खालिङ सरसँग अन्तिम भेटघाट र वार्तालाप,
२०७३ साल बैशाख अन्तिमतिरको कुरा हो । आदरणीय दाजु तथा समाजसेवी नसूह प्रसाईंले बेलुकीपख मलाई फोन गर्नुभयो– ‘भाइ ! भोलि १०ः३० बजेतिर हामी विद्वान व्यक्तित्व दान खालिङलाई भेट्न शिलगढी जानुपर्छ । भाइ तयार बस्नु । तिम्रो घर अगाडि राजमार्गमा गाडी रोकिन्छ । दुइजना मात्र जाने भइयो ।’ मैले दाइको आदेशलाई शिरोधार्य गरेँ । हामी प्रसिद्ध समालोचक÷निबन्धकार गणेशबहादुर प्रसाईंको स्मृति(ग्रन्थ प्रकाशन गर्ने अठोटमा डोहोरिएका थियौं । स्व. दाजु गणेशबहादुर प्रसाईं हाम्रो परिवारको मात्र होइन राष्ट्रकै प्रतिष्ठा हुनुहुन्थ्यो । उहाँको सिर्जनाहरूको साहित्यिक, राजनीतिक तथा सांस्कृतिक मूल्यलाई विस्मृतिको गर्तमा विलीन हुन दिनहुन्न भन्ने सोचमा हामी थियौं । हामी दाजु गणेशबहादुर प्रसाईंलाई आत्मविलोपी हुन दिन हुन्न भन्ने छट्पटीमा प¥यौं । दाजु नसूह प्रसाईंको अध्यक्षतामा ‘गणेशबहादुर प्रसाईं स्मृति प्रतिष्ठान (२०७२)’को १० सदस्यीय कार्यसमिति गठन गरियो । म आफू पनि कार्यसमिति सदस्य थिएँ ।
हामीलाई लिएर गएको गाडी काँकरभिट्टाबाट फर्केपछि हामी बसबाट शिलगढीको दार्जीलिङ चोकमा उत्रेर बाटो काटेर सिँधै दक्षिणतिर दश मिनेटको दूरीमा स्थित साहित्यकार तथा समाजसेवी भीमलाल सापकोटाको ग्राफिक प्रिन्टिङ प्रेसमा पुग्यौं । भीमलालजीसँग भेटघाट भयो र उहाँले हामीलाई आत्मीय मित्रताले स्वागत गर्नुभयो । हामीले चिया पियौं । हामीले दान खालिङ सरलाई भेट्ने आशय व्यक्त गरेपछि उहाँ विरामी रहेको हुनुहुन्छ भन्दै हामीलाई दान खालिङको डेरामा पु¥याउनु भयो । त्यो घर उहाँको आफ्नै बहिनी–ज्वाइँको थियो । त्यस स्थानलाई दुर्गागढी र हाल शास्त्रीनगर भनिँदोरहेछ । खालिङ सर शुरूमा भीमलाल सापकोटाको सुमेरु प्रेसमा २०२९÷०३० तिर कर्मचारीको रुपमा काम गर्नुहुन्थ्यो र बिहान–बेलुकाको छाक टार्नुहुन्थ्यो । अहिले ज्वाइँ बित्नुभएको रहेछ र शायद बहिनी पनि बित्नुभएको थियो । खालिङ सर निकै अस्वस्थ र असक्त हुनुहुन्थ्यो । ओछ्यानमा लम्पसार सुतिरहनुभएको थियो । उहाँको रेखदेख उहाँकी एकजना अविवाहित बहिनी नवमी खालिङले गरिरहनु भएको रहेछ । भीमलाल सरले उहाँलाई उठाउनु भयो आफै । उहाँ सुकेको सिट्ठा शरीर लिएर उठ्नु भयो । बहिनी नवमी पनि हाम्रै छेउमा हुनुहुन्थ्यो । ‘नेपालबाट तपाईंलाई भेट्न उहाँहरू आउनुभएको छ’ –भीमलाल सरले भन्नुभयो । नेपालबाट भन्ने बित्तिकै उहाँले आँखा विस्फारित गरेर हेर्नुभयो । उहाँले थरथराउँदो हातहरू जोडेर दुई हात जोड्नुभयो । दाजु नसूह प्रसाईंले आफ्नो नाम बताउनुभयो । धुलाबारी क्याम्पस (२०४८–२०५९)मा खालिङ सरले अध्यापन गर्दा दाजु सञ्चालक समितिको अध्यक्ष रहनुभएकोले उहाँलाई चिन्न गाह्रो परेन । सरको आँखामा पुरानो संस्मरण र नेपालको मायाले टम्म आँशु भरिएका थिए । मैले पनि परिचय दिएँ ।
