कनकाईमा आवधिक नगर विकास योजना गोष्ठी

0
480

सुरुङ्गा ।

कनकाई नगरपालिकामा आवधिक नगर विकास योजना तर्जुमा गोष्ठी शुरु भएको छ ।

कनकाई नगरपालिकाको आयोजनामा कनकाई उद्योग वाणिज्य संघको सभाहलमा शुरु भएको तीन दिने गोष्ठीमा १ सय जनाको सहभागिता रहनेछ । सो गोष्ठीमा नगर कार्यपालिकाका सदस्यहरु, नगर सभासद्हरु, राजनैतिक दलका प्रतिनिधि, नगरभित्रका विद्यालयका प्रधानाध्यापक, नगरमा कृयाशिल प्रमुख संघसंस्थाका प्रतिनिधि, शिक्षासेवी, बुद्धिजीवी लगायतको सहभागिता रहेको छ ।

कार्यक्रममा विषयविज्ञ नेपाल सरकारका सेवानिवृत्त सचिव पूर्णचन्द्र भट्टराई, हेल्बिटास नेपालका योजनाविज्ञ जगन्नाथ अधिकारी, विज्ञहरु बद्री मानन्धर, सृजना श्रेष्ठ, मनोज चौधरी, स्मति न्यौपाने लगायतले सहजीकरण गरिरहेका छन् ।

गोष्ठीमा नगरको पञ्चवर्षीय योजना निर्माणका लागि आर्थिक विकास, उत्पादनमूलक, जनताको जीवनस्तर माथि उठाउने, रोजगारी प्रबद्र्धन गर्ने, स्थानीय स्रोत साधनको अधिकतम उपयोग, विकास–निर्माणमा सरोकारवालाको सहभागिताको सुनिश्चितता, वित्तीय अधिकारक‍ो समुचित प्रयोग, नतिजामा आधारित योजना प्रक्रिया, स्थानीय सरकारको आवधिक योजनामा लैङ्गिक समानता र सामाजिक समावेशीकरण लगायतका विषयमा छलफल गरी निचोडमा पुग्ने गोष्ठीका सहभागी कनकाई नगर कार्यपालिकाका सदस्य एवम् सामाजिक समितिका संयोजक नबलकिशोर दत्तले बताए ।

गोष्ठीको अध्यक्षता समेत गरेका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले भावी नगर कस्तो बनाउने लक्ष्यका साथ आवधिक योजना निर्माणमा जुटेको बताए । कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य माननीय हीराकुमार थापाले ब्यानर वाचन गरेर गोष्ठीको उद्घाटन गरेका थिए । मानीय थापाले विषयगत क्षेत्र किटान गरी प्राथमिकताका आधारमा योजना निर्माण गर्न सुझाव दिएका थिए ।

नगर उपप्रमुख मञ्जु प्रसाईको स्वागत मन्तव्य र प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रदेश सभा सदस्य माननीय एकराज कार्की, शिक्षासेवी डा. पुण्यप्रसाद पौडेल, कनकाई उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती, वार्ड नं. ३ का सदस्य छबि थपलिया, नेपाली कांग्रेसका युवा नेता छत्र कार्की, परामर्शदाताहरु पूर्णचन्द्र भट्टराई, राष्ट्रिय योजना आयोग योजना महाशाखाका पूर्व प्रमुख जगन्नाथ अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतम, सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल, अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, कनकाई सामुदायिक वन समूहकी सचिव मान्ता खरेल लगायतको आतिथ्य रहेको उद्घाटन कार्यक्रमको सञ्चालन नगर कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here