पञ्चक : के हो ? के गर्ने, के नगर्ने ?

0
69

पञ्चक के हो ?

पूर्वीय ज्योतिष शास्त्र एकदमै रोचक, रहस्यमयी र वैज्ञानिक पनि छ । आधुनिक विज्ञान, खगोल सम्बन्धी अध्ययन गर्ने संसारको नेतृत्वदायी संस्था नासाले ग्रह, उपग्रह आदिबारे खोज र अध्ययन गर्न थालेको चालिस वर्ष जति मात्र हुँदैछ, तर पूर्वीय दर्शनशास्त्र र महान ऋषि शुक्राचार्यको भृगुसंहिताले करिब पाँच हजार वर्ष पहिले नै ग्रह, उपग्रह, एकअर्काबीचको दूरी, विशेषता बनोट पत्ता लगाइसकेको थियो । त्यसर्थ ज्योतिषशास्त्र परापूर्व कालदेखि नै व्यवहारिक र वैज्ञानिक रहेको तथ्य सर्वस्वीकार्य छ ।

अब विचारौं पञ्चक भनेको के हो ?

पञ्चक भनेको पाँच दिनको त्यो समय हो जहाँ चन्द्रमा कुम्भ वा मीन राशीमा गोचर गर्दछ । एउटा राशीमा चन्द्रमा करीब सवा दुई दिन रहन्छ । कुम्भ र मीन दुईवटा राशीमा सवा दुई दिनका दरले पाँच दिन रहन्छ । घडीपलाको गणनाको हिसाबले केही घण्टा फरक परेपनि र यो सौर्यमासको हिसावले पाँच दिन हुन्छ । यही पाँच दिनको समय नै पञ्चक हो । अर्थात् धनिष्ठादेखि रेवतीसम्मका नक्षत्रहरु धनिष्ठा, शतभिषा, उत्तरभाद्रपद, पूर्व भाद्रपद र रेवती नक्षत्रले भोग गर्ने पाँच दिनको समय नै पञ्चक हो । पञ्चक प्रत्येक महिनामा पाँच दिन पर्दछ । नक्षत्रहरुको मेलद्वारा बन्ने विशेष योग नै पञ्चक हो । ज्योतिष शास्त्र अनुसार पञ्चकलाई त्यति शुभ मानिँदैन । हामी पञ्चक सुन्ने बित्तिकै भयभीत हुन्छौँ, तर सामान्य कुराहरुमा सावधानी अपनाउने हो भने पञ्चकदेखि डराउनु पर्दैन र सबै पञ्चक नराम्रो पनि हुँदैन ।

त्यसो भए के सबै पञ्चक एउटै हुन् त ?

होइनन्, पञ्चकहरु हरेक महिनामा एकपटक आउँछन् । एक वर्षमा १२ पटक आउँछन् । तर, यमपञ्चक अन्य पञ्चकभन्दा फरक हो । यो वर्षमा एकपटक मात्र आउँछ । यमपञ्चक कार्तिक कृष्णपक्ष त्रयोदशीदेखि शुरु हुन्छ र यमद्वितीया (भाइटिका)का दिन समाप्त हुन्छ । सूर्यका छोरा यमराज यी पाँच दिनसम्म आफ्नी बहिनी यमुनाका घरमा गई बसेको र यमुनाले उनलाई भाइटीका लगाइदिएकाले यस पर्वको नाम यमपञ्चक रहन गएको हो । तिहारको यमपञ्चक मासिक रुपमा आउने अन्य पञ्चकजस्यो धनिष्ठा र रेवतीबीच नपर्न पनि सक्छ ।

कार्तिक महिनामा कहिले भेट्छ त पञ्चक ?

यस सालको कार्तिक महिनामा २५ गते आइतबारदेखि २८ गते बुधबारसम्म पञ्चकले भेटेको थियो । आइतबार पञ्चक भेट्नु त्यति शुभ हुँदैन । यो रोगको कारक हुन्छ । त्यसर्थ यो बीचमा कुम्भ, मीन, सिंह र कन्या राशीहरुले केही सावधानी अपनाउनुपर्छ । आहार विहार यात्रा, वाणी, कार्यक्षेत्र आदिमा विशेष सजगता अपनाउनुपर्छ ।

पञ्चकमा के–के गर्ने ? के–के नगर्ने ?