साहित्यिक गोष्ठीमा विरलै देखिने खालिङ सरसँगको बेला मौकाको भेटघाट र धुलाबारी चोकमा दिनहुँ जस्तो हुने वार्तालाप र त्रिफला पुस्तकालयमा पातलो भेटघाटले सरलाई चिन्न गाह्रो परेन । सर स्वास्थ्य तथा वार्धक्यताको कारणले एकदमै शिथिल हुनुभएको रहेछ । हयीको कङ्कालमा पातलो छालाको आवरण । ‘नेपाल र नेपाली’ भन्ने महान् व्यक्तित्वले ९० वर्ष टेक्नु भएको थियो । दाजुले सोध्नुभयो– ‘अहिले के विमार छ, सर ?’ खालिङ सरले सकी नसकी बोल्नुभयो– ‘बुढेसकाल नै ठूलो विमार रहेछ ।’ बहिनी नवमी भन्दै हुनुहुन्थ्यो– उहाँको खानामा रुची छैन, दिसा पिसाब गराउन तथा स्नान गराउन सहारा चाहिन्छ, यो आफन्त पर्ने छिमेकी भाइको सहारा छ । म आफू खाना चम्चाले खुवाउन प्रयास गर्छु, तर रुची बन्दै छैन –मित्र भीमलाल सरले भन्नुभयो– ‘उहाँहरू तपाईंको समालोचक गणेशबहादुर प्रसाईंसँगको संगत र उहाँका साहित्यिक देनबारे सोध्न आउनु भएको रहेछ ।’ खालिङ सरले सिरानीबाट थोरै टाउको उठाएर भन्नुभयो– ‘म अहिले विस्मृतिमा छु । म मेरो जन्ममिति पनि भन्न सक्दिनँ म रित्तिएको छु ।’ ढल्किनुभयो । सरको बहिनीले भन्नुभयो– ‘दाजुले एकछिनको कुरा एकछिनमा बिर्सनुहुन्छ । नवमी खालिङले भन्नुभयो– उहाँको जन्ममिति वि.सं. १९८३ साल हो । उहाँ योगी जस्तै हुनुहुन्छ । विवाह गर्नु भएन । हाम्रो परिवार परम्परागतरुपले क्रिश्चियन धर्मालम्वी हो, तर उहाँ २०२९÷०३० तिर शिलगढी आएपछि धर्म निरपेक्षतालाई अङ्गीकार गर्नुभएको सुन्दैछु । हामी त्यसदिन शिलगढीबाट रित्तै फर्कियौं । बाटामा ‘अब खालिङ सरको अवस्था त्यति राम्रो छैन’ –दाजुले भन्नुभयो । मलाई पनि सरको अब त्यति धेरै छ जस्तो लागेन ।
२००७ सालको क्रान्तिको पूर्वसन्ध्या
भारतमा स्वाधीनता संग्राम सफल भइसकेको थियो । नेपालकै केही नेताहरू वीपी कोइराला, क.मनमोहन अधिकारी, क.पुष्पलाल श्रेष्ठ, कृष्णलाल अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमसेर ज.ब.रा. आदि नेताहरूले शताद्वि पुरानो वेलायत शासनलाई कब्जा गर्न सघाएका थिए । आखिर भारतबाट अंग्रेजहरू लखेटिएपछि नेपालमा राणाको हुकुमी शासन उच्छेद गर्न भारतीय नेताहरूले नेपाललाई पैचो तिर्ने निश्चित नै थियो । बेलायती गोरा शासकहरू भारतबाट पलायनपछि राणाहरूलाई सहयोग गर्ने अब अर्को शक्ति थिएन । इलामको गोदकमा २००७ सालमा गाउँभरिका केटाकेटीहरू जम्मा गरी मास्टर पूर्णबहादुर राईले एउटा पाठशाला खोलेका थिए । त्यही निहुँमा गाउँका अभिभावकहरूलाई भेला गरी देशभरिको स्वतन्त्रता आन्दोलनको लागि भएका घटनाहरू सुनाउने गर्थे । उनले भारतबाट अंग्रेज लखेटिएका र अब नेपालमा हुकुमी शासकहरू निरीह भएको सुनाउने गर्थे । गाउँलेहरूले उनलाई मास्टर भन्थे । पूर्णबहादुरले भारतमा सामान्य शिक्षा प्राप्त गरेका थिए । उनी नेपालको स्वतन्त्रता संग्राममा विस्तारै होमिए । विश्वयुद्धबाट फर्केका भू.