‘चितुवा कराउनु र सिंगारी हराउनु’

0
831

‘चितुवा कराउनु र सिंगारी हराउनु’ को काकताली मिलेको जस्तै भएको छ झापा पेट्रोलियम पदार्थको अभावको अवस्था । भारतमा निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै भारतबाट आयात हुने पेट्रोलियम पदार्थ आउन रोकिनुलाई माथिको भनाइसँग जोडेर हेर्नेहरुको कमी छैन ।

भारतले यसअघि लगाएको नाकाबन्दीका कारण तर्सिएको नेपाली मनमा मोदीको बहुमतका साथ भएको पुनरागमनले त्यस्तो सोच्न बाध्य बनाएको पनि हुनसक्छ । यद्यपि, भारत सरकारका तर्फबाट पश्चिम बंगालको नाका पानीटेंकीमा ‘अनलाइन’ प्रविधिबाट निर्घात गर्ने भएकाले समस्या भएको बताइएको छ । भारतीय भन्सार कार्यालयबाट आफ्नो कति सवारी, के सामान बोकेर नेपाल प्रवेश गरे, कहिले फर्किए जस्ता विवरण तत्क्षण प्राप्त हुनेगरी अनलाइन सिस्टमको व्यवस्थापन गर्दा अलमल भएको हुनसक्छ ।

हामी परर्भिरताको गहिरो खाडलमा भासिँदैछौं । भू–बनोटका आधारमा समेत कृषि वस्तुमा अति उन्नत हुनुपर्नेमा त्यसको ठिक विपरीत पराधीन भइसकेका छौं । यस्तो पराधीनता हामै्र अकर्मण्यता, विलासी चरित्र, भौतिक सुखको लालसा जस्ता कारणले हुर्किएको हो । त्यही चरित्रका कारण हाम्रो मनोविज्ञान भौतिक सुख, विलासीतापूर्ण जीवनको ध्याउन्नमा रहेको छ । वस्तुको उपयोगिता, महत्व र उपभोगको छनौट ठिक ढंगले गर्न नसक्दा परावलम्वन प्रवृत्ति बलियो भइरहेको छ । अनुत्पादक काममा खर्च गर्ने प्रवृत्तिले विलासिताका वस्तुहरु असीमित आयात भइसकेको छ । त्यसैभित्रको निजी सवारीसाधनको उपयोग गर्ने वर्तमानमा हुर्किएको प्रवृत्तिले एकै दिन झापामा मात्रै एक लाख लिटर पेट्रोल प्रयोग भइरहेको छ ।

विदेशबाट आयात गर्ने पेट्रोलियम पदार्थको उपयोगले प्रयोगकर्ताको आर्थिक जीवन कति समृद्ध हुन्छ । त्यसको लेखा कसैले राखेको छैन । त्यसबाहेक डिजेल मात्रै तीन लाख लिटर डिजेल प्रतिदिन खपत भइरहेको नेपाल आयल निगमको क्षेत्रीय शाखा कार्यालय चारआलीको तथ्यांक छ । एकदिन मात्रै सहज आपूर्ति नहुँदा झापाका पम्पहरु बन्द हुनुपर्ने तथ्यले पनि हामी भौतिक सुख र भोगविलासका पछि कसरी दौडिरहेका रहेछौं भन्ने देखापरेको छ । त्यही प्रवृत्तिका कारण पेट्रोलियम पदार्थको मूल्य जतिसुकै वृद्धि गरिए पनि त्यसको विरोध वा प्रतिरोध गर्ने कुनै समूह, संगठन वा राजनीतिक दलहरुले गरिरहेका छैनन् ।

भारतीय भन्सार नयाँ प्रविधि प्रयोगमा लागेपछि उत्पन्न भएको यो समस्या भोलि अन्य उपभोग्य वस्तुमा समेत नआउला भन्न सकिन्न । आयल निगमको तथ्यांकमा प्रतिदिन पचास वटा ट्यांटर पूर्वीनाका भएर प्रवेश गर्छन् । झापा भएरै पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङमा समेत पेट्रोलियम पदार्थ पु¥याइन्छ । अहिले संघीय संरचना अनुसार स्थानीय सरकारले भौतिक विकासका लागि पूर्वाधार निर्माणका काम गरिरहेको छ । जसका कारण पेट्रोलियम पदार्थको उच्चतम् खपत भइरहेको छ ।

त्यसमाथि हाम्रो भौतिक सुखको उपभोग गर्ने लालसाले अनुत्पादक खर्च गर्ने प्रवृत्तिका कारण संकट झन् चर्किदैछ । बिना काम, बिना प्रयोजन मोटर, मोटर साइकल खरिद गर्ने, उपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुको साटो आयात स्वतन्त्र छाड्ने सरकारले नै नेपाली पैसा रित्याइरहेको छ । त्यसैले पनि पेट्रोलियम पदार्थको अभाव बढेको छ, यसलाई रोकिएन भने हाम्रो रहेबचेको स्वावलम्वन र स्वाधीन परिचय हराउन अब बेर लाग्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here