सामुदायिकमा विद्यार्थीको आकर्षण बढ्दै

२० जेष्ठ २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड।

सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको लर्को लागेको छ । केही वर्ष अघिसम्म सरकारी विद्यालय भन्ने बित्तिकै विद्यार्थी मात्र होइन अभिभावक पनि नाक खुम्च्याउँथे ।

निजी विद्यालयमा महँगो शुल्क तिर्न नसक्ने र कमआयस्रोत भएका अभिभावकले मात्रै आफ्ना छोरोछोरी सामुदायिक विद्यालय पढाउँथे ।

सरकारी विद्यालयमा राम्रो पढाइ हुँदैन र सरकारी विद्यालयमा छोराछोरीको भविष्य उज्ज्वल हुँदैन भन्ने सोचेर महँगा निजी तथा आवासीय विद्यालय छोराछोरी पढाउँन अभिभावकहरू लागि पर्थे । तर, पछिल्लो समय सरकारी विद्यालयले पनि निजी तथा आवासीयभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिन थालेपछि अभिभावकहरु धमाधम आफ्ना छोराछोरी सरकारी विद्यालयमा पठाउन थालेका छन् ।

पछिल्ला दिनमा सरकारी विद्यालयले पनि निजी तथा आवासीय विद्यालय भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिन थालेपछि अभिभावकहरु धमाधम आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउन थालेका हुन् । त्यसको ज्वलन्त उदाहरण झापाको बिर्तामोड– ३ स्थित महेन्द्ररत्न माध्यमिक बिद्यालय बनेको छ । उक्त बिद्यालयमा यसै शैक्षिक सत्रमा मात्र तीन सयभन्दा बढी बिद्यार्थी बिभिन्न निजी तथा आवासीय विद्यालय छाडेर अध्ययन गर्न आएको बिद्यालयले जनाएको छ ।

सो बिद्यालयमा निजी तथा आवासीय विद्यालयबाट अध्ययन गर्न आएका विद्यार्थीको चापका कारण कक्षाकोठा अभावसँगै शिक्षकको समस्या समेत बढेको विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले बताए । बिद्यालयको शैक्षिक वातावरण राम्रो भएको र विगतदेखि नै बिद्यालयले गुणस्तरीय शिक्षाका कारण राम्रो नतिजा आउने गरेकाले यस विद्यालयमा विद्यार्थीको चाप बढेको प्रअ लिम्बूको भनाइ छ ।

निजी तथा आवासीय विद्यालय छोडेर भर्ना हुन विद्यार्थी आउन थालेपछि कक्षाकोठा, फर्निचर लगायतका सामग्रीको थप व्यवस्थापन गर्नुपरेको विद्यालयका शिक्षक भोजराज दाहालले बताए ।

विद्यार्थीलाई आकर्षण गर्न र निजी तथा आवासीय विद्यालयसँग प्रतिष्पर्धा गर्न २०६४ सालदेखि विद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यममा पढाउन शुरु गरिएको र अंग्रेजी तथा नेपाली माध्यममा पढाई हुन थालेपछि निजी तथा आवासीय विद्यालयबाट आउने विद्यार्थीको संख्या बढेको उनको भनाई छ । पहिले अंग्रेजीमा राम्रो गरून् भनेर निजी तथा आवासीय विद्यालयमा छोराछोरी पढाउने अभिभावकले महेन्द्ररत्न विद्यालयमै अंग्रेजी माध्यममा राम्रोसँग पढाइ हुन थालेपछि छोराछोरी पढ्न पठाएको विद्यालयका शिक्षक दाहालले बताए ।

अंग्रेजी पढ्नैपर्ने बाध्यताले अभिभावकले जबरजस्ती निजी तथा आवासीय विद्यालयमा छोराछोरीलाई पठाउने गरेको बताउँदै दाहालले सरकारी विद्यालयले कम खर्चमा नै राम्रो शिक्षा प्रदान गर्न थालेका कारण अभिभावकको रूची बढेको बताए । बिद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्ने गरेको दाहालको भनाई छ ।

२०७३ सालदेखि निजी तथा आवासीय विद्यालय छाडेर महेन्द्ररत्न बिद्यालयमा बढीभन्दा बढी विद्यार्थी आउन थालेको र प्रत्येक वर्ष नयाँ शैक्षिक सत्रमा विद्यार्थी आउनेक्रम बढेको बताउँदै शिक्षक दाहालले भने– ‘सस्तो शुल्कमा पढाएका कारण बिद्यार्थीको चाप बढेको छ ।’ बिद्यार्थीको चापका कारण निजी श्रोतबाट शिक्षक राख्नुपरेको तथा कक्षाकोठा र फर्निचर लगायतको व्यवस्थापन गरिएको उनले बताए । ‘’’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here