छविराज ढकाल/ पथरीशनिश्चरे,
मोरङ्गको पथरी शनिश्चरेमा साङ्गीतिक पी.टी. व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु भएको छ। बिहीबार पथरी शनिश्चरे वडा नम्बर १ को श्री पञ्चायत माध्यमिक विद्यालयको प्राङ्गणमा सो कार्यक्रम सुरु भएको हो।
‘हामी सुधार्छौं हाम्रो विद्यालय’ सामुहिक उद्घोष र संकल्पका साथ आयोजना गरिएको तीन दिने कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका भित्रका २८ वटा सामुदायिक विद्यालयहरूले सहभागिता जनाएका हुन्।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगरभित्रका सामुदायिक विद्यालयहरूमा आधुनिक विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै व्यावहारिक तथा जीवन उपयोगी ज्ञान सहितको साङ्गीतिक पी टी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु गरिएको बताउनुभयो।
उद्घाटन समारोह पञ्चायत माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। पथरी शनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र वडा नं. १ को कार्यालयको आर्थिक सहयोग र पञ्चायत माविको व्यवस्थापनमा सो पी टी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु भएको हो ।
सो तालिमका सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई चर्चित मोटिभेशनल स्पिकर तथा नेपालमै निकै लोकप्रिय सामुदायिक विद्यालय कालिका माविका पी.टी. प्रशिक्षक हरिश ओलीले प्रशिक्षण दिइरहनुभएको छ ।
सोही आयोजक विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत नवीन खुलाल बुढाथोकी, वडाध्यक्षहरू क्रमश: भीम कुमार राई, नैना राई, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, नवीनजंग कार्की, जीवन खतिवडा लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।