कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा रहेका १९ तालमध्ये अधिकांश ताल सुके

0
545

घोडाघोडी,

कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा रहेका १९ तालमध्ये अधिकांश ताल सुकेका छन् । बाँकी रहेका तालमा समेत पानीको सतह घटेको छ ।

जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी सिमसार क्षेत्रमा रहेका १९ तालमध्ये टेडी र पर्सिनिया ताल पूर्णरुपमा सुकेका छन् । त्यस्तै अन्य ११ वटा तालमा पानीको सतह निकै कम छ भने बाँकी ताल आफ्नै आकारमा छन् । विभिन्न मानवीय गतिविधि प्राकृतिक ताल सुक्नुका कारण रहेको भएता पनि प्रमुख कारण भने चुरेमा रहेका पानीका मुहान सुक्नु नै भएको लामो समयदेखि संरक्षणका क्षेत्रमा काम गर्दै आएका हिरुलाल डङ्गौराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहले प्राकृतिक तालतलैयालाई समेत ठेक्कामा दिँदा अझै बढी समस्या देखिएको छ । जस्ले गर्दा जलीय जैविकता नष्ट हुने खतरा बढी हुन्छ, जलचर प्राणीको वासस्थानमा समस्या आउँछ, आहाराको अभाव हुनुका साथै वासस्थान परिवर्तन हुने खतरा बढी हुन्छ । यसले गर्दा सिमसार क्षेत्रको अस्तित्व नै सङ्कटमा पर्न सक्छ ।”

सिमसार क्षेत्रमा संरक्षित ताललाई ठेक्कामा लगाउन नपाइने भएता पनि सिमसार संरक्षित क्षेत्रको मर्म र अवधारणा विपरीत स्थानीय निकायले नै प्राकृतिक ताल माछापालनका लागि ठेक्कामा दिनु दुःखद् भएको संरक्षणकर्मी दीपेन्द्र शाही बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसले प्राकृतिक तालको दोहन भई सिमसार क्षेत्र नै समाप्त हुने खतरा बढेको छ ।” “तालहरु नगरपालिकाले ठेक्कामा दिए पनि स्पष्ट मापदण्ड बनाएर दिनुपर्ने हो तर त्यसो भएको छैन”, शाहीले भन्नुभयो । केही पैसाको लोभले स्थानीय सरकारले सिमसार क्षेत्र नै सङ्कटमा पर्ने गरी ताल ठेक्कामा दिनु नै गलत भएको उहाँको भनाइ छ ।

पर्यटन व्यवसायी डवल शाहका अनुसार उचित मापदण्ड बनाउन सके सिमसार क्षेत्रका तालतलैयालाई ठेक्कामा दिँदा समस्या छैन । उहाँ भन्नुहुन्छ, “सिमसार भन्ने बित्तिकै प्रयोग नै गर्न नमिल्ने हैन तर स्पष्ट नीति बनाउनु प¥यो ।” मानिस माछा मार्दा पूर्णरुपमा पानी सुकाउन थाले त्यहाँ गएर समस्या भयो भन्नुहुन्छ, अर्का संरक्षणकर्मी विजयराज श्रेष्ठ । उहाँ भन्नुहुन्छ, “अब प्राकृतिकरुपमा रहने धेरै कुरा सकिए ।

स्थानीय तहले तालतलैया ठेक्कामा दिएपछि ठेकेदारले जसरी पनि आफ्नो रकम अशुल गर्नलाई तालको जैविक विविधता ध्वस्त हुने गरी ताल पूर्णरुपमा सुकाउने क्रम बढेका कारण आज यो समस्या आएको छ ।” उहाँका अनुसार चुरेको फेदीमा हुने अवैज्ञानिक ढुङ्गा गिट्टी निकासी तथा वन डढेलो र चुरेको पानीको मुहान सुक्नु पनि प्रमुख कारण हुन् ।

यता घोडाघोडी नगरपालिकाले गठन गरेको बृहत् घोडाघोडी पर्यटन विकास बोर्डका कार्यकारी उपाध्यक्ष दयाराम चौधरीले मापदण्ड नबनाई ताल ठेक्कामा दिँदा समस्या भएको र अब त्यो कुरालाई सच्याएर अघि बढ्ने बताउनुभयो । नगरपालिकाले सिमसार क्षेत्रमा रहेका तालसहित अन्य ताल माछापालनका लागि ठेक्कामा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here