अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ सिस्नेस्थित खुदुनाबारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १९औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
समितिको कार्यालय प्राङ्गणमा समितिका अध्यक्ष विष्णुप्रसाद प्रसाईंको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा संस्थाको गत आर्थिक वर्ष ०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष प्रसाईंले, खानेपानीको समस्यासहितको चालु आर्थिक वर्ष ०८१÷०८२को कार्ययोजना तथा नीति कार्यक्रम सदस्य सीता खतिवडा र गत आर्थिक वर्षको आय–व्यय विवरण एवम् चालु आर्थिक वर्षको अनुमानित बजेट विवरण कोषाध्यक्ष खीनकुमारी भट्टराईले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा डिभिजन खानेपानी कार्यालय चन्द्रगढीबाट विनियोजन भएको २४ लाख ६७ हजार चार सय रुपैयाँको लागतमा साधुटार क्षेत्रमा एक लाख लिटर क्षमताको स्टोरेज ट्याङकी निर्माण, अर्जुनधारा नगरपालिकाबाट विनियोजन भएको १३ लाख २१ हजार ३० रुपैयाँ ३४ पैसाको लागतमा खानेपानी मुहान मर्मत, घेराबारा र तटबन्धन गरिएको, समितिको आन्तरिक स्रोतबाट खानेपानीको क्षेत्र र सदस्य वृद्धिसँगै एउटा मुहान निर्माण, अर्जुनधारा–१, ४ र ७ नं. वडाको विभिन्न स्थानहरुमा पाइपलाइन विस्तार गरिएको उल्लेख गरिएको छ ।
त्यसैगरी प्रतिवेदनमा प्रत्येक वडामा सम्बन्धित वडा कार्यालयको सिफारिसमा विपन्न उपभोक्ता छनौट गरि दुई वटा निःशुल्क धारा जडान गर्ने नीति अनुसार गत आर्थिक वर्षमा ७ जनाको धारा जडान, खानेपानी अवस्था जाँचको लागि छ–छ महिनामा परीक्षण गर्ने, खानेपानीको थप विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको, कटहरे मुहान घेराबारा आदि उल्लेख गरिएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा ९९ लाख ३० हजार पाँच सय २३ रुपैयाँ ९४ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षको लागि अनुमानित ८३ लाख ८८ हजार नौ सय ९१ रुपैयाँ ९३ पैसा बराबरको बजेट, नीति तथा कार्यक्रम पेश गरेको छ ।
सोही कार्यक्रममा नियमित महशुल बुझाउने अर्जुनधारा–१का नरमाया तामाङ र बलबहादुर फूँयेल, अर्जुनधारा–४का छविलाल दियाली र रामबहादुर राई तथा अर्जुनधारा–७ निवासी हर्कमाया लिम्बू, उत्कृष्ट कर्मचारी वरिष्ठ प्राविधिक खगेन्द्र फूँयेललाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका केन्द्रीय सदस्य योगेन्द्र आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी सहसचिव कल्पना लम्साल खनालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव मदनकुमार दनुवारले गरेका थिए ।































