योगेन्द्र योगी
सुन्दरहरैचा(मोरङ),

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा प्रदेश स्तरीय अन्तर–विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०८२ दमक–६ स्थित डेलिया मन्टेश्वरी स्कुल को प्राङ्गणमा सम्पन्न भएको छ।
कार्यक्रम नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनाल को अध्यक्षता तथा दमक नगरपालिकाका मेयर राम थापा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अध्यक्ष खनालले कार्यक्रममा बोल्दै भने, “लोक संस्कृति हाम्रो पहिचानको मूल आधार हो। विद्यालयस्तरबाटै विद्यार्थीलाई आफ्नै कला, भाषा र परम्पराप्रति गर्व गर्ने वातावरण बनाउनु हाम्रो दायित्व हो। यस्ता प्रतियोगिताले प्रतिभा प्रस्फुटनसँगै सांस्कृतिक चेतना पनि फैलाउँछ।”
प्रमुख अतिथि मेयर थापाले पनि प्रतियोगिताको प्रशंसा गर्दै भने, “शिक्षा केवल पुस्तकमा सीमित हुन हुँदैन, यसले समाजको संस्कृति र मूल्यलाई पनि अघि बढाउनुपर्छ। विद्यार्थीहरूले आज प्रस्तुत गरेको नृत्यले हाम्रो समाजको विविधता र एकताको सन्देश दिएको छ, जुन अत्यन्त प्रेरणादायी छ।”

सिनियर तर्फ प्रतियोगिता डेल्टा एङ्ग्लिश स्कुल प्रथम, मोरङ ज्ञानोदय स्कुल दोश्रो, हिमालय एङ्ग्लिश स्कुल तेश्रो र इमिनिट स्कुल सान्त्वना भएका छन्।
यस्तै, जुनियर तर्फ डेल्टा एङ्ग्लिश स्कुल प्रथम, आभा एङ्ग्लिश स्कुल दोश्रो, हिमालय एङ्ग्लिश स्कुल तेश्रो र इमिनिट स्कुल सान्त्वना भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो सांस्कृतिक पहिचान झल्किने लोकनृत्य प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा सांस्कृतिक चेतना, परम्पराप्रतिको सम्मान र प्रतिभा प्रदर्शनको अवसर सिर्जना गर्नु हो। उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूले यस्ता कार्यक्रमले नयाँ पुस्तामा संस्कृति संरक्षणको भावना जागृत गराउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रिय सदस्य नारायण ढकाल, प्रदेश सदस्यहरु प्रविन प्रधान र धिरज नारायण गणेश, नेसनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, सुनसरीका अध्यक्ष खगेन्द्र केसी, मोरङका उपाध्यक्ष पर्बत राई,मोरङका सचिव भनिरुद्र चौधरी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नेसनल प्याब्सन कोशी प्रदेशका कार्यक्रम संयोजक दिपक न्यौपानेले गरेका थिए।































