विद्यालय बचाउन सरकार अग्रसर बन्नुपर्छ

0
781

दाताका परिवारले नै मुद्दा हालेपछि मोहनमाया माध्यमिक विद्यालयमा बढेको समस्याबारे अभिभावक देवीप्रसाद गिरी भन्छन्–


देवीप्रसाद गिरी : अध्यक्ष
अभिभावक शिक्षक संघ,

देवीप्रसाद गिरी सामाजिक कार्यमा क्रियाशील नाम हो । झापा बिर्तामोड– २ चारपाने निवासी गिरी स्थानीय स्तरदेखि राष्ट्रिय महत्वका विषयमा समेत खुलेर बहस गर्दै आएका छन् । विभिन्न समस्या परेर पीडित बनेकाहरुले गिरीलाई सम्झन्छन् । किसानदेखि राजनीतिक दलका प्रमुखले समेत उनको सरसल्लाह लिदै आएका छन् । गिरी अहिले पछिल्लो समय मोहनमाया माध्यमिक विद्यालयमा देखिएको समस्या समाधानका लागि अग्रसर भएका छन् । उनको पहलमा यसअघि पनि विभिन्न समस्याको समाधान भएको र यसपटक पनि मोहनमायाको विवाद समाधान हुनेमा धेरै आशावादी छन् । उनै गिरीसँग मोहनमाया माविको विषयमा गरिएको कुराकानीको केही अंशः

मोहनमायाको मुद्दा के हो ?

– २०२४ सालमा स्थापना भएको विद्यालय हो मोहनमाया । प्राथमिक विद्यालय केन्द्र नम्वर ३ का नामबाट करुवाभिट्टामा यो विद्यालय स्थापना भएको हो । करुवाभिट्टामा त्यो समय आदिवासीहरु, राजवंशी, थारु, धिमाल, गन्गाई, सन्थाल आदिको बसोबास रहेको थियो ।

निम्न वर्गका अभिभावकले त्यो बेला विद्यालयको आवश्यकता महशुस गरी खरको झुपडी बनाएर विद्यालय सुचारु गरेका थिए । तत्कालीन राजसभा स्थायी समितिका सभापति भूपालमान सिंह कार्कीले त्यो समयमा म जमिन दिन्छु भन्दै उदारता देखाउनुभयो । उहाँले नै १२ कठ्ठा ५ धुर जमिन विद्यालयलाई दिने घोषणा गर्नुभयो । सो समयमा जग्गाको मूल्य २५ सयदेखि तीन हजार रुपैयाँसम्म प्रति बिगाह बिक्री हुन्थ्यो । सोही समयमा त्यहाँका अभिभावकले पञ्चकन्या राईस मिलका प्रोपाइटर प्रेम श्रेष्ठले पाँच कोठे पक्की भवन बनाइदिने घोषणा गर्दै विद्यालय भवन बनाइ दिनुभयो ।

तत्कालीन शिक्षा नियमावलीमा विद्यालय दर्ता गर्ने सिलसिलामा जिल्ला शिक्षा कार्यालय भद्रपुरमा विद्यालय दर्ता गर्न जाँदा जमिनको मूल्यभन्दा भवनको मूल्य बढी देखिएकाले शिक्षा कार्यालयका पदाधिकारीहरुसँगको छलफलबाट विद्यालयको नाम प्रेम श्रेष्ठकी आमा मोहनमायाको नाममा विद्यालय दर्ता गर्ने सहमतिपछि विद्यालयको नाम मोहनमाया रहन गएको हो । त्यो बेला पाँच कोठे भवन निर्माण गर्दा ६५ हजार रुपैयाँ खर्च भएको जनाउँदै मोहनमायाका नाममा विद्यालयको नामाकरण गरिएको थियो । जग्गादाताले पनि त्यो बेला हुन्छ । उहाँकै नाममा विद्यालय दर्ता गरेर पठनपाठनमा सहज होस् भनेपछि उहाँकै सल्लाहमा विद्यालयको नामाकरण गरिएको हो । अहिले त्यही विषयमलाई लिएर केही वर्ष यता दाता परिवार र विद्यालयबीच दूरी बढेको छ । त्यसलाई सहजीकरण गर्ने काम म आफूले गरिरहेको छु ।

दाता परिवार र विद्यालयबीच के भएर दूरी बढ्यो नि ?

