शान्त, सुन्दर र सबल नेपालको चाहना

0
534

संखुवासभा र भोजपुरको सीमा महाकुलुङ गाउँपालिका–३ स्थित छेस्काम विकट क्षेत्रमा पर्छ । सदरमुकामबाट पच्चीस कोष टाढा र तीन दिनको पैदल दुरीमा रहेको छेस्काम प्रहरीचौकी विप्लब नेतृत्वको नेकपाले कब्जा गरेको समाचारले सबैलाई त्रसित बनायो । ‘अगुल्टोले हानेको’ नेपाली मन ‘बिजुली चम्किँदा डराउनु’ अस्वभाविक होइन ।

केही समयअघि देशकै सुरक्षित, सुविधाले पूर्ण, प्रविधियुक्त र राजधानी नै नभएको ठाउँमा भएका विस्फोटका घटना देख्ने मात्र होइन सुन्नेका लागि समेत डरलाग्दो नै छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ र उसका नेता कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन् ।

भनिन्छ बिरालो सुधो प्राणी हो त्यसले मानिसलाई हानी पु¥याउने होइन बरु सहयोग नै गर्छ । तर, जब ढोका थुनेर कुट्ने प्रयास हुन्छ तब ऊ प्रतिरक्षामा लाग्छ र आक्रामक हुन्छ । त्यही अवस्था हुन सक्छ आज प्रतिबन्ध पछिको नेकपाको । दश वर्ष सशस्त्र द्वन्द्वबाट शान्ति सम्झौता मार्फत खुल्ला राजनीतिमा आएको माओवादीभित्रको एउटा समूह हो त्यो ।

तत्कालीन सरकारसँग भएको सहमतिपछि उनीहरुका लडाकु समायोजन भए, जो अयोग्य ठहरिए उनीहरु अहिले पनि भूमिगत नै होलान् । अत्याधुनिक हतियारले सुसज्जित तत्कालीन माओवादीले हाते र घरेलु हतियार मात्र बुझाएको टिप्पणी भइरहेकै छ आजसम्म । त्यहीकारण पनि त्यसभित्रको एउटा समूह खुल्ला राजनीति र गतिविधिबाट अलग भएर फेरि पुरानै घर, धार र विचारमा फर्किएको हुन सक्छ ।

भनिन्छ सर्पको खुट्टा अरुले देख्दैन । त्यही कारण अहिले विद्रोह गरिरहेकाहरुको ल्यागत, बन्दोबस्तीका सामान, हतियार, कुशलता, योग्यता वा क्षमता वर्तमान सरकारलाई स्पष्ट छ । यस अर्थमा हिजोको सहयात्रीलाई कसरी विधिको शासनमा हिँडाउन सकिन्छ, वर्तमान सरकार त्यसमा पूर्ण जानकार छ । सरकार अभिभावक हो, संरक्षक र मागदर्शक पनि हो । त्यसकारण पनि सरकारले सबै वस्तुगत अवस्थाको विश्लेषण र अनुगमन गर्दै विरोधी शक्तिलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ । राज्यले अब युद्ध, हिंसा, द्वन्द्व वा अस्थिरताको भार बोक्नु हुँदैन । लामो हिंसा र द्वन्द्वले अस्तव्यस्त भएको नेपाली जीवनले ‘अचानक चम्किने बिजुली’बाट तर्सिनुपर्ने अवस्था आउनु हुँदैन ।

छेस्काम प्रहरी चौकी चर्चामा रहनु, त्यसकै नाममा देश हल्लिनुपर्ने अवस्था कसैको पक्षमा छैन । विगतका घटना र उदाहरणबाट सचेत हुँदै आत्मरक्षाका लागि चौकी खाली भएकै हो भने पनि त्यसमाथि नकारात्मक टिप्पणी भइरहनु पर्दैन । ‘हावा नआई पात हल्लिँदैन’ भन्ने भनाइलाई मान्ने हो भने यति बुझे हुन्छ कि इतिहास बिर्सनु हुँदैन ।

सहयात्रीलाई कम ठान्नु गलत हुनसक्छ, दम्भले संहार गर्छ, प्रेम, हार्दिकता, सहिष्णुता, सद्भावले सृजना पल्लवित हुनसक्छ । त्यसकारण पनि भएका विमति र असहमतिलाई वार्ताबाटै निरुपण गरेर शान्त, सबल, संगठित र सुन्दर नेपालको सृजनामा लाग्न सरकारको निस्पृह निष्ठा देखिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here