पू. सैनिकहरू, गाउँले तन्देरीहरू स्वतन्त्रताको पक्षमा पंक्तिबद्ध भए । हेर्दाहेर्दै सम्पूर्ण इलाम जिल्ला ‘प्रजातन्त्रको पक्षमा उभियो । गाउँ–गाउँमा राणा शासन चल्दैन, हुकुमी शासन मूर्दावाद, इन्कलाब जिन्दावाद ! सारा जिल्ला प्रजातन्त्रको पक्षमा उर्लियो । मास्टर पूर्णबहादुर राईको चेतना बिस्तारित भइरहेको थियो । इलाम जिल्लाका पशुपति, आइतबारे, गोर्खे र अन्तिममा इलाम बजार सदरमुकाम मुक्तिसेना र प्रजातन्त्रवादीहरूले कब्जा गर्न समय लागेन । यो विजयमा मास्टर पूर्णबहादुर राईले प्रमुख भूमिका निभाए ।
नेपालमा प्रजातान्त्रिक आन्दोलन भोजपुर, धनकुटा, तेह्रथुम, इलाम हुँदै झापा झरेको हो । आन्दोलनकोे राप विराटनगरबाट रंगेली हुँदै झापा बजारसम्म आइपुगेको थियो । त्यसपछि मास्टर पूर्णबहादुर राई आफ्नो फौजी मोर्चा लिएर झापा कब्जा गर्न झरे । त्यो बेला झापामा प्रधानमन्त्री मोहन शम्सेरका बफादार कारिन्दाहरू माल अयाका भैरवप्रसाद आचार्य, बिर्ता माल तथा काठ अयाका हाकिम भूपालमान सिंह, खरदार भैरवबहादुर श्रेष्ठहरू यहाँका आन्दोलनका सञ्चालक थिए । उनीहरुले द्वैध चरित्र निर्वाह गरिरहेका थिए । वाह्यरुपमा प्रजातान्त्रिक पक्षधर भए पनि आन्तरिकरुपमा श्री ३ मोहन शम्सेर तिरै वफादार थिए । वैदार देवीप्रसाद उप्रेती र खरदार धर्मप्रसाद ढकाल तथा अन्य प्रशासनका हाकिमहरू पनि आन्तरिकरुपमा राणाहरूप्रति नै भक्तिभाव राख्दै देखावटीरुपमा आन्दोलनको पक्षमा आफूलाई खडा गरेको नाटक मञ्चन गर्दै थिए । उनीहरूले आफ्नो स्वर्गीय सुखसयल चटक्कै छोड्न सकिरहेका थिएनन् । भारतबाट राणालाई टेको पिडो दिने बेलायती शासकहरूको उच्छेद भएपछि अब राणाहरू एक्लिएका थिए । अर्कोतिर नेपालका नेताहरूले भारतीय स्वाधीनता संग्राममा सहयोग गरेकाले भारतीय नेताहरूले नेपालको मुक्ति सेनालाई सघाउने पक्का थियो ।
त्यो बेला प्रजातान्त्रिक आन्दोलनका जननेता वीपी कोइरालाले दार्जीलिङ र कालिम्पोङका बस्तीहरूमा लामो समय बसेर नेपाली युवाहरूलाई मुक्तिसेनालाई सहयोग पु¥याउन प्रेरित गरिरहेका थिए । त्यस्तै मनमोहन अधिकारी, पुष्पलाल, कृष्णप्रसाद भट्टराई, सुवर्ण शम्सेर सबै भारतको सीमानातिर बसेर प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पु¥याइरहेका थिए । दोहोरो नाटक मञ्चन गर्ने राणाको दासहरुलाई अप्ठ्यारो परिरहेको थियो । मास्टर पूर्णबहादुर राईसँग झापा झरेका मोर्चाका लडाकूहरूका लागि रसदपानीको खोजीमा पूर्णबहादुर राई लागे । झापाका प्रमुखहरू तथा क्रान्तिको भूमिकामा रहेको वहाना गर्ने भैरवप्रसाद आचार्य र भूपालमान सिंहकहाँ उनी पुगे र दानापानीको लागि अनुरोध गरे । उनीहरूले आश्वासन दिएपछि पूर्णबहादुर फर्के । पूर्णबहादुर श्रेष्ठ एकातिर आश्वासन र अर्कोतिर भोका लडाकूको झोंकमा परे । उनी भोलिपल्ट भूपालमान र भैरवप्रसाद आचार्यका घरमा गएर दुबैलाई दिनभर रुँघे । मास्टर पूर्णबहादुर तनावमा थिए र स्टेनगन बोकेका उनले भैरवप्रसाद आचार्य र भूपालमान सिंह कार्कीका श्रीमतीहरूलाई आक्रोश पोखे । भूपालमान सिंहले ‘मेरो जीवन यात्रा’मा लेखेका छन्– ‘२००७ साल पुष महिनाको तेस्रो हप्तामा पूर्णबहादुर राई मेरो घरमा आएका थिए । भैरवप्रसाद आचार्य र भूपालमान सिंहले रसदपानीको व्यवस्था नगरिदिएकाले म तपाईंकहाँ आएको हुँ ।’