– विद्यालयलाई जमिन दान गरेको समयमा जमिनको मूल्य जाँदै कम थियो । त्यो बेला विद्यालय बनाउन खर्च बढी लागेपछि सहमतिमा नै विद्यालयको नाम मोहनमाया जुराइएको हो । कार्की परिवारको सहमतिमा मोहनमाया नामाकरण भएको र धेरै वर्ष विद्यालय सञ्चालनमा रह्यो । अहिले पनि विद्यालय त्यही नाममा सञ्चालित छ । जमिन भू–भागको एक्लो निर्णयमा प्रदान गरिए पनि पछि छोराहरुले समेत सहमति जनाएका थिए । जग्गादाता भूपालमान सिंहको देहावसान हुनु पूर्व उहाँका छोरा लोकबन्धु कार्की समेतले विद्यालयलाई प्रदान गरिएको जमिन रजिष्टे«सन पासका लागि समेत सहमति गराउँदै सहीछाप गर्नुभएको छ ।

तर, सहमति गरेको भोलिपल्ट नै अचानक आफू काठमाडौं जानुपर्ने भएको भन्दै लोकबन्धु कार्की काठमाडौं गएपछि जमिन विद्यालयको नाममा ल्याउन समस्या परेको हो । बुबा राजसभा सभापति भएपछि उहाँहरुको हाउभाऊ राजा परिवार सरह नै हुन्थ्यो । त्यसबेला उहाँको छेउछाउ कोही जान सक्ने अवस्था थिएन । अनि सर्वसाधारण कसरी जान्थे । उहाँ जत्तिको व्यक्तिले दिएको जमिनमा स्थापना गरिएको विद्यालयको जमिन पास गरी दिनु पर्यो त्यो बेला भन्न सक्ने अवस्था पनि थिएन । पछि जगतबन्धु कार्की विद्यालयको कार्यक्रममा २०५२ सालमा आउनुभयो । विद्यालयले उहाँलाई बोलायो ।

विद्यालयले बोलाएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएका उहाँले भाषणा मै भन्नुभएको थियो– ‘यो विद्यालयलाई थप एक विगाह जमिन दिन आफूहरु तयार रहेको र भूपालमानसिंह कार्कीको नाममा विद्यालयलाई मावि तहसम्म सञ्चालन गरिनु पर्छ ।’ उहाँले त्यो बेला संरचनासहित विद्यालय बनाइदिन्छु भन्ने घोषणा गर्नुभयो । उहाँले त्यो समयमा घोषणा गरेको कुरा विद्यालयको निर्णय पुस्तिकामा अझैं छ । त्यसबेला राष्ट्रिय समाचार समितिले समेत समाचार प्रकाशन गरेको थियो । ती सबै कुरा हामीसँग अझैं सुरक्षित छन् । पछि भूपालमानको निधनपछि छोरा जगतबन्धुले २०७० सालमा जिल्ला अदालत झापामा मुद्दा दायर गर्नुभएछ ।

विद्यालयले मेरो जमिन अतिक्रमण गरी विद्यालयका भौतिक संरचना निर्माण गरिएको भन्दै मुद्दा दाहेर गरेको सुन्दा हामी आफैं चिन्तित बन्यौं । यता धमाधम विद्यालय निर्माण भइरहेको छ । विद्यालयको समेत स्तरोन्नति हुँदै गएको छ । उता कार्की परिवारले विद्यालयको नाममा मुद्दा हालेपछि मुद्दाको तारेख धाउनुपर्ने अवस्था सृजना भयो । दाता परिवारले नै विद्यालयलाई मुद्दा हालेपछि विद्यालय र दाता परिवारबीचमा दूरी बढेर गएको हो । जिल्ला अदालत झापाले दाता परिवारकै तर्फ मुद्दा फैसला गर्यो । उच्च अदालतले पनि उहाँहरुकै पक्षमा मुद्दा फैंसला गर्यो । यो कारण नै विद्यालय र दाता परिवारबीच दूरी बढेको हो ।

करोडौंका संरचना निर्माण भएको छ त्यो ठाउमा । अहिले दाता परिवार आफैंले विद्यालयलाई जमिन खाली गरिदिनु भन्दै अदालतमा मुद्दा दायर गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकलाई कस्तो असर परेको छ ?

– विद्यालयलाई मुद्दा परेपछि विद्यार्थीदेखि अभिभावक सबैलाई मनोवैज्ञानिक असर पर्ने नै भयो । यो विद्यालयको समस्या समाधानका लागि हामीले उच्चस्तरीय समिति निर्माण ग¥यौं । समितिमा पाँच जना हुनुहुन्छ । जसको नेतृत्व संविधानसभाका सदस्य सुधिरकुमार शिवाकोटीले गर्नुभयो ।

उहाँसँगै संविधानसभा सदस्य रवीन कोइराला, प्रदेश नं. १ का सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक पार्टीका नेतृत्व, वडा अध्यक्ष लगायतले कार्की परिवारलाई विद्यालयलाई प्रदान गरिएको जमिन रजिष्टे«सन पास गरिदिनु भन्दै विराटनगरस्थित उहाँहरुको घर पुगेर आग्रह गरिएको छ । र, जगतबन्धुले भने अनुसार उहाँहरुको परिवारको नाम समेत विद्यालयमा समावेश गराउने भन्दै आफ्ना कुरा राखे पनि उहाँहरुले हाम्रो कुरा सुन्न मान्नु भएन ।

