एक भारतीय युवक अवैध चिठ्ठासहित पक्राउ

0
591

पार्थ मण्डल
भद्रपुर, नेपाली सीमावर्ती बजार क्षेत्रमा भारतीय चिठ्ठा (लट्री) बेचबिखन गर्ने कारोबारीको बिगबिगी बढ्न थालेको छ । नेपालमा प्रतिबन्धित मानिएको भारतीय चिठ्ठाको कारोबार बढेसँगै नेपाली जनताका लाखौँ रुपैयाँ भारत गइरहेको छ ।
भारतीय चिठ्ठा रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले बल्ल सक्रियता बढाएको देखाएको छ । दिनहुँ भारतको पश्चिम बंगालबाट आउने चिठ्ठा भारतीय तथा नेपