४९४ परिवारलाई स्वच्छ खानेपानी

0
874

बिर्तामोड।

झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका ४ सय ८७ परिवारले अब स्वच्छ खानेपानी प्रयोग गर्न पाउने भएका छन् ।

ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोग र सहारा नेपालको प्राविधिक सहयोगमा खानेपानी ट्याङ्की निर्माण गर्दै स्वच्छ खानेपानी वितरण गरेसंगै दुई नगरका स्थानीयले स्वच्छ खानेपानी प्रयोग गर्न पाउने भएका हुन् । तीन नगरका स्थानीयका लागि सरकारले तीन वटा खाने पानी ट्याङ्की निर्माण गरेसंँगै झण्डै पाँचसय परिवार लाभान्वित हुने भएका हुन् ।

अर्जुनधारा नगरपालिका–२ मा गाँजाबारी मिश्रटार खानेपानी आयोजना, बुद्धशान्ति–५ मा खारखोला खानेपानी आयोजना तथा मेचीनगर–११ र १२ का लागि धाइजनमा पाथीभरा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएसँंगै स्थानीयले स्वच्छ खानेपानी उपयोग गर्न पाएका हुन् ।

तीनवटै नगरका खानेपानी आयोजना सम्पन्न भए पनि उपभोक्ता समूहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको सहारा नेपालका वास अफिसर दीपेश ओलीले जानकारी दिए । शुक्रबार तीनवटै खानेपानी आयोजनाको सहारा नेपाल, जिल्ला समन्वय समिति, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, खानेपानी डिभिजन लगायत कार्यालयका प्रतिनिधिसहितको टोलीले तीनवटै आयोजनाको संयुक्त रुपमा अनुगमन गरेको छ ।

निर्माण सकिएसँगै तीनवटै खानेपानी आयोजनाबाट उपभोक्ता समितिमार्फत पानी वितरण भइरहेको छ । अर्जुनधारा–२ को गाँजाबारी मिश्रटार खानेपानी आयोजनाको मुहान इलामको बरफल्याङमा छ । ५२ लाख ३१ हजार ७ सय ८७ रुपैयाँमा निर्माण भएको यो आयोजनाले दुई सय पाँच घरधुरीलाई खानेपानी पु¥याउँदै आएको छ । जहाँ ग्राभेटी प्रणाली (जरुवा पानी)अन्तरगत खानेपानी वितरण भइरहेको छ ।

बुद्धशान्ति–५ को खारखोला खानेपानी आयोजनाको मुहान गंगटेस्थित खारखोलामा पर्छ । ३० लाख ९६ हजार ८ सय ३१ रुपैयाँमा निर्माण कार्य सकिएको यो आयोजनाले एक सय २४ घरलाई खानेपानी पु¥याइरहेको उपभोक्ता समितिका अध्यक्ष रोहित तोलांगीले बताए । सो आयोजनामा मोटरको सहायताले पानी ट्याङ्कीमा पु¥याएर उपभोक्तालाई वितरण गरिदै आएको छ ।

यता मेचीनगर–११ र १२ स्थित धाइजनको पाथीभरा खानेपानी आयोजनाले १ सय ६५ घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ । यो आयोजनाको लागत ५६ लाख २७ हजार ३ सय ७९ रुपैयाँ हो । यहाँका उपभोक्तालाई पनि ग्राभेटी प्रविधिद्वारा पानी विरतण गरिँदै आएको छ ।

‘हामीले अनुगमन कार्य सक्यौँ, त्यहाँका स्थानीयको घर–घरमा शुद्ध पानी पु¥याउने हाम्रो लक्ष्य हो,’ सहारा नेपालका वास अफिसर ओलीले भने– ‘अब केही प्राविधिक कुरा सम्पन्न गरेर उपभोक्ता समूहलाई हस्तान्तरण गर्नेछौं ।’ अनुगमनमा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मीना पराजुली, सहारा नेपालका अध्यक्ष भरतकुमार गिरी, सदस्य हेमराज गिरी, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ झापाका सचिब बाबुराम कार्की, खानेपानी डिभिजन कार्यालयकी प्रमिला पौडेल, सहारा नेपालका प्रतिनिधिहरु पुष्पाञ्जली सिन्हा, देवी चुडाल, किसन गौतम लगायतको सहभागिता थियो ।

यता ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोग र सहारा नेपालको प्राविधिक सहयोगमा घोडामारा खानेपानी आयोजना वाह्रदशी – ५, नव पाञ्चायन खानेपानी आयोजना वाह्रदशी – ५ र भृकुटी खानेपानी आयोजना मेचीनगर– २ वाँहुनडागीमा पनि तीनवटा खानेपानी आयोजना निर्माणाधीन छन् ।

एक करोड ६२ लाख ८२ हजार ७ सय ३ रुपैयाँको लागतमा घोडामारा खानेपानी आयोजना सञ्चालनमा छ । आयोजनाबाट ३ सय २१ घरधुरी प्रत्यक्ष लाभान्वित हुने र पाँच सार्वजनिक संस्था लाभान्वित हुने बताइएको छ ।

त्यस्तै नव पाञ्चायन खानेपानी आयोजनाबाट २ सय ७२ परिवार प्रत्यक्ष लाभान्वित हुने र आयोजना एक करोड ४५ लाख ६४ हजार २ सय ८४ रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको छ । यता भृकुटी खानेपानी आयोजना ९९ लाख ७६ हजार ६ सय ३६ रुपैयाँको लागतमा निर्माण गरिएको हो । खानेपानी आयोजनाबाट ३ सय २१ परिवार लाभान्वित हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here