विर्तामोडमा नगरस्तरीय खेलकुद

0
828

विर्तामोड , झापाको विर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत शनिबार भएको फुटबल खेलमा वडा नं १० ले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
स्थानीय डोमालाल रङ्गशालामा भएको खेलमा वार्ड नं १० ले वार्ड नं ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको शुरुदेखि नै वार्ड नं ६ माथि हावी देखिएको वार्ड नं १० को तर्फबाट पहिलो हाफको २१ औं मिनेटमा जर्सी नं ७ का उत्सव राईले टिमका लागि गोलको खाता खोलेका थिए । उनले तीन मिनेटपछि नै अर्को गोल थपे । राईले दुबै गोल १० नं जर्सीका अभिषेक गुरुङको सटिक पासमा गरेका थिए ।
मध्यान्तरपछि पनि वडा नं १० वडा नं ६ माथि हावी रह्यो । झापा ११ टिमबाट खेलिसकेका खेलाडीहरु समेत रहेको १० नं वडाले दोस्रो हाफको तेस्रो मिनेटमै तेस्रो लोग गर्यो । जर्सी नं ५ का विमान राईले गोल गरेका थिए भने १० औं मिनेटमा १७ नं जर्सीका राज कन्दङ्वाले गोल गरेर टिमलाई ४–० को स्थितिमा पुर्याए । पराजित टिमका जर्सी नं ९ का मौसम लिम्बूले सान्त्वना गोल गरे ।
पहिलो हाफमा लगातार दुई गोल गरेर टिमलाई मजबुत स्थितिमा पुर्याएका विजयी वार्ड नं १० का उत्सव राई म्यान अफ द म्याच घोषित भएको आयोजक समितिका उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए ।
प्रतियोगिता सेमीफाइनलको चरणमा प्रवेश गर्दैगर्दा डोमालाल रंगशालामा दर्शकको भीड पनि बढ्न थालेको आयोजक समितिका अध्यक्ष टिका संग्रौलाले बताएका छन् । उनले यो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु छनोट गरी नगरस्तरीय सशक्त टिम तयार गरिने पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here