एसिया महादेशका शहरहरुमा नेपालको राजधानी काठमाडौं वातावरण प्रदूषित शहर भएको छ । व्यापक भइरहेको शहरीकरण, जनसंख्याको वृद्धि, जल, वायु तथा भू–प्रदूषणका कारण नेपालका प्रमुख शहरहरु र शहरउन्मुख बजारहरुमा प्रदूषण व्यापक भइरहेको छ । त्यसका साथै सवारीसाधनको चाप र त्यसले उत्सर्जन गर्ने ध्वनि, धुँवा र विषाक्त ग्यासले यस्तो प्रदूषण झनै बढेको छ । हामीकहाँ अहिले पनि प्लास्टिक, टायर जलाउने र फोहर जथाभावी विसर्जन गर्ने कार्य यथावत छ । विश्वका ठूला तथा समृद्ध देशहरुमा यस्तो फोहरलाई व्यवस्थित गर्न कानून नै बनाएर त्यसको कार्यान्वयन कडाइका साथ गरिएको छ, तर हामीकहाँ कानून बनाएर पनि कार्यान्वयनमा इमान्दारिता देखिएको छैन । प्रदूषण लगायतका सबैखाले बेथितिहरुको नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको हो, तर सरकार त्यसतर्फ उदासिन रहेको छ । यस्तो उदासिनता र गैरजिम्मेवारीपनका कारण पृथ्वी तथा सम्पूर्ण जीव, वनस्पतिको रक्षक ओजोन तह कमजोर भइरहेको छ ।
पृथ्वीको वायुमण्डलको तीस हजार किटमाथि स्थायीरुपमा बसेको बादलको एउटा तह छ, जसलाई ओजोन तह भनिन्छ । त्यसले सूर्यबाट आउने विभिन्न हानिकारक पराबैजनी किरणहरुलाई रोकेर राख्छ । यदि त्यो विषाक्त किरण पृथ्वीमा आइपुग्ने हो भने पृथ्वीको सम्पूर्ण अस्तित्व समाप्त हुन्छ । ओजोन तह पातलिँदै गएको प्रति वातावरणविद्हरुले चिन्ता प्रकट गर्दै आएका छन् र त्यसलाई रोक्ने प्रयास पनि भइरहेको छ । पृथ्वीमा बढ्दै गएको कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फरडाइअक्साइड, सीएफसी जस्ता ग्यासका कारण पातलिएको ओजोन तहलाई जोगाउन सकिएन भने पृथ्वी नष्ट हुन्छ । त्यसैले प्रत्येक व्यक्तिले प्रदूषण कम गर्ने, हानिकारक ग्यासको उत्सर्जन जथाभावी नगर्ने र वातावरणको संरक्षण गर्नेतर्फ लाग्नु पर्दछ ।
ओजोन तहको सुरक्षाका लागि विश्वका चौबीस वटा राष्ट्रहरुले ओजोन बिनाशक तत्वहरुको उत्पादनमा कमी ल्याउने उद्देश्यले सन् १९८७ सेप्टेम्बर १६ का दिन मोन्टे«यल सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यही दिनको सम्झना गर्दैे सन् १९९५ देखि विश्व ओजोन तह दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाउने गरिएको हो । पृथ्वी मण्डलको रक्षात्मक कबचका रुपमा रहेको ओजोन तह प्रकृतिबिरुद्धका मानवीय गतिवधिका कारण प्वाल पर्न थालेको विज्ञहरुले बताएका छन् । यसकै कारण पृथ्वीको तापक्रम बढेको छ । जलवायु परिवर्तन भइरहेको छ । तर, अनेक विनाशक हतियार उत्पादन, परीक्षण र प्रयोग गर्न शक्ति राष्ट्रहरु ‘उचिनपाछिन’ गरिरहेका छन् । विकासशील देशमा वनजंगल फडानी तीब्रगतिमा भइरहेको छ, अव्यवस्थित शहर बढ्दैछन् र ओजोन तह प्रतिकूलका गतिविधि यथावत छन् ।
नेपाल विश्वव्यापी जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको छ । यसले जलवायु परिवर्तन र जैविक विविधतामा ह्रास आइरहेको छ । त्यसैले त्यसको न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, सरोकारवाला निकाय र नागरिक समाजले मिलेर काम गर्नुपर्छ । त्यसका लागि सरकारले नै नेतृत्व लिनु पर्दछ र रणनीतिक योजना ल्याउनु पर्दछ । यस्तो योजना आफू जस्ता देशहरुसँग पनि साझा र समन्वय गर्दै ओजोन तहको रक्षामा लाग्नु पर्दछ । अहिले राजधानी काठमाडौंमा सरससफाईको कामलाई महानगरले तीव्ररुपमा अघि बढाएको छ । फोहोरका कारण हुने विभिन्न प्रदूषणलाई नियन्त्रण गर्न काठमाडौं जस्तै सबै स्थानीय सरकारले दृढताका साथ लाग्नु पर्दछ । फोहोरको उचित र सुरक्षित व्यवस्थापन गर्दै वनजंगल, नदीनाला र प्रकृतिको संरक्षणमा लाग्नु पर्दछ । यसले थोरै भए पनि ओजोन तहको सुरक्षामा योगदान पुग्न सक्छ ।