भद्रपुर ।

झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा नमुना संयुक्त राष्ट्र संघको अभ्यास कार्यक्रम (बीएमएमयूएन–२०२६) सुरु भएको छ ।
भद्रपुर नगरपालिका नगर युवा परिषद्ले आयोजना गरेको तेस्रो नमुना संयुक्त राष्ट्र संघ अभ्यास कार्यक्रमको आज एक कार्यक्रमका बीच भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन ।
नगर युवा परिषद्का पदाधिकारीहरूले यस्ता कार्यक्रमले युवामा अन्तर्राष्ट्रिय विषयप्रतिको चासो बढाउनुका साथै नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको नगर प्रमुख पोखरेलले बताए । परिषद्का कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले अध्यक्षता तथा नगर प्रमुख पोखरेलको प्रमुख अतिथिमा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, मेची बहुमुखी क्याम्पसका प्रमुख देवीप्रसाद आचार्य लगायतले आआफ्नो धारणा राखेका थिए ।
‘भद्रपुर मुनिसिपालिटी मोडल युनाइटेड नेशसन कार्यक्रम विद्यार्थीहरूका लागि आयोजना गरिने एक शैक्षिक अभ्यासमूलक कार्यक्रम हो । जहाँ उनीहरूले संयुक्त राष्ट्र संघको संरचना र कार्यशैली अनुसार विभिन्न देशका प्रतिनिधिको भूमिका निर्वाह गर्छन्। कार्यक्रममा सहभागी विद्यार्थीहरूले जलवायु परिवर्तन, मानव अधिकार, शान्ति तथा सुरक्षा, आर्थिक विकास लगायतका समसामयिक विश्व समस्यामाथि छलफल, बहस तथा समाधान प्रस्ताव प्रस्तुत गर्नेछन्।
फागुन ३ गतेसम्म सञ्चालन हुने कार्यक्रमका मुख्य उद्देश्य कूटनीतिक सीप विकास, नेतृत्व क्षमता अभिवृद्धि, सार्वजनिक वक्तृत्व कला सुधार, विश्व राजनीतिबारे ज्ञान विस्तार तथा समस्या समाधान गर्ने क्षमता विकास रहेको नगर युवा परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिए ।
नमुना संयुक्त राष्ट्र संघका महासचिवको भूमिकामा सिद्धार्थ गौतम रहेका छन्। कार्यक्रम व्यवस्थापनका लागि उनीसहित ६ सदस्यीय टोली काठमाडौँबाट आएको परिषद्का कार्यकारी उपाध्यक्ष तिम्सिनाले जानकारी दिए । कार्यक्रममा १६ देखि २४ वर्ष उमेर समूहका १०६ जना सहभागी रहेको उनको भनाई छ ।






























