प्रकृतिप्रति सद्भाव राखौं

0
52

पृथ्वी अनेक जीव र वनस्पतिको आधार क्षेत्र हो । पृथ्वीमा रहेका महादेश, देश र भूगोलमा विविधता भए जस्तै यहाँ प्राणी र वनस्पतिमा समेत भिन्नता छ । फरक–फरक भूगोलमा भएको त्यही भिन्नताले पृथ्वीलाई सौन्दर्यपूर्ण बनाएको छ भने त्यसैले विभिन्न जीवात्मा र वनस्पतिको अस्तित्व सुरक्षित गरेको छ । पृथ्वीमा भएको भिन्नतालाई जैविक विविधता भनिन्छ, जसले प्राणीहरु मध्येको श्रेष्ठ मानिसलाई अस्तित्वको कारक जैविक विविधताको संरक्षण गर्न सचेत गराएको छ ।

विश्वमा करिब डेढ अर्ब मानिस जिविकोपार्जनका लागि वनजन्य स्रोतमा भर परेका छन् । त्यस बाहेक पनि मानव जातिका लागि जीवजन्य र वानस्पतिक उत्पादन आवश्यक हुन्छ । त्यही आवश्यकतालाई बोध गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व जैविक विविधता दिवस मनाइने गरेको छ । पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकास जस्ता मुद्दामा जैविक विविधताको महत्व प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले विविध कार्यक्रमसहित यो दिवस मनाउन थालिएको हो । नेपाल सानो भएर पनि भौगोलिक विविधताका दृष्टिले समृद्ध छ र जैविक विविधताका दृष्टिले धनी देशमा गनिन्छ । तर, हाम्रा राज्य सञ्चालकहरु ‘कस्तुरीले आफूमै रहेको सुवास’ थाह नपाएर अन्यौलमा दौडिरहेका छन् ।

विश्वमा अस्तित्वमा रहेका जलचर थलचर वा उभयचर प्राणी हुन् वा सूक्ष्म जीवात्मा अथवा अनेक थरीका साना–ठूला वनस्पतिहरु हुन् सबै एकअर्काप्रति आश्रित छन् । एकअर्काको जीवनमा एकअर्काको उपस्थिति आवश्यक छ । कुनै एउटा प्रजातिको अनुपस्थितिमा अर्को कुनै प्रजातिको अस्तित्व असुरक्षित हुन्छ । तर, विगत केही दशकदेखि मानिसको वस्तु उपभोग गर्ने लालसाका कारण प्रकृति प्रदत्त स्रोतहरुको उपलब्धतामा असन्तुलन हुन थालेको छ । यसकै परिणाम हो कि समय–असमय प्राकृतिक प्रकोपहरुको सामना गर्नु पर्दैछ । बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि र मौसम परिवर्तन जस्ता विपद्हरु बढेर गएका छन् ।

यही परिप्रेक्ष्यमा ब्राजिलको रियो द जेनेरियोमा सन् १९९२ को मे २२ का दिन विश्व जैविक विविधता महासन्धि अघि बढाइयो । त्यहाँ सम्पन्न पृथ्वी सम्मेलनले सारेको प्रस्ताव अनुसार सन् १९९४ देखि यो दिवस मनाउने अभ्यास थालियो । त्यसै अनुसार नयाँ नाराका साथ आज उक्त महासन्धिमा हस्ताक्षर गर्ने देशहरुमा यो दिवस मनाइन्छ । यस वर्ष प्रकृतिप्रति सद्भाव र दिगो विकास भन्ने नारा अघि सारिएको छ । नेपालमा जैविक विविधताको संरक्षणमा चुनौती थपिएको छ, डोजरे विकासले भूमिको स्वरुप बिगारेको छ, प्रकृति विनाश भएको छ, यस्तोमा राज्य सञ्चालकलाई नै यो दिवसको औचित्य र महŒव सम्बन्धी सचेतना प्रदान गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here