महिनावारी, महिला र मानसिक तनाव

0
13

महिनावारी महिला जीवनमा हुने प्राकृतिक, अनिवार्य र जैविक मासिक प्रक्रिया हो । किशोरावस्थामा प्रवेश गरेसँगै महिलाको शरीरमा हर्मोनको प्रभावका कारण गर्भाशयबाट महिनामा एकपटक रक्तस्राव हुने प्रक्रिया शुरु हुन्छ, जसलाई हामी महिनावारी भन्छौं । सामान्यतयाः यो प्रक्रिया १२ देखि १५ वर्षको उमेरमा शुरु भएर ४५ देखि ५० वर्षसम्म निरन्तर रहन्छ । महिलालाई गर्भधारणका लागि शारीरिक रूपमा तयार पार्नु महिनावारीको मुख्य उद्देश्य हो । यसले शरीरलाई स्वच्छ, सन्तुलित र स्वस्थ राख्न मद्दत गर्छ ।

महिनावारी कुनै रोग, दोष वा अशुद्धता होइन, बरु महिलाको स्वास्थ्य र जीवन चक्रसँग प्रत्यक्ष जोडिएको प्राकृतिक अवस्था हो । तर दुर्भाग्यवश, हाम्रो समाजमा महिनावारीलाई अझै पनि अपवित्रता, अशुद्धता र लाजसँग जोडेर हेरिन्छ । महिनावारी हुनु महिलाका लागि संसारकै सबैभन्दा सुन्दर र अहोभाग्यपूर्ण जैविक क्षमता हो भन्ने बुझाइ अझै व्यापक रूपमा स्थापित हुन सकेको छैन । यसको सट्टा, महिनावारी भएका बेला महिलालाई भान्सामा नजानु, धार्मिक कार्यबाट टाढा राख्नु, अरूसँग नछुनु जस्ता प्रतिबन्ध लगाइन्छ । कतिपय ठाउँमा अझै पनि छाउपडी जस्ता अमानवीय प्रथाले निरन्तरता पाइरहेका छन्, जसका कारण महिलाले ज्यान गुमाउनुपरेका घटना समेत छन् ।

महिनावारीसँग जोडिएको लाज, डर र पारिवारिक तथा सामाजिक दबाबले महिलाको मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । विशेषगरी किशोरी अवस्थाका छात्राहरूमा महिनावारी शुरु हुनु भनेको शारीरिक परिवर्तनसँगै मानसिक द्वन्द्वको शुरुवात पनि हो । धेरै किशोरीहरू महिनावारीको समयमा आफैंलाई तनावग्रस्त महशुस गर्छन् । विद्यालयमा महिनावारीबारे खुलेर कुरा नगर्ने संस्कार, सरसफाईको पर्याप्त सुविधा नहुनु र साथीसँग समेत लुकाउनुपर्ने अवस्थाका कारण उनीहरूको पढाइ समेत प्रभावित हुने गरेको पाइन्छ । कतिपयले महिनावारीकै कारण विद्यालय जान छाड्ने, कक्षामा ध्यान दिन नसक्ने र आत्मविश्वास गुमाउने अवस्था भोग्छन् ।

महिनावारीका बेला आराम, पोषणयुक्त खाना र व्यक्तिगत सरसफाई अत्यन्त आवश्यक हुन्छ । तर, लापरवाही वा जानकारीको अभावका कारण संक्रमण, प्रजनन स्वास्थ्य सम्बन्धी समस्या र दीर्घकालीन जटिलता देखिन सक्छ । यस्ता शारीरिक समस्या मानसिक तनावका कारण पनि बन्छन् । जब महिलाले आफ्नो शरीरका आवश्यकता माथि ध्यान दिन पाउँदैनन्, तब उनीहरूमा चिडचिडापन, निराशा र आत्मग्लानीको भावना बढ्न सक्छ ।

परम्परागत सोच, अन्धविश्वास र धार्मिक ग्रन्थहरूको गलत व्याख्याका कारण महिलाले महिनावारीको समयमा विभिन्न किसिमका भेदभाव र प्रतिबन्ध सहनु परेको छ । पुरुष प्रधान समाजमा महिला सम्बन्धी विषयमा खुलेर कुरा नगर्ने चलनले महिनावारीलाई अझै गोपनीयताको घेराभित्र थुनेको छ । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका गलत मान्यताले महिनावारीलाई छाउप्रथा जस्ता अमानवीय अभ्याससम्म पु¥याएको छ ।

