बिर्तामोड।
झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नर्सिङ सेवा शुरु भएपछि छात्राहरुलाई महिनावारीका बेला स्वास्थ्य परामर्श लिन सुविधा भएको छ ।
१ नं. प्रदेश सरकारले प्रदेशका हरेक जिल्लाको एक सामुदायिक विद्यालयमा नमूना नर्सिङ सेवा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत ‘नर्सिङ गुरुआमा’को रुपमा स्टाफ नर्स प्रतिभा थापाले गत चैतदेखि देवी माध्यमिक विद्यालयमा नियमित सेवा शुरु गरेकी हुन् ।
उनलाई विद्यार्थी र शिक्षकहरुले ‘नर्सिङ गुरुआमा’ भनेर आदर साथ बोलाउने गरेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले दिनहुँ ३० देखि ५० जना विद्यार्थी सेवा लिन ‘नर्सिङ गुरुआमा’ कहाँ जाने गरेको बताए । विद्यालयमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । जसमध्ये आधाभन्दा बढी छात्रा छन् ।
‘कहिलेकाही ५० जनासम्मलाई स्वास्थ्य सेवा दिएकी छु’ –विद्यालयमा कार्यरत ‘नर्सिङ गुरुआमा’ प्रतिभा थापा भन्छिन्– ‘दिनहुँ कम्तीमा १५ जना छात्रा महिनावारी स्वास्थ्यका बारेमा परामर्श लिन आउने गर्छन् ।’
विद्यालयमै महिनावारी भएका बेला छात्राहरु अब सिधै ‘नर्सिङ गुरुआमा’लाई भेट्न जाने गर्छन् । विद्यालयका अनुसार महिनावारी अवधिमा विगतमा बिदामा बस्ने गरेका छात्राहरु अचेल विद्यालय आउने गरेका छन् । ‘नर्सिङ गुरुआमा’को सेवा शुरु भएकै कारण छात्राहरुले महिनावारीका बेला पढाइलाई नियमित गरिरहेका हुन् ।
प्रदेश सरकारले नियुक्ति गरेर पठाएको कारण ‘नर्सिङ गुरुआमा’लाई विद्यालयले तलब दिनुपर्दैन । विद्यालयमा दिएको नर्सिङ सेवाको मासिक प्रतिवेदन समेत ‘नर्सिङ गुरुआमा’ले स्वास्थ्य कार्यालयमै पठाउनुपर्छ । विद्यालयले नर्सिङ सेवाका लागि एउटा छुट्टै कार्यकक्ष उपलब्ध गराएको छ । जसलाई एउटा क्लिनिक कै रुपमा व्यवस्थित गरिएको छ । विद्यार्थीहरु कार्यकक्षमै स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।






























