किसानलाई अनुदानमा कृषि उपकरण

0
576

बैतडी।

बैतडीको पाटन नगरपालिका वडा नं ६ को कार्यालयले कृषि समूहलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । वडामा रहेका सात कृषि समूहलाई मागको आधारमा अनुदानमा कृषि उपकरण वितरण गरिएको वडाध्यक्ष राजेन्द्रसिंह विष्टले बताउनुभयो ।

५१ प्रतिशत अनुदानमा धान तथा गहुँ चुट्ने मेसिन थ्रेसर र हातेट्र्याक्टर वितरण गरिएको उहाँले बताउनुभयो । किसानको समय बचत होस् र उनीहरूलाई कृषिकर्ममा सजिलो होस् भन्ने उद्देश्यले कृषि उपकरण वितरण गरिएको हो । श्रीकृष्ण तरकारी तथा खाद्य समूह, हरियाली महिला कृषक समूह र सिद्धनाथ कृषक समूहलाई हातेट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष विष्टले बताउनुभयो ।

यस्तै सहस्त्रलिङ्ग कृषि समूह, कैलपाल कृषि समूह, प्रगतिशील उपभोक्ता समूह र नागार्जुन कृषि समूहलाई हातेट्र्याक्टर वितरण गरिएको छ । अनुदानमा कृषि उपकरण पाउँदा आफूहरूलाई सहज हुने सहस्त्रलिङ्ग कृषि समूहका अध्यक्ष बेलु भण्डारीले बताउनुभयो । अनुदानमा हातेट्र्याक्टर पाएपछि खेत जोत्नका लागि सजिलो हुने श्रीकृष्ण तरकारी तथा खाद्य समूहका अध्यक्ष गीता विष्टको भनाइ छ ।

कृषि उपकरणले महिलाको घरायसी कार्यबोझमा कमी आउने भएकाले अनुदानमा कृषि उपकरण वितरण गरिएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताउनुभयो । रु छ लाखको लागतमा कृषि उपकरण खरीद गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here