महिलालाई ‘सहनशील हुनुपर्छ’ भन्ने मानसिकता सानैदेखि विकास गराइन्छ । यसले गर्दा किशोरावस्थाका बालिकाहरू सामाजिक जवाफदेहिता र परिवारको दबाबका कारण मानसिक यातना भोग्न बाध्य हुन्छन् । उनीहरूले आफ्ना समस्या, पीडा र डर कसैसँग व्यक्त गर्न सक्दैनन् । कतिपय समुदायमा महिनावारी भएको बेला देवता रिसाउने, अशुभ हुने वा घरमा नकारात्मक असर पर्ने विश्वास गरिन्छ । यस्ता मान्यताहरू पूर्ण रूपमा अन्धविश्वास हुन्, जसको कुनै वैज्ञानिक आधार छैन ।
महिनावारीको समयमा शरीरमा विभिन्न लक्षण देखिनु सामान्य हो । पेट दुख्ने, ढाड दुख्ने, स्तन कडा हुने र दुख्ने, कब्जियत हुने, डन्डिफोर आउने, थकान महशुस हुने जस्ता लक्षण धेरै महिलामा देखिन्छन् । यी सामान्य लक्षणहरू भए पनि सही हेरचाह नगरेमा पीडा बढ्न सक्छ ।
महिनावारीका बेला पेटमा तातो पानीको सेक (हट ब्याग) राख्दा पीडा कम गर्न सहयोग पुग्छ । तातो पानी पिउने, चिया, सुप, गेडागुडीको झोल तथा हरिया सागसब्जी प्रशस्त खाने गर्नुपर्छ । हलुका व्यायाम, जस्तै हिँडडुल वा स्ट्रेचिङले पनि शरीरलाई सहज बनाउँछ । खाने र सुत्ने समय नियमित राख्नु अत्यन्त जरुरी हुन्छ, नत्र महिनावारी अनियमित हुने वा थप समस्या देखिन सक्छ ।
धेरै महिलामा महिनावारी हुनुभन्दा करिब एक साता अगाडिदेखि नै सानो कुरामा चित्त दुख्ने, मुडस्विङ हुने, चिडचिडापन बढ्ने, रुन मन लाग्ने जस्ता मानसिक लक्षण देखिन्छन् । यस अवस्थालाई ‘प्रिमेन्स्ट्रुअल सिन्ड्रोम (एःक्)’ भनिन्छ । यो पनि सामान्य अवस्था हो, तर परिवार र समाजले यसलाई बुझेर सहयोगी भूमिका खेल्न सके महिलाको मानसिक बोझ धेरै हदसम्म कम हुन सक्छ ।
महिनावारी नारी जीवनको कमजोरी होइन, बरु जीवन सृष्टिको आधार हो । यस यथार्थलाई आत्मसात् गर्दै परिवार, समाज, विद्यालय र सञ्चारमाध्यमले महिनावारीलाई स्वाभाविक विषयका रूपमा प्रस्तुत गर्नुपर्छ । विद्यालयस्तरदेखि नै महिनावारी र प्रजनन् स्वास्थ्यबारे वैज्ञानिक र व्यवहारिक शिक्षा दिन आवश्यक छ । परिवारमा आमाबुबाले छोरीसँग खुला रूपमा कुरा गर्ने वातावरण बनाउनुपर्छ ।
समाजले महिला माथि थोपारिएका गलत मान्यता र विभेद हटाउन सामुहिक प्रयास गर्नुपर्छ । सञ्चारमाध्यमले पनि महिनावारीलाई लाजको विषय होइन, स्वास्थ्य र अधिकारसँग जोडिएको विषयका रूपमा प्रस्तुत गर्न सक्छ । राज्यले छाउपडीजस्ता कुप्रथाको अन्त्यका लागि कानून मात्र होइन, प्रभावकारी कार्यान्वयन र जनचेतनामा जोड दिनुपर्छ ।
अन्ततः महिनावारीलाई सामान्य मानवीय प्रक्रिया भनेर स्वीकार नगरेसम्म महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने नकारात्मक असर रोक्न सकिँदैन । महिलाले सम्मान, सुरक्षा र आत्मसम्मानका साथ महिनावारी व्यवस्थापन गर्न पाउने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो । महिनावारीसँग जोडिएको मानसिक तनाव कम गर्न समाजको सोच परिवर्तन नै सबैभन्दा प्रभावकारी औषधि हो ।

लेखक  : बाल्मीकि एजुकेशन फाउण्डेशनकी शिक्षक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here