उहाँहरुले अदालतको निर्णय अनुसार काम गर्ने भन्दै विद्यालयलाई आजसम्म पनि आफैंले दान गरेको जमिन विद्यालयको नाममा पास गरिदिनु भएको छैन । विद्यालयको नाममा जमिन नहुँदा त्यहाँ अध्ययनरत् विद्यार्थी, शिक्षक अभिभावक समेत अहिले चिन्तित छन् । किनकि यो विद्यालय यस्तो विद्यालय हो कि जहाँ सुस्त मनस्थिति भएका विद्यार्थीदेखि गरीब–दुःखी सबैका छोराछोरीले सहजरुपमा अध्ययन गर्न पाउँछन् । प्रदेश नम्वर १ कै उत्कृष्ठ विद्यालय मध्येको यो विद्यालयका जमिन दाता परिवारले नै बक्रदृष्टि लगाउँदा समस्या भएको हो । अझ उच्च अदालतबाट पनि मुद्दा हारेपछि चिन्ता माथि चिन्ता थपिएको छ ।

अनि अबको निकास के त ? यहाहरु सर्वाेच्च जानुहुन्छ ?

– हामीलाई मुद्दा गर्ने कुनै रहर होइन । बाध्यताबस परिवन्धमा परियो । दाता परिवारले दिएको जमिनमा आफैं मुद्दा हालेपछि हामीले विद्यालयको सारा काम छाडेर मुद्दा र मामिला गर्दै हिँड्नु परेको छ । कार्की परिवारले यदि विद्यालयलाई जमिन साच्चै दिएका थिएनन् भने यत्रो भौतिक संरचना निर्माण हुन्जेली किन उहाँहरु चुपचाप बसिरहनुभयो ? जतिबेला विद्यालयमा भवन निर्माणका लागि इँटा झर्थे त्यो बेला नै खबरदारी गर्नुपर्थ्यो नि ?

पुराण लगाएर विभिन्न दाता परिवार खोज्दै हामीले दुःखका साथ जब विद्यालयलाई भौतिकरुपले हेर्न हुने बनायौं अनि उहाँहरुले विद्यालयलाई जमिन खाली गर्न भन्नुभयो । के हामीले कार्की परिवारसँग जमिन खोसेर विद्यालय बनाएको हो र ? हामीले त उहाँहरुले खुशीले विद्यालय निर्माणका लागि दान गरेको जमिनमा मागेर भए पनि विद्यालयका भवन बनाएका हौं ।

अब स्थानीय सरकारले शिक्षाको सम्पूर्ण जिम्मेवारी लिएको छ । र, यो विद्यालयको समस्या समाधान स्थानीय सरकार प्रादेशिक सरकार, संघीय सरकारलाई समेत जानकारी छ । अब विद्यालयले भन्दा तीन तहको सरकारले विद्यालयमा देखिएको समस्या समाधान गर्नुपर्छ । व्यवस्थापन समितिले विद्यालयको बाहिरी वातावरण हेरेपनि शिक्षकले विद्यार्थीलाई पठनपाठनमा केन्द्रीत हुनुपर्ने भएकाले मुद्दा हेरेर हिँड्न सक्दैनन् ।

विद्यालयमा परेको मुद्दाका कारण विद्यार्थीको मनस्थितिमा समेत गहिरो असर परेको छ । विद्यार्थीलाई भोलिका दिनमा यही विद्यालयमा पढ्न पाइएला कि नपाइएला भन्ने चिन्ताले पिरोलेको छ । यस्तो अवस्थामा सहजरुपमा विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था छैन । हामी सबै अहिले यही विषयले चिन्तित छौं ।

तपाईं त्यो विद्यालयमा अभिभावक शिक्षक संघको अध्यक्ष हुनुहुन्छ अनि विद्यालयको मुद्दालाई किनारा लगाउन आफैं अग्रसर भएर हिडिरहनु भएको छ । अरु पनि थिए होलान् नि अभिभावकहरु ? तपाईं नै अग्रसर किन ?

– मेरो पनि दायित्व छ यो विद्यालय जोगाउन । मेरो अझैं पनि चाहना के हो भने दाता परिवारसँग सहमति, सहकार्य गरेर कार्की परिवारको काँही कतै चित्त दुखेको भए उहाँहरुलाई समेत सम्मान गर्दै उहाँहरुको नाम विद्यालयमा अटाएरसँगै लिएर जान सकिन्छ कि भन्ने हिसावले पहल थालेको हँु ।

म मात्रै होइन, यो विद्यालयको समस्या समाधान गर्न व्यवस्थापन समिति अध्यक्ष नारायण राजवंशी, विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ, झापा जिल्लाका प्रमुख राजनीतिक पार्टीहरु, स्थानीय सरकार, प्रादेशिक सरकारका पदाधिकारीहरु, संघीय सरकारका सांसदज्यूहरु समेत जुट्नु भएको छ । मुद्दा गर्नुभन्दा दाता परिवारसँग विद्यालयसँग नजिक ल्याउनका लागि हाम्रो पहल निरन्तर जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here