पञ्चक अवधीमा शुभकार्य वर्जित मानिन्छ । यदि कुनै शुभकार्य गर्नैपर्ने भएमा ज्योतिषी, गुरु पुरोहित आदिको सल्लाह परामर्श अनुसार मात्र गर्नुपर्छ । पञ्चकभित्रमा गरिएका कार्यहरुको अशुभ परिणाम पाँच गुणा ज्यादा हुन्छ । तर, यस समयमा गृह प्रवेश, उपनयन, संस्कार, भूमिपूजन, रक्षाबन्धन आदि कार्यहरु गर्न स्वीकृत छन् भने विवाह, नामाकरण, मुण्डन आदि पञ्चककालमा वर्जित गरिएको छ । श्राद्वादी कर्महरु व्रत आदिलाई कुनै रोक छैन । पञ्चक प्रवेश गर्ने वा शुरु हुने बार अनुसार पञ्चकको शुभाशुभ बिचार्न सकिन्छ ।

– यदि पञ्चक आइतबारका दिन प्रवेश हुन्छ भने त्यो रोगपञ्चक हुन्छ । यस्तो प्रकारको पञ्चक माङ्गलिक कार्यमा अशुभ हुन्छ । यसले पाँच दिनसम्म मनुष्यलाई शारीरिक तथा मानसिक समस्याले ग्रसित बनाउन सक्छ ।

– यदि सोमबारका दिन पञ्चक प्रारम्भ हुन्छ भने यसलाई राज पञ्चक भनिन्छ । यो पञ्चकलाई शुभ मानिन्छ । यस पञ्चकलाई अवधिमा सम्पत्तिसँग सम्बन्धित कार्य गर्न उचित अवधि मानिन्छ । यो पञ्चक अवधिमा सरकारी कार्यहरुमा सफलता मिल्छ ।
– यदि मंगलबारका दिन पञ्चक प्रारम्भ हुन्छ भने त्यसलाई अग्नि पञ्चक भनिन्छ । यो पञ्चक अवधिमा निर्माण कार्य, औजार वा मेसीनरीसँग सम्बन्धित कामको शुरुवात गर्न अशुभ मानिन्छ ।

– यदि शुक्रबार पञ्चक शुरु हुन्छ भने त्यसलाई चोर पञ्चक भनिन्छ । यस अवधिमा लेनदेन र व्यापारसँग सम्बन्धित कार्य शुरुवात गर्नु राम्रो मानिँदैन । यो पञ्चकमा यात्रा पनि वर्जित गरिएको छ ।

– यदि शनिबार पञ्चक शुरु हुन्छ भने त्यसलाई मृत्युपञ्चक भनिन्छ । यस अवधिमा मनुष्यलाई शारीरिक वा मानसिक पीडा, मृत्युसमान कष्ट, दुर्घटना, चोटपटक आदिको भय रहन्छ ।
पञ्चक नक्षत्र र यिनको प्रभाव यसरी जान्नुपर्दछ

धनिष्ठा नक्षत्रको पञ्चकले अग्निको भय गराउँछ । शतभिषा नक्षत्रको पञ्चकले शारीरिक कष्ट दिन्छ । पूर्व भाद्रपद नक्षत्रले पञ्चकले रोगको योग बनाउँछ । उत्तरभाद्रपद नक्षत्रको पञ्चकले दण्ड, जरिवानाको योग बनाउँछ । रेवती नक्षत्रको पञ्चकले धनहानीको योग बनाउँछ भन्ने बताइएको छ ।

पञ्चकको नराम्रो प्रभावबाट कसरी जोगिने ?

– पञ्चक अवधिमा दक्षिण दिशातर्फ यात्रा नगर्ने तर दैनिक कार्य, व्यापार, जागिर आदिका लागि कुनै समस्या छैन । यदि गर्नैपर्ने भएमा हनुमानजीको स्मरण गरेर फलको भोग लगाएर वा पूजन गरेर यात्रामा निस्कदा पञ्चकको दोष कम हुन्छ ।

– पञ्चक अवधिमा यदि कसैको मृत्यु भएमा मृतकका परिवारभित्र अन्य पाँच जनाको पनि मृत्यु हुन्छ भन्ने पञ्चकको प्रभावमा बताइएको छ । तसर्थ, यस प्रभावबाट बच्न शवसँगै पाँचवटा पुत्ला बनाएर पञ्चक शान्तिविधि गरी अर्थिमा रामी अन्तिम संस्कार पुत्लाहरु कुश वा पिठोको पनि बनाउन सकिन्छ ।

– पञ्चककालमा यदि काष्ठनिर्मित फर्निचर आदिको खरिद गर्नैपर्ने भएमा देवी गायत्रीको पूजा गरी भित्र्याएमा दोष लाग्दैन ।

– घरको छत निर्माण कार्य गर्नैपर्ने भएमा काम शुरु गर्नुभन्दा पहिले वा मजदुरहरुलाई काममा लगाउनु पूर्व मिठाई खान दिएमा पञ्चक दोष समाप्त हुन्छ भनेर बताइएको छ ।

यसर्थ पूर्वीय दर्शनका धेरैजसो मान्यताहरु धर्मसँग जोडिपनि वैज्ञानिक छन्, व्यावहारिक छन् । उचित परामर्श, सल्लाह र शुद्ध चित्त र शरीरद्वारा मानिसले मगेवाञ्चित फलहरु प्राप्त गर्न सक्दछन् । त्यसैले पूर्वीय दर्शनद्वारा स्थापित मान्यताहरुको अनुशरण गरौँ, सार्थकपूर्ण जीवन बाँचौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here