कालोपत्रे सडकमा माटो हालेपछि…

0
487

भद्रपुर।

झापा सदरमुकाम भद्रपुर नगर क्षेत्रभित्र अहिले कालोपत्रे सडक निर्माण कार्य धमाधम भइरहेको छ । भद्रपुर नगरपालिकाले करौडांै बजेट निकासा गरी निर्माण गरिएको कालोपत्रे सडकको गुणस्तर कस्तो छ ? ठेकेदार र उपभोक्ता समितिले इस्टीमेट अनुसार सडकको मापदण्ड पूरा गरेको छ कि छैन ? अलकत्राको गुणस्तर कस्तो छ ? सडक बनाउन अघि बेसको काम कस्तो गरेको छ भन्ने बिषयमा नगरपालिकाका प्राविधिक कर्मचारीले खासै चासो देखाएको पाइँदैन ।

निर्माण भइसकेको कतिपय सडकको कालोपत्रे उक्किन र भत्किन थालेको छ । कतिपय स्थानमा अहिले कालोपत्रे सडक निर्माणाधीन अवस्थामा रहेको छ । निर्माणाधीन अवस्थामा रहेको सडकमा ठेकेदार र उपभोक्ता समितिलाई नगरपालिकाकै प्राविधिक कर्मचारीले संरक्षण गर्दै आइरहेकोले सडकको गुणस्तरमा नगरबासीले गम्भीर प्रश्न उठाउन थालेका छन् ।

यसैक्रममा भद्रपुर–६स्थित रामअवतारको किराना पसलदेखि राजदेव साहको घर हुँदै कानाचोकबाट भानुनगर जोड्ने सडक निर्माणाधीन अवस्थामा रहेको छ । सो सडक पक्की नालासहित कालोपत्रे बनाउने नगरपालिकाको क्रमागत योजनामा परेको हो । नगरपालिकाले दुई प्याकेजमा बजेट निकासा गरेपछि उपभोक्ता समितिमार्फत सडक बनाउने काम शुरु भएको हो । दोस्रो प्याकेजको नालासहित कालोपत्रे सडक निर्माण भइसकेको छ ।

पहिलो प्याकेजमा दुवैतर्फ पक्की नाला बनिसकेकोले चालूआर्थिक बर्षमा नगरपालिकाले छुट्याएको ५५ लाख रुपैयाँको बजेटबाट राजदेव साहको घरदेखि कानाचोकसम्म करिब ३६० मिटर सडक कालोपत्रे बनाउने काम महिना दिनअघि मात्र शुरु भएको थियो । पुरानो कालोपत्रे सडकलाई छाडेर समितिले दुवै तर्फ जेसीभीले खनेर कालो माटो निकालेको थियो । निकालेको माटो कतै छेउछाउको खाली जमिनमा थुपारेको छ भने बाँकी माटो त्यहाँबाट कहाँ पुर्याइयो त्यसको अत्तोपत्तो छैन । त्यहाँबाट निस्केको पुरानो इँटाको लेखाजोखा पनि छैन । जथाभावी सडक खनेर पानी जमेको सडकको फोटोहरु सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाको दवावमा समितिले बल्ल एक महिनापछि सोमबार सडकको पहिलो चरणको बेस बनाउने काम शुरु ग¥यो । बेस बनाउन समितिले एउटा ग्रेडर मेसिन र जेसीभी प्रयोग गरेको छ ।


निर्माण कार्य भइरहेको ठाउँमा पूर्वाञ्चलकर्मीकै उपस्थितिमा नगरपालिकाको मापदण्ड विपरीत उपभोक्ता समिति र ठेकेदार पक्षले जेसीभी चालकलाई सडक छेऊमा थुपारेको माटो हाल्न आदेश दिए । सोही आदेश बमोजिम जेसीभी चालकले माटो हाल्न शुरु गरे । बेसमा माटो हाल्ने मापदण्डमै छैन, मिक्स गिटी बालुवा हाल्नुपर्ने हो । बेसमा माटो हाल्न थालेपछि पूर्वाञ्चलकर्मीले तुरुन्त सडकको मापदण्ड बुझ्न नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारलाई फोन गरे । बेसमा माटो हाल्दै गरेको अवस्थामा उपभोक्ता समितिका राजेश भण्डारी, ठेकेदार बालध्वज कार्की, नगरपालिका सव–इञ्जिनियर दिनेश कर्ण लगायतको टोली निर्माणस्थलमै थियो ।

पूर्वाञ्चलकर्मीले माटो हाल्दै गरेको फोटो र भिडियो खिच्न थालेपछि समितिका अध्यक्ष भण्डारी अत्तालिँदै जेसीभी चालकलाई माटो हाल्न बन्द गराए । हालिसकेको माटो तुरुन्त सडकबाट उठाउन अध्यक्ष भण्डारीले आग्रह गरेपछि चालकले माटो उठाउन थाले । त्यही बेला सव–इञ्जिनियर झा पनि आइपुगे । सव–इञ्जिनियर झालाई मोटा हाल्न पाइन्छ कि पाइँदैन भन्ने पूर्वाञ्चलकर्मीले राखेको जिज्ञासामा उनले माटो हाल्न नपाइने बताए । तपाई त कार्यस्थलमै हुनुहुन्छ कसरी तपाईको अगाडि बेसमा माटो हाल्यो भन्ने राखेको प्रश्नमा उनले भने– ‘यस बिषयमा मलाई थाह छैन, म त समितिको मान्छेसँग बाटोको बिषयमा गफ गर्दै थिएँ ।’ त्यस्तै समितिका अध्यक्ष भण्डारी माटो हाल्न आदेश नदिएको भन्दै पन्छिन खोजे ।

यता नगरपालिकाका इञ्जिनियर रञ्जितकारले सडकमा हालिएको माटो झिक्न आदेश दिइसकेको बताए । पहिलो बेसमा गिटी बालुवा र पुरानो सडकबाट निस्किएको कालोपत्रे मिक्स गरी काम गर्नुपर्ने हुन्छ– उनले भने– ‘माटो हाल्ने काम मापदण्ड विपरीत भएको र यस बिषयमा उपभोक्ता समितिका पदाधिकारीले ध्यान दिनुपर्ने हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here