भनिने त्यस्तो संवेदन क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको संरक्षण स्थानीयले राति–राति बाटो खन्ने गरेको बताइएको छ । सीमा सुरक्षा बल सीमा सम्बन्धी अन्तर्राष्ट्रिय कानून र सम्झौताका विषयमा जानकार हुन्छ, त्यसैले आफ्नो पक्षबाट आफ्ना तर्फ कुनै भौतिक संरचना निर्माणमा उसले नै रोक लगाउनुपर्ने हो । तर, उसकै अगुवाई र निर्देशनमा दशगजामै सुरक्षाबेस स्थापना गर्न सडक निर्माण गरिनु उसको बल मिच्याइँ नै हो । उसले भारत सरकारको निर्देशन अनुसार नै यस्तो बल मिच्याइँ गरेको हो भने नेपालले यसलाई अन्तर्राष्ट्रिय अदालतसम्म लैजानु पर्दछ ।
भारतीय पक्षको दादागिरीको नेपाली स्थानीयबासीले प्रतिवाद गरेर हाललाई काम रोकिएको छ । वडाध्यक्ष महावीर लिम्बूको अगुवाईमा तत्काल खनिएको बाटो स्थानीयले सम्याएका छन् र भारतीय पक्षको बल मिच्याइँको प्रतिकार गरेका छन् । त्यसो त भारतले सम्पूर्ण सीमा क्षेत्रमा बल प्रयोग गरेको समाचार घटना नौलो होइन । यसअघि महोत्तरी जिल्लाको मटिहानीमा दशगजा मिचेर पक्की सडक र नाला नै बनाएको थियो । भारत सरकारले नै सीमादेखि आठ किलो मिटरभित्र ठूला संरचना निर्माण नगर्ने नीति तर्जुमा गरेको थियो । त्यसको केही दिनमै मटिहानीमा दशगजा मिचेर पक्की सडक र नाला बनायो ।
नेपालमा अहिले सीमा सुरक्षाका निम्ति सशस्त्र प्रहरी खटाइएको छ । तर, उसलाई आवश्यक बन्दोबस्तीका सामग्री, पर्याप्त जनशक्ति र स्थायी क्याम्पको अभाव छ । थोरै जनशक्तिले ठूलो जनशक्ति, उपकरण र बन्दोबस्तीको सामग्री भएको भारतीय एसएसबीसँग भीडेर काम गर्न गाह्रो नै छ । यद्यपि आजसम्म सीमावर्ती नेपालीले देशको सीमाको सुरक्षा गरेका छन्, भारतको बल मिच्याइँको प्रतिवाद गरेका छन् । नेपालका पराराष्ट्र मन्त्री आर्जु राणाले बलियो भएको बताउँदै गर्दा त्यसको उदाहरणका रुपमा कचनकबलको सडक निर्माण भनिनु उचित नहोला । तर, अहिलेसम्मका सबै सीमा विवादको एकमुष्ट समाधान कुटनीति र वार्ताबाटै सम्भव छ, हुन्छ यो वास्तविकता हो । हाम्रो नेतृत्व कुटनीतिक क्षमतामा कमजोर रहेका कारण पटक–पटक असफल हुनु परेको छ । त्यसैले नेतृत्वले क्षमताको विकास गरेर सीमाको विवाद समाधान गर्नु नै देश र जनताप्रतिको सम्मान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here