भूपालमान सिंहले भने हामी बैठक बसेर त्यसको व्यवस्था गर्दैरहेकाले उनले पूर्णबहादुरलाई उल्टै गाली गरे । तर, द्वैध चरित्र बोकेका यी दुबै जनाका घरमा ठीक १० बजेतिर उनी केही सनक पोखे । हातमा स्टेनगन थियो । भैरवप्रसाद आचार्य र भूपालमान सिंहले त्यसै साँझ मिलिटरी अफिसरको अदालत बस्यो । त्यसले ज्यान मार्ने धम्की दिएकाले मृत्युदण्ड दिने निर्णय भयो । त्यसलाई तुरुन्तै कार्यान्वयन गरियो । उनको हत्या गरियो । भैरवप्रसाद आचार्य र भूपालमान सिंहले राणा शासनप्रति वफादारिता प्रकट गरेका थिए । तर, क्रान्ति सम्पन्न भएपछि दुबै जना भैरवप्रसाद आचार्य तथा नरेन्द्रनाथ बाँस्तोलाको नाम प्रजातान्त्रिक आन्दोलनका नेताको रुपमा स्थापित बन्न पुगे । यी तीनै जना व्यक्तिहरूको नाटक मञ्चन विस्तारै खुल्दै गएको छ । जननेता वीपी कोइरालाबाट प्रेरित दार्जीलिङ र कालिम्पोङका युवाहरूको ठूलो हूल हातहतियारसहित पशुपतिनगरबाट इलाम प्रवेश गरेका थिए । यो प्रवेश अगाडि नै प्रजातन्त्रवादी र मुक्तिसेनाले इलाम मुक्त गरेका थिए । इलामका वडाहाकिम जिल्ला छोडेर भागिसकेका थिए । त्यो हूलमा निर्मल लामा र भाषा, साहित्य र संस्कृतिका योद्धा दान खालिङ पनि आउनु भएको थियो । दान खालिङ प्रगाढ देशभक्त हुनुहन्थ्यो । उहाँहरु केही दिन इलाम घुमेर फर्किनुभयो । नेपालमा प्रजातान्त्रिक समूहको केन्द्रीय सरकार बन्यो ।
२००७ सालको क्रान्ति दलीयतन्त्र नभएर नव–औपनिवेशिकताको हस्तान्तरण मात्र थियो । यो क्रान्ति दिल्लीको सम्झौतामा टुङ्गिएको थियो । नेपालमा त्यो बेला नेहरुको नियन्त्रणमा थियो । भारत आफै बेलायतीहरूको ‘स्वतन्त्र उपनिवेश’को रुपमा थियो । भारतले वेलायतीको सबै वर्चस्व कायम राख्नुपर्ने कागजमा नेहरुलाई हस्ताक्षर गराए । त्यस्तै नेहरुले श्री ३ मोहन शम्सेरलाई दबाब दिए र उनले नेपाली कांग्रेसलाई स्वीकार गर्न बाध्य बनाए । वास्तवमा २००७ सालको क्रान्ति नक्कली नाटक थियो । नेहरुले मोहन शम्सेरसँग कुरा गरेर आफूलाई सरकारमा लगिन लागेको कुरा कांग्रेसलाई थाहसम्म थिएन । नेहरुलाई थाहा थियो– नेपाली कांग्रेस आफूले जे भन्यो त्यो मान्छ भनेर ।
नेपालमा सामन्तहरूलाई हटाएर सामन्तकै सरकार सत्तामा थियो । नव–औपनिवेशक सत्ता स्थापित भएको थियो । दिल्ली सम्झौतामा निम्न बूँदाहरू थिए– (१) मन्त्रीपरिषद्को बैठकमा भारतीय राजदूतको अनिवार्य उपस्थिति (२) राजाको निजी सचिवमा भारतको नियुक्ति (३) भारतीयहरूलाई नागरिकता प्रदान (४) भारतीय सैनिक मेसिनको प्रवेश (५) कोशी–गण्डकी सम्झौता । तर, केही सचेत नागरिकहरूलाई यो नव–औपनिवेशिकता मन परेन । पश्चिम नेपालमा भीमदत्त पन्तको