गाउँको मन र माटोका मान्छे ‘दङ्गाल बा’ अब रहेनन्

0
652

विनोद सापकोटा,

शिवशताक्षी–११, झापा गाउँमा शोकसन्ताप प¥यो भने अरु गाउँलेले पछि सोच्लान्, तर उनी एकै छिनमा योजना बनाएर सधैं अघि सर्थे । बाँस काट्नेदेखि लास बाँध्नेसम्म । मलामीको खाजा व्यवस्थापनदेखि सूचना प्रवाहसम्म । एक जना ‘दङ्गालबा’ पुग्नासाथ सबै काम स्वतः मिल्थ्यो । तर अब ती सबैको आस्थाको केन्द्र, सहयोगको पहिलो व्यक्ति, ६४ वर्षीय पुष्पलाल दङ्गाल अब यो संसारमा रहेनन् । गाँउले भन्छन्, ‘अरुको शव यात्रामा एकोहोरो लामो स्वारले शंख फुक्ने दंगालबाको शंख कसले फुक्ने ?’

सोमबार बिहान गाउँमै केही छरछिमेकसँग खेतीपाती, खडेरी र समसामयिक राजनीतिका विषयमा गफ गर्दै थिए । अचानक भने, ‘मेरो त मुटु दुख्यो ।’ छाती समाउँदै घर आए । अवस्था गम्भीर बन्दै जाँदा उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको जीवनले साथ छाड्यो ।

यो खबर गाउँमा अति छिटो फैलियो । स्न्ने सबैलाई स्तब्ध बनायो । आँखाबाट आँसु नझर्ने मान्छे पनि यो खवर सुनेर रोए । उनिहरुका आँखा रसाए । ‘दंगाल बा’ का छिमेकी डिल्लीरमण खतिवडा जो स्वयं पूर्व शिक्षक र साविक सतासीधाम–६ का वडाध्यक्ष हुन् । उनि भन्छन्, ‘गाउँमा योभन्दा ठूलो क्षति अरु केही हुन सक्दैन । म मर्दा पनि गाउँ यस्तो शोकमा नहोला जस्तो लाग्छ ।’

गाउँमा जसको घरमा पनि दुख प¥यो भने, उनी बिना अन्त्येष्टि प्रक्रिया अपूरोजस्तै लाग्थ्यो । बाँस काट्ने, टिला भेला पार्र्नेे, धान भुट्ने, शव बाँध्ने, मलामी मिलाउने, क्रियापुत्रीको खानपान र बसोबासको व्यवस्था गर्ने यी सबै कुरामा उनी सधैं अगाडि देखिन्थे । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल भन्छन्, ‘यस्तो अद्भुत क्षमताका मान्छे सायदै गाउँमा होलान् । एक जना थिए । सधैका लागि अस्ताए ।’

उनीसँग एउटा मात्र खुकुरी सधै कम्मरमा हुन्थ्यो । यो बाहेकका अन्य घरेलु हतियार केही हुन्नथियो । यही खुकुरीको भरमा उनी गाउँको सबै रीतिरिवाज पुरा गर्थे । सुत्ने बेलामा कम्मरबाट निकाल्ने खुकुरी सधैका लागि अब निस्कियो ।

पाँचथरको तत्कालीन नागी (हालको याङरुप) गाउँबाट विसं २०५४ सालमा बसाइँ सरेर साविकको सतासीधाम ६ नहरचोकमा आएका उनले २८ वर्षमै स्थानीय समुदायमा यस्तो योगदान दिए कि हालको शिवसताक्षी नगरमा करिब ७५ प्रतिशत भू–भागमा उनी चिनिएका छन् ।

साथी संगी, इष्टमित्र र छरछिमेकका लागि उनी ‘पुष्पलाल’ होइन, ‘दङ्गालबा’ थिए । उनको नाम संगै सहयोग, हाँसो, काम अनि निष्ठाको छवि आउँथ्यो । छोरा सागर दङ्गाल भन्छन्, “अकल्पनीय घटना बेहोर्नुप¥यो । चेत नै ठिक ठाउँमा छैन । परिवार, गाउँ, टोल, र आफन्तहरूमात्र होइन, पालिका भरिका सामाजिक व्यक्ति र संस्थाहरू यस घटनाबाट स्तब्ध छन् ।

पारिवारिक स्रोतका अनुसार, ‘दंगालबा’ को अन्त्येष्टि शिवशताक्षी–७ स्थित भगवती माध्यमिक विद्यालय पूर्वको ढकालपुर नजिकै कन्काई नदीको तटीय क्षेत्रमा आज हिन्दू परम्पराअनुसार गरिनेछ ।

उहाँका श्रीमती, तीन छोरा र तीन छोरीले ‘दंगालबा’ को समर्पण, पहिचान र योगदानलाई जोगाइराख्ने दृढ अठोट लिएका छन् । दङ्गालबा अब रहेनन्, तर गाउँभरि जोकोहीले उनलाई सम्झँदा आँखाभरि आँसु झार्छन र मनमा एउटा शब्द मात्र गुन्जाउँछन्, ‘अब हाम्रो गाउँ दङ्गालबाविनाको भयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here