झापामा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

0
6

झापा,  झापामा १६ औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा गौरादहस्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो। 

विद्यालय परिसरमा आयोजित उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतियोगिताको उद्घाटन गरे। उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशका १४ वटै जिल्लामा आगामी वर्षदेखि राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए। खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र विकास गर्न यस्तो प्रतियोगिता प्रभावकारी हुने बताए।

जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित समारोहमा खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक तथा सामाजिक संघ–संस्थालाई सम्मान गरिएको थियो। तेक्वान्दो प्रशिक्षक हरिबहादुर भुजेल, एथलेटिक्स प्रशिक्षक गोपाल यादव, अल्ट्राधाविका पुष्पा शेर्मा, झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा तथा संस्थागत रूपमा झापा उद्योग वाणिज्य संघलाई सम्मान गरिएको हो। सम्मान प्रमुख अतिथि मुख्यमन्त्री कार्की, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीलगायतले दोसल्ला र सम्मानपत्र प्रदान गरे। झापा उद्योग वाणिज्य संघको सम्मानपत्र महासचिव सुमन्त मौलीले ग्रहण गरे।

गौरीगञ्ज गाउँपालिकाका निवर्तमान उपाध्यक्ष तथा पूर्व खेलाडी दीपेन्द्र थापा र कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष भण्डारीले प्रतियोगिताबारे जानकारी दिए। उनले पर्याप्त बजेट अभावका बीच गौरादह नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएर प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेको बताए।

जिल्लाका १५ वटै स्थानीय तहबाट सहभागी विद्यार्थी खेलाडीले १२० स्वर्ण, १२० रजत र २४० कास्य पदकका लागि विभिन्न ६ विधामा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिए। उद्घाटनसँगै भलिबल, कबड्डी र मार्सल आर्टका खेल सञ्चालन भएको उनले बताए।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरू कोशी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट हुने जिल्ला खेलकुद विकास समिति झापाका सदस्य तथा प्रवक्ता जगन कार्कीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here