नेतृत्वमा किसान आन्दोलन रोकिएन । त्यस्तै सचेत विद्यार्थी नेता चिनीया काजी देशमा निरन्तर क्रान्तिको पक्षमा थिए । २००८ सालमा चिनीया काजीको हत्या गरियो । भूमिगत भीमदत्त पन्तलाई भारतीय सेना नेपाल भित्रिएर उनको हत्या गरे । नेपालमा सच्चा देशभक्त तथा सांस्कृतिक योद्धाहरु महाकवि देवकोटा, सिद्धिचरण श्रेष्ठ गोपालप्रसाद रिमाल, दान खालिङ, धरणीधर कोइराला, महानन्द सापकोटा, गोकुल जोशी, केवलपुरे किसानलाई सह्य भएन ।
अधुरो क्रान्तिप्रति देवकोटाले लेखे– ‘म क्रान्तिको भोको छु,
क्रान्तिले मेरो छाक टार्न अझ बाँकी नै छ ।’
दरबार र दिल्ली धाउने नेताहरूलाई उनी भन्छन्–
‘प्रजातन्त्रको ढवाङ्ग रित्तो करायो,
जमाना अनौठो नयाँ आज आयो ।’
२००७ सालको क्रान्तिपछि पनि जनता पुरानै सामन्तवादको थिचोमिचोमा रहे । देवकोटा पनि आर्थिक संकटको भूमरीबाट बाहिर निस्कन सकेनन् । त्यस्तै अर्का साहित्यकार गोपालप्रसाद रिमाल इतिहासप्रति अन्याय भयो भनेर नयाँ सडकको पेटीमा यत्रतत्र खुट्टा बजार्दै विक्षिप्त भएर हिड्न थाले । उनी आशावादी थिए–
‘एक जुगमा एकदिन एकचोटि आउँछ,
उलट–पलट, उथल–पुथल, हेरफेर ल्याउँछ ।’
नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सघाउन साँस्कृतिक योद्धा दान खालिङ (२४ वर्षे) पनि जीवन–मरणको ख्याल नगरी नेपाल हामिन आउनु भएको थियो । आन्दोलन भने सामन्तकै हातमा थियो र साँच्चो योद्धा पूर्णबहादुर राईको हत्या भएको थियो । सचेत खालिङ सरले यो यथार्थ र कुण्ठा बोकेर दार्जीलिङ फर्किनुभयो । उहाँले कवि वीरेन्द्र सुब्बा (१९८२) र उहाँ समेतको सहलेखनमा ‘एकान्त (२००७)’मा ११ वटा कविताहरू प्रकाशित गर्नुभएको छ । यी कविताहरूमा नेपाली क्रान्तिलाई विम्वमा उतार्नु भएको छ भन्ने सुनेको छु, तर पुस्तक अप्राप्य छ । मलाई लाग्छ उहाँको सिङ्गो जीवन शिक्षणमा बित्यो । उहाँभित्र २००७ सालको क्रान्तिपछि राजनीतिप्रति ठूलो कुण्ठा थियो । धुलाबारी क्याम्पसमा वि.सं. २०४८ सालदेखि २०५९ सालसम्म अध्यापन गर्नुभयो । उहाँसँग पटक–पटक भेट भइरहँदा पनि राजनीतिबारे थोरै पनि चर्चा गरेको सुनिएन । दुई घण्टा पढायो अनि तुरुन्त बिर्तामोड डेरातिर लाग्नुहुन्थ्यो । भर्खरै सफल भएको २०४६ सालको आन्दोलन र जनयुद्ध (२०५२)बारे उहाँको कहिल्यै कतै टिप्पणी सुनिएन ।
शिलगढीमा नेपाली भाषा र साहित्यको उन्नयनमा प्रवृत्त
दान खालिङ सरले दार्जीलिङबाट अंग्रेजी साहित्यमा एम.ए. उत्तीर्णपछि उहाँले दार्जीलिङको ‘सुके पोखरी’मा निकै बर्ष अध्यापन गर्नुभयो । उहाँ त्यो बेला ख्रिश्चियन धर्मालम्वी हुनुहुन्थ्यो । उहाँको परिवार परम्परागतरुपले पुस्तौनी ख्रिश्चियन धर्मालम्बी थियो । ‘सुके पोखरी’ मा अध्यापन गर्दा सन्तवीर लामाको छोरा केशरबहादुर लामालाई पनि पढाउनु भएको थियो । त्यहाँ खालिङ सरले कति बर्षसम्म पढाउनु भयो अज्ञात नै रह्यो । २०२९÷०३० सालतिर बहिनी जुवाइको आडभरोस होला भन्ने सम्झेर शिलगढी दुर्गागढी (हाल शास्त्री नगर)मा डेरा गरी बस्नु भएको थियो । मित्र सोमराज ‘अभय’ २०२९ सालमा ‘सुमेरु प्रेस’ (हाल ग्राफिक प्रेस)मा काम विशेषले जाँदा दान खालिङ प्रेसमा शुद्धाशुद्धी हेर्ने र प्रुफ रिडिङ गर्ने कर्मचारीका रुपमा हुनुहुन्थ्यो । वि.