विनोद सापकोटा
झापा ।

संघीय लिम्बुवान मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङसहित २८३ जनाले पार्टी प्रवेश गरेका छन्। २०७९ सालको प्रतिनिधि सभा सदस्य पदमा झापा ४ बाट उम्मेदवार भएका लहानसिंह तोम्बापो पनि सो पार्टीमा प्रवेश गरेका हुन्।
झापाको शिवसताक्षी नगरपालिका–झिलझिले उत्तरस्थित निर्माणाधीन बसपार्कमा सोमबार आयोजित चुनावी आमसभामा उनीहरू औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरूमा संघीय लिम्बुवान मञ्चका केन्द्रीय सदस्यहरू समेत रहेको श्रम संस्कृति पार्टीका शिवसताक्षी नगर अध्यक्ष नरविर फागो (भाग्य) ले जानकारी दिए।
पार्टी प्रवेश कार्यक्रमसँगै आयोजित सभालाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ राईले शिक्षा, कृषि र श्रम संस्कृतिमा क्रान्ति नभएसम्म नेपालमा विकास सम्भव नहुने बताएका छन्। उनले मुलुकलाई आत्मनिर्भर बनाउने आधार शिक्षा र कृषि भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेकै कारण नयाँ राजनीतिक शक्तिको उदय भएको दाबी गरे।
“शिक्षा र कृषिमा क्रान्ति नभएसम्म नेपालमा विकास सम्भव छैन,” साम्पाङले भने, “पुराना पार्टीहरूले जनताको सपना पूरा गर्न सकेनन्, त्यसैले नयाँ पार्टी जन्मिएको हो।” उनले श्रम संस्कृति पार्टी इतरका केही नयाँ दलहरू विदेशी पैसाको प्रभावमा खुलेको आरोप लगाए। बिना एजेन्डा दललाई मत दिनु व्यर्थ हुने भन्दै उनले जनतालाई प्रश्न गरे, “तपाईँहरू केही कुरा सोध्नुस्, नबोलिकन घन्टी हल्लाउँदै हिँड्छन्। यस्तो पार्टीबाट देशले कसरी निकास पाउँछ?”

युवालाई खेल होइन, श्रममा जोड्ने लक्ष्य
साम्पाङले युवापुस्तालाई श्रम र उत्पादनसँग जोड्नु पार्टीको मुख्य लक्ष्य भएको स्पष्ट पारे। उनले भने, “हाम्रो पार्टीले युवालाई क्यारमबोर्ड र लुडोमा च्याम्पियन बनाउँदैन। खेलेर समय खेर फाल्ने युवा–युवतीलाई श्रममा लगाउनु हाम्रो उद्देश्य हो।”
उनले दाबीका साथ भने, “यदि हामीले चुनाव जित्यौं भने क्यारमबोर्ड र लुडोमा च्याम्पियन बनेका युवा श्रममा समाहित हुनेछन्। बाँझो खेत हरियो हुनेछ। विदेशमा पसिना बगाएका युवा पनि नेपाल फर्किएर श्रममा संलग्न हुनेछन्।”
उनले श्रम संस्कृतिको विकासले मात्रै मुलुकलाई समृद्ध बनाउने तर्क गरे। श्रमबाट पैसा कमाइने र त्यसले मानिसको जीवनस्तर उकासिने भएकाले व्यक्ति समृद्ध भएपछि देश आफै समृद्ध हुने उनको भनाइ थियो।
व्यवहारिक शिक्षा आवश्यक
साम्पाङले शिक्षा प्रणालीलाई आधुनिक र व्यवहारिक बनाउनुपर्नेमा जोड दिए। विद्यार्थीलाई सीपमूलक बनाउनुपर्ने बताउँदै उनले उदाहरण दिए, “सर्टको बटन लगाउन नजान्ने, जुत्ताको लेस बाँध्न नजान्ने विद्यार्थीलाई आधुनिक र व्यावहारिक शिक्षा दिनुपर्छ। त्यसले उनीहरूको जीवनमा आमूल परिवर्तन ल्याउँछ।”
उनले शिक्षा प्रणालीमा आमूल सुधार गर्दै हप्तामा तीन दिन मात्र विद्यालय सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारे। बाँकी चार दिन विद्यार्थीलाई श्रममा संलग्न गराउनुपर्ने उनको धारणा थियो।
कृषिबाट चमत्कार सम्भव
साम्पाङले कृषिबाट नेपालमा ठूलो परिवर्तन सम्भव रहेको दाबी गरे। बाँझो खेतलाई समयअनुकूल खेतीमा प्रयोग गरे नेपाल भारतबाट परनिर्भर हुनुपर्ने अवस्था नआउने उनले बताए।
उनले किसानमैत्री कानुन, समयमा मल–बिउ, सिँचाइको व्यवस्था र उत्पादनको बजार सुनिश्चित गर्न सके विदेश जाने नेपाली रोक्न सकिने उल्लेख गरे। “यदि किसानलाई आवश्यक सुविधा र सम्मान दिने हो भने विदेशमा कोही नेपाली जानुपर्दैन,” उनले भने।
भ्रष्टाचारविरुद्ध कठोर चेतावनी
भ्रष्टाचारप्रति कठोर चेतावनी दिँदै साम्पाङले श्रम संस्कृति पार्टीबाट निर्वाचित सांसद वा नेताले भ्रष्टाचार गरेको प्रमाण भेटिए जनताले कडा कारबाही गर्नुपर्ने बताए।
झापा–४ बाट उम्मेदवार बनेकी अमृता देवी राईको उदाहरण दिँदै उनले भने, “यदि भ्रष्टाचार गरेको थाहा पाउनुभयो भने बिजुलीको पोलमा बाँधेर पिट्नुहोस्।” उनले पार्टी अध्यक्ष केशव भण्डारीले भ्रष्टाचार गरे पनि त्यस्तै कारबाही गर्न आग्रह गरे।
उनले आफू पनि सत्यवादी भएको भन्दै भ्रष्टाचार वा झुट बोलेको प्रमाण भेटिए आफूलाई समेत बाँधेर कुट्न जनतालाई खुला चुनौती दिए। “म ढाँट्दिन, ढाँट्नु अपराध हो,” उनले भने।
घन्टी चिन्हमाथि आलोचना
साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै घन्टी चिन्हसँग कुनै स्पष्ट भिजन नभएको आरोप लगाए। “माटोसँग मुलुकको माया र राष्ट्रियता जोडिएको छ,” उनले भने, “यो देश विदेशीको हातमा दिनुभन्दा म मर्छु, तर स्वाधीनता सुम्पिँदिन।”
उनले मतदातालाई “अञ्जुलीभरिको माटो” अर्थात् आफ्नो पार्टीलाई मत दिन अपिल गरे। सभामा साम्पाङले बोलेका प्रत्येक वाक्यमा समर्थकहरूले ताली बजाउँदै हुटिङ गरेका थिए। उनले ठूला राजनीतिक दलहरूबारे खास टिप्पणी नगरे पनि भाषणको अधिकांश समय राष्ट्रिय स्वतन्त्र पार्टी र वर्तमान राजनीतिक अवस्थामाथि केन्द्रित रहेको सहभागीहरूले बताएका छन्।
आमसभामा श्रम संस्कृति पार्टीले झापा–४ मा आफ्नो प्रभाव बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा जनताले परिवर्तनका लागि साथ दिने विश्वास व्यक्त गरेको छ।


























