झापाका डेनियल बार्सिलोनामा फुटबल खेल्ने

0
495

33झापा लक्ष्मीपुरका १४ वर्षीय एक बालकले स्पेनको विश्वप्रसिद्ध फुटबल एकाडेमी बार्सिलोना फुटबल क्लबमा प्रशिक्षण लिने अवसर पाएका छन् ।
झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरका १४ वर्षीय डेनियल डेविड कटुवालले उक्त अवसर पाएका हुन् । उनी त्यो अवसरसँगै अन्तर्राष्ट्रिय फुटबल एकाडेमीमा प्रशिक्षण लिने पहिलो झापाली बनेका छन् । आगामी जुलाई १७देखि २९ सम्म उनले उक्त क्लबमा प्रशिक्षण लिने बताइएको छ । यसअघि उनले सन् २०१५को जुलाई ५देखि इंग्ल्याण्डको मेन्चेस्टरमा फुटबल प्रशिक्षण लिएका थिए । म्यानचेस्टर युनाइटेडको सकर स्कुलमा प्रशिक्षण लिएका डेनियलले त्यहाँ राम्रो प्रभाव पारेका थिए । युनाइटेड सकर स्कूलका प्रशिक्षकले उनको खेल राम्रो भएको भन्दै प्रशंसा गर्नुका साथै उनलाई ८÷१०को रेटिंग पनि दिएका थिए ।
त्यस्तै उनले थाइल्याण्डको बैंककस्थित आइ प्ले सक एकाडेमी इंग्लिस प्रिमियर लिगमा दुई महिना ब्रिटिस कोच केभिनबाट प्रशिक्षण लिइसकेका छन् । थाइलेण्डको आई–प्ले सक एकेडेमीमा प्रशिक्षण लिएका कटुवालले दुई मैत्रीपूर्ण खेलमा दुई गोल गरेका थिए भने लिगको एकमात्र खेलमा एक गोल गरेका थिए । त्यसबखत टोलीका प्रशिक्षक केभिन वाटले उनको खुलेर प्रशंसा गरेका थिए ।
हाल उनी काठमाडौंको नेशनल फुटबल एकाडेमीमा बरिष्ठ फुटबल प्रशिक्षक राजु शाक्य र हरि खड्कासँग समेत फुटबल प्रशिक्षण लिइरहेका छन् । विगत एक वर्षदेखि राजु काजी शाक्यको एकेडेमीमा प्रशिक्षणरत् कटुवाल राम्रो खेलाडी भएको फुटबल प्रशिक्षक शाक्य बताउँछन् । विदेशमा प्रशिक्षण पाएर नेपालमा आएर खेल्नु खेलाडीको विकासको लागि सहयोगी हुन्छ । यस्तो अवसरको सदुपोग गर्न सके नेपाली फुटबलले पनि राम्रो गति लिन्छ– शाक्य भन्छन् ।
डेनियल जुन २६मा नेपालबाट लन्डन जाने र त्यहाँबाट धर्मपिता डेविड भाइनालसंग स्पेनतर्फ लाग्ने र स्पेनको बार्सिलोना फुटबल क्लबमा प्रशिक्षण लिने बताइएको छ ।
स्पेनमा उनले वार्सिलोनाको युवा टिमको प्रशिक्षकबाट प्रशिक्षण लिनेछन् । यो प्रशिक्षण समय कुनै ट्रायल नभएपनि राम्रो खेलाडी भेटिएको अवस्थामा एकेडेमीमै समावेश गर्न सकिने व्यवस्था पनि रहिआएको छ । दुई हप्ते प्रशिक्षण दौरानमा खेलाडीले बार्सिलोनाको सिनियर टिमले प्रयोग गर्ने सुविधा प्रयोग गर्दै उनीहरुको प्रशिक्षण शैलीबारे पनि बुझ्न पाउनेछन् ।
आफ्नो छोराको सपना साकार हुन कुनै कसर बाँकी नराख्ने डेनियलका पिता निल डेबिड कटवाल बताउछन् । उनी भन्छन्– ‘म आफ्नो क्षेत्रमा अब्बल हुनुमा मेरो बुवा–आमाले मेरो सपना साकार पार्न बन्देज नलगाउनु थियो र म मेरो छोरालाई पनि उसको सपना साकार बनाउन कुनै कसर बाँकी राख्दिनँ ।
यता डेनियल आफूमा भएको दक्षता र सिपलाई निखारेर दक्ष फुटबल खेलाडी बन्ने उद्देश्यले उक्त प्रशिक्षण लिन जान लागेको उनले बताउँछन् । उनी भन्छन्– फुटबल खेलको माध्यमबाट म नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहन्छु ।
इंग्ल्यान्ड र म्यानचेस्टर युनाईटेडका कप्तान वाएन रुनिलाई आफ्नो आदर्श मान्ने डेनियल एकदिन उनीहरु जत्तिकै प्रभावशाली खेलाडी बन्न चाहन्छन् । उनको खेलशैली र युवा अवस्थामै गरेको उन्नतिले डेनियल उनीप्रति आकर्षित भएको बताउछन् । मिडफिल्ड पोजिसनमा खेल्ने डेनियल आफ्नो पोजिसनमा खेल्ने वान माटाको खेल एकदम मनपर्ने बताउँछन् ।
‘हुने विरुवाको चिल्लो पात भने झैं’ डेनियलले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गतको फुटबल खेललाई समेत अघि बढाउँदैछन् । आफ्ना पिता निल डेविड कटुवाल तथा अभिभावक स्व. कृष्णबहादुर कटुवाल, तुलसा कटुवाल र बेलायती नागरिक डेबिड भाइनललाई प्रेरणाको श्रोत मान्ने डेनियलले अग्रजहरुले देखाएको बाटोलाई पहिल्याउँदै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन लागीपरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here