सं. २०३२÷०३३ सालतिर दान खालिङ प्रधान नगरमा अवस्थित डा.आइ.बी.थापाको टिनको छाना भएको घरमा बस्न थाल्नुभयो । पुरानो परिचय भएको आइ.बी.थापाको श्रीमती भी थापालाई सर भाउजु भन्नुहुन्थ्यो । त्यो घर भएको स्थानमा झण्डै थापा परिवारको एक विगाह जमिन थियो । त्यहाँ खालिङ सरले इन्द्र इङ्लिस स्कूल स्थापना गर्ने विचार गर्नुभयो र भाउजु थापाको स्वीकृती लिनुभयो । त्यो बेला साहित्यकार युवराज काफ्ले, उहाँहरुकै मित्र सन्तोषकुमार राई र साहित्यकार भीमलाल सापकोटाको नामबाट ‘युसमी’ नामबाट ‘सिबुक रोड’मा एउटा प्रेस चल्दै थियो ।
एकदिन दान खालिङ सर अंग्रेजी स्कूल स्थापना गर्ने विज्ञापन प्रकाशन गर्न आउनुभयो । उहाँसँग २०२९ सालमा ‘सुमेरु प्रेस’मा कर्मचारीको कार्य गर्दा नै युवराज र भीमलाल मित्रद्वयको परिचय थियो । प्रधान नगर तथा शिलगढी शहरमा नेपालीहरूको बसोबास बढ्दै गएकाले अब ‘नेपाली स्कूल’ स्थापना गर्नुपर्छ र निर्णय सच्याउनुपर्छ भनी मित्रद्वयले प्रस्ताव गर्नुभयो । खालिङ सरले साहित्यकार मित्रहरूको भनाइलाई स्वीकृत गर्नुभयो । डा.आइ.बी.थापाकी श्रीमती भी थापाले केही शर्त राखी अनुमोदन गर्नुभयो । एक, दान खालिङ कम्तीमा एक वर्ष प्र.अ.को रुपमा रहनुपर्ने । दुई, सञ्चालक समितिको अध्यक्ष केशरबहादुर लामा (सन्तबीर लामाको छोरा) रहनु पर्ने । खालिङ सरले केशरलाई ‘सुके पोखरी’ मा पढाउनु भएको थियो । त्यो विद्यालयको सञ्चालक समितिको सचिव युवराज काफ्ले र कार्यकारी सदस्यमा भीमलाल सापकोटा रहनु भएको थियो ।
त्यो विद्यालयले स्वीकृती नपाएकाले हेड मास्टर तथा शिक्षकहरूको तलब समुदायबाटै उठाउनु पथ्र्यो । खालिङ सरले त्यो विद्यालयमा एक वर्ष पढाउनुभयो र साधारण शिक्षकमा बस्ने मनसाय प्रकट गर्दै राजीनामा दिनुभयो । तर २०३४ सालमा त्यो पब्लिक स्कूललाई जिल्ला शिक्षा अधिकारीले सरकारी विद्यालयको रुपमा मान्यता दियो । दान खालिङ सरले भने त्यो विद्यालयमा निरन्तर अध्यापन गर्दै रहनुभयो । २०३४ सालमा नै शिलगढीमा ‘नेपाली भाषा प्रचार समिति’ संस्थाको गठन भयो । यसको संस्थापक अध्यक्ष आइ.बी.थापा, सदस्यहरु दान खालिङ, युवराज काफ्ले र भीमलाल सापकोटा रहनुभएको थियो । त्यो प्रचार समितिले नेपाली भाषा र साहित्यको निरन्तर आन्दोलनले बंगालमा साहित्य भूषण, १२ कक्षासम्मको अध्ययन, साहित्य अलङ्कार, बी.ए., साहित्य शेखर (एम.