काठमाडौँ , बक्स अफिस इन्टरनेशनल ग्रुपद्वारा आयोजित ‘इन्टरनेशनल बक्स अफिस अवार्ड्स २०८२’ मा क्षितिज नाट्य प्रतिष्ठान झापाका केन्द्रीय अध्यक्ष माधव कल्पितलाई विशेष सम्मान प्रदान गरिएको छ।
झापाको बिर्तामोडमा ‘एक इट्टा अभियान’ मार्फत निर्माण गरिएको झापा नाटकघर तथा नेपाली कला, साहित्य र नाट्य विधाको विकासमा उनले पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
काठमाडौँस्थित नेपाल पुलिस क्लब मा आयोजित भव्य समारोहबीच विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टा तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा कल्पितलाई कदर–पत्रसहित विशेष सम्मान प्रदान गरिएको हो।
झापा नाटकघरलाई प्रदेशस्तरमै नाट्य कला विकासको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न उनले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउन सफल भएको आयोजकको भनाइ छ। कार्यक्रम संयोजक निरञ्जन ठाकुर (निरज) का अनुसार कल्पितले यसअघि भियतनाम सरकारबाट समेत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्।
कार्यक्रममा चलचित्र, नाटक, संगीत, पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्मान ग्रहण गर्दै अध्यक्ष कल्पितले झापा नाटकघर निर्माण आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै यसमा साथ दिने सबैप्रति आभार व्यक्त गरे। उनले यस सम्मानले आफूलाई थप प्रेरित र जिम्मेवार बनाएको भन्दै आगामी दिनमा नेपाली नाट्य क्षेत्रको विकासमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
आयोजकका अनुसार विभिन्न क्षेत्रका अग्रज तथा प्रतिष्ठित व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।






























