जंकफुड बालबालिकाका लागि घातक

0
984

पछिल्लो समय नेपालमा जंकफुड अर्थात् पत्रु खाना खानेक्रम ह्वात्तै बढेको छ । जंकफुडका कारण मानिसहरुमा रोगको भार पनि बढ्दो क्रममा छ । जंकफुडका कारण सबैभन्दा धेरै असर बालबालिकामा परिरहेको छ । जंकफुडले बालबालिकाको स्वास्थ्यमा पार्ने असरका विषयमा जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीसँग गरेको कुराकानीः

जंकफुडमा बालबालिकाहरु आकर्षित हुनुको खास कारण के होला ?

– जंकफुडमा बालबालिकाको आकर्षण बढ्नुमा मुख्य दुई कारण छन् । पहिलो कारण, अभिभावकले आफ्ना छोराछोरीलाई भान्सामा पाक्ने खानेकुराको महत्वबारे नसिकाउनु र घरमा पकाएको खानेकुरा भन्दा प्याकेटका खानेकुरामा बानी पारिदिनु हो । आमाबुबाको मानसिकता कस्तो छ भने खाना खान नमान्ने बच्चाले कुरमुरे, चाउचाउ जस्ता प्याकेटका खानेकुरा मिश्रण गरेर ख्वायो भने खान्छ ।

शिशु अवस्थादेखि नै बजारमा पाइने प्याकेजिङ खानेकुरा खुवाउने बानी बसालेपछि छोराछोरीमा पछिसम्म त्यो लत हट्दैन । बाबुआमाले साना नानीहरुलाई स्कुल जाँदा खाजाका रुपमा चाउचाउ, बिस्कुट, कुरमुरे जस्ता पत्रु खाना पठाउने गरेको देखिन्छ । अभिभावककै सोचाइ यस्तो भएपछि बालबच्चाको आकर्षण जंकफुडमा हुने नै भयो ।

दोस्रो कारण, सरकारको गलत नीति हो । किनभने टोलटोलमा राखिएका होडिङबोर्ड र विभिन्न स्थानमा राखिएका प्रचार सामग्रीले बालबालिकालाई जंगफुडप्रति आकर्षित गरिरहेको छ । यस्तो प्रचारलाई सरकारले नियन्त्रण गर्न सकेको छैन । जंकफुडको असरको बारेमा अभिभावकमा चेतना जगाउन सकिरहेको छैन । त्यसले पनि बालबालिकालाई जंकफुडप्रति आकर्षित गर्न मद्दत गरिरहेको छ ।

जंकफुडले बालबालिकामा कस्तो असर पारेको छ ?

– जंकफुडको असर तत्काल त नदेखिएला तर भविष्यमा भयावह स्थिति ल्याउनेमा शंका छैन । भान्सामा पाक्ने दाल, भात, तरकारी, रोटी, आलु, भटमास, मकै, बारीमा फलेको मौसम अनुसारका फलफूल हामीले बिर्सिएका छौं ।
जंकफुडले बालबालिकालाई चाहिने पौष्टिक तत्वमा कमी ल्याउँछ । घरवरपर पाइने खानेकुरा छोडेर बाहिरी प्याकेजिङ खानेकुराले क्याल्सियम, भिटामिन, मिनरल्स जस्ता तत्वहरु नपुग्ने हुँदा बच्चा कुपोषित भई शारीरिक, मानसिक र संवेगात्मक विकासमा रोकावट आउँछ ।

प्याकेजिङ खानेकुरामा अत्यधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुने हुनाले बालबालिकामा मोटोपन मात्रै देखिने तर भित्र पौष्टिकतत्व नहँुदा सानै उमेरमा उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुने जस्ता समस्या देखिन्छन् । जंकफुड बिस्तारै रोगको घर बन्दैछ ।

बच्चालाई जंकफुड खुवाउन रुचाउने अभिभावकलाई के सल्लाह दिनुहुन्छ ?

– घरको खाना नदिएर पिज्जा, बर्गर, चाउचाउ, बिस्कुट, केक लगायतका खानेकुरा दिने अभिभावकले सम्झनुहोस्, तपाईं आफ्ना बालबालिकालाई श्राप दिँदै हुनुहुन्छ । ‘तँ जिन्दगीभर बिरामी भएर बाँचेस्, कहिल्यै स्वस्थ नभएस्, तेरो बुद्धि भ्रष्ट होस्, मुटु कमजोर होस् । हड्डीहरु मक्किएर जाओस्, शारीरिक र मानसिक रुपमा पनि तँ सधैं सुस्त रहेस्,’ छोराछोरीलाई यस्तो श्राप दिँदै हुनुहुन्छ ।

परिवारका सदस्यले सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि, घरको खाना खाएन भनेर बालबालिकालाई खानामा जंकफुड मिसाएर खुवाउने, त्यति गर्दा पनि मानेन भने मोबाइल दिएर खुवाउने बानी कहिल्यै गर्नुहुँदैन । उनीहरुलाई आफूसँगै राखेर घरकै खाना खुवाउने गर्नुपर्छ ।

अर्को कुरा, बच्चाले हातले भात उठाएर खाँदा हात र मस्तिष्कको सञ्चारमा पनि भूमिका खेलेको हुन्छ । बच्चाले खाना खाँदा पोख्छ, फोहोर गर्छ । तर, त्यो उसको सिकाइको प्रक्रिया हो । परिवारमा सबै जनासँगै बसेर खाँदाको आनन्दले पनि बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । त्यसकारण बालबालिकालाई जसरी सकिन्छ, जंकफुडको बारेमा बानी नपार्न र परिसकेको बानी हटाउन अभिभावकले भूमिका खेल्नुपर्छ ।

बच्चालाई स्कुल पठाउँदा होस् वा घरमा खाजा खुवाउँदा होस्, घरकै खाजा चिउरा, चना, अन्डा, आलु, भटमास, मकै भुटेर खुवाउने बानी पार्ने हो भने बालबालिको स्वास्थ्यमा समस्या नै आउँदैन । जंकफुडको विषयमा बाबुआमा आफ्ना सन्तानका लागि केही पनि कडा बनिदिनुपर्छ, ताकी उनीहरुलाई घरकै खाना खुवाउन सकियोस् ।

जंकफुड नियन्त्रणमा व्यक्ति, समाज र राष्ट्रबाट के गर्नुपर्ला ?

– सबैभन्दा पहिले स्कुलका शिक्षकहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । बालबालिकाले आमाबुबाको भन्दा पनि शिक्षकले भनेका कुराहरु मनन गर्छन् । घरमा खाजा बनाउने प्रक्रियामा पनि छोराछोरीलाई सामेल गराउने गर्नुपर्छ, जसले गर्दा उनीहरुलाई कुन खानेकुराको महत्व कस्तो हुन्छ भनेर जानकारी होस् ।

स्कुल र समुदायबाट नै जंकफुडलाई निरुत्साहित गर्ने खालको नीति सरकारले ल्याउनु जरुरी छ । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै आमसञ्चारबाट पनि जंकफुडको बारेमा सूचना प्रवाह गर्नुपर्छ । ताकि बालबालिकालाई जंकफुड होइन, घरकै खानामा आकर्षित गर्न सकियोस् । स्वास्थ्यखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here