ए.) उपाधि तह अध्ययन गर्ने वातावरण तयार ग¥यो । समिति बाहिरै बसेर भएपनि साहित्यकारहरू असित राई, कुमार सुब्बा, हर्क गुरुङ आदिको साथ र समर्थन रह्यो । साहित्य वारिधिको परीक्षा सञ्चालनमा दान खालिङको महत्वपूर्ण योगदान थियो । खालिङ सरको आइ बी स्कूलको प्रगति र उन्नतिमा ठूलो योगदान छ र त्यस्तै नेपाली भाषा र साहित्यको प्रचारमा पनि । उहाँ आर्थिक प्रलोभनमा नफस्ने साँचो योगी हुनुहुन्थ्यो । दार्जीलिङमा रहँदा ख्रिश्चियन हुनुहुन्थ्यो र शिलगढी आएपछि आफू सचेत व्यक्तित्व भएकाले धर्म निरपेक्षतालाई अङ्गीकार गर्नुभयो । अब दानियल नामलाई दान बनाउनुभयो र अब नाम ‘दान खालिङ’ लेख्न रुचाउन थाल्नुभयो ।
‘नेपाली भाषा साहित्य प्रचार समिति’को आन्दोलनकै क्रारण ‘नर्थ बङ्गाल युनिभर्सिटी’मा नेपाली एम.ए.को कक्षा सञ्चालन स्वीकृति भएको थियो । डा.पारसमणि प्रधानले पाठ्यक्रमको निर्माण गर्नुभएको थियो । त्यो कार्यमा ‘नेपाली भाषा र साहित्य प्रचार समिति’लाई पनि सामेल गरिएको थियो । आइ.बी.थापाको निधनपछि दान खालिङ सर नेपाली भाषा साहित्य प्रचार समिति’को अध्यक्ष बन्नुभएको थियो ।
राजनीतिक कुण्ठा बोकेका योगी खालिङ सर
दान खालिङ सरको सिङ्गो जीवन नितान्त योगीको जस्तै थियो । उहाँ जीवनभर अविवाहित रहनुभयो । उहाँलाई भोगवादी जीवन रुचीकर थिएन । उहाँ श्रमजीवी जनता सरह बाँच्न चाहनुहुन्थ्यो । कहिले प्रेसमा त धेरै बर्ष शिक्षणमा बिताउनुभयो । उहाँ श्रमजीवी जनताको मुख–पात्र हुनुहुन्थ्यो । उहाँले दार्जीलिङ, शिलगढी र नेपालमा विभिन्न कालखण्डमा यायावरीय जीवन बिताउनुभयो । उहाँले शिक्षण कार्य गरेर दक्ष शिक्षकको रुपमा दर्ज हुनुभयो । धुलाबारी क्याम्पसमा उहाँले २०४८–२०५९ सालसम्म अध्यापन गर्नुभयो । धुलाबारीमा अध्यापन शुरु गर्दा उहाँको उमेर ६५ वर्ष थियो र ७६ वर्षको बृद्धकालमा त्यहाँ अध्यापन छोड्नु भयो । उहाँ बिहान सखारै धुलाबारी क्याम्पसमा दुई पिरियड र त्यसपछि विर्तामोडको लिटल फ्लावरमा अध्यापन गर्नुहुन्थ्यो । उहाँले आफ्नो डेरा लिटल फ्लावर बोर्डिङ्ग स्कूलकै छेउमा व्यवस्थापन गर्नुभएको थियो । ७६ सालको बृद्ध अवस्थासम्म चक र डस्टरमा बाँच्नुभयो ।
उहाँले २०४६ सालको जन–आन्दोलनको उपलब्धी र २०५२ सालको माओवादी द्वन्दको विद्रुप अनुहार देख्नुभयो । तर, उहाँले टिप्पणी गर्न कुनै चासो देखाउनु भएन । चक र डस्टरमा बाँच्नुपर्ने मनुवाले कुनै चासो राख्नु उहाँले उचित ठान्नु भएन । विशिष्ट साहित्यकार गोपालकुमार बस्नेतको ‘आफ्नै सेरोफेरो भित्र’ (निबन्ध संग्रह)मा साहित्यकार दान खालिङले ‘श्री गोपालकुमार बस्नेतका लेख’बारे केही शब्द लेख्नु भएको छ । खालिङ सरले गोपालजीको भनाइलाई जस्ता त्यस्तै प्रस्तुत गर्नुभएको छ । तर, व्याख्यात्मक टिप्पणी राख्नमा होसियार रहनु भएको छ । २००७ सालको अधुरो प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभएका खालिङले अधुरो क्रान्तिको बेइमानीलाई नजिकबाट हेर्नु भएको थियो । इतिहास भूपालमान सिंह र भैरवप्रसाद आचार्यको मात्र लेखिदोरहेछ । तर, मास्टर पूर्णबहादुर राई जस्ता देशभक्तको निर्मम हत्या र उनको रगतमा उभिएको प्रजातन्त्रले के देला र ?
त्यसैले उहाँ भन्नुहुन्छ– गोपालजी संवेदनशील र शालीन व्यक्तित्वको धनी हुनुहुन्छ । संवेदनशीलता बस्नेतजीको अन्तरवेदना हो । खालिङ सर भन्नुहुन्छ– ‘संवेदनशील व्यक्तित्व सक्रिय राजनीतिमा लागिरहन सक्छन् भनी ठोकुवा गर्न सकिन्न ।’ नेपालका नेताहरूसँग आजित भएर लेखक गोपालजी भन्नुहुन्छ– ‘मृत्यु पनि राजनीति रहेछ ।’ हो नेपालमा हाल मृत्युको राजनीति भएको अनुभूति हुन्छ ।
‘तीखोको अनुभूति भएको मान्छेले कुनै नेता विशेष वा कुनै विशेष व्यक्तिको लागि राजनीति गर्न सक्दैन ।’
‘कुनै व्यक्तिले, कुनै एउटा परिवारले वा कुनै एउटा गुटले राजनीति पेवा पारेको सहन सकिने कुरै होइन ।’
‘आफू राजनीतिक सचेत कार्यकत्र्ता नभएर नेता वा व्यक्तिको पिछलग्गू नेतालाई राजनीतिज्ञ नभनेर राजनीतिकार भनिन्छ ।’ (सि.के प्रसाईं)
‘म अहिले साँच्चै मेरा नेता जस्तै अपाङ्ग भएको छु ।’
‘बल्ल बल्ल आएको प्रजातन्त्र हाम्रै कारणले अपाङ्ग भएको छ । यी अपाङ्गहरूको यात्रा कहाँ गएर टुङ्गिने हो ?’
लेखक बस्नेतको लेखहरुमा मन रोएको छ । उहाँ नेताहरुसँग थाकिसक्नु भएको छ । लेखकको निचोढ छ– ‘यथार्थमा जसमा त्यागको भावना छैन र सबैलाई समान देख्ने आँखा र क्षमता छैन, त्यो नेता हुन सक्दैन ।’ दान खालिङ सरको यी सबै भनाइहरुमा सहमती छ । उहाँले लेखकको भनाइलाई जस्ता त्यस्तै राखेर त्यसको व्याख्यात्मक टिप्पणी गर्न फारुतिनो गर्नुभएको छ । इतिहासको पुरानै पुनरावृत्ति भएको देशमा चक र डस्टर हुने व्यक्ति सुरक्षित होला र ? खालिङ सरलाई आफ्नै वरिपरि मृत्यु र लासका डङ्गुर झलझली देखा परिरहेको छ । गोपालजीका सबै निबन्धहरूलाई सान्त्वना दिन खुशवन्त सिंहले उध्दृत गरेको प्रार्थना सम्झाउनुहुन्छ–
‘हे भगवान् हामीलाई मान्छे दिनुहोस्
यस्ता मान्छे जसलाई दर्जाको लालसाले नमरोस्
त्यस्ता मान्छे जसलाई दर्जाको आधारमा गर्न सकिने लुटले किन्न नसकोस्
त्यस्ता मान्छे जसका धारणा होस् र इच्छा होस्
त्यस्ता मान्छे जसमा मर्यादा–प्रतिष्ठा होस् जसले नढाँटून् ।’
नेपालबाट भारत फर्केपछि वहिनी जुवाइकोमा रहनुभयो होला । गोपालीजीको कृतिमाथि यी दुइ शब्द उहाँले २०६१ सालमा लेख्नु भएको हो । नसूह दाइ र म उहाँलाई भेट्न २०७३ सालको बैशाख मसान्तमा जाँदा बहिनी जुवाइकै घरमा हुनुहुन्थ्यो । पछि उहाँ निकै साह्रै विरामी भएपछि आफन्तहरूले उपचारका लागि दार्जिलिङ लगिएको थियो । उपचार सम्भव भएन । उमेर निकै पाको भइसकेको थियो । आखिर ‘नेपाल र नेपाली’ लाई सम्मान गर्ने उहाँको २०७३ साल भदौ महिनामा (सेप्टेम्बर ५) मा ९० वर्षको उमेरमा दुःखद् निधन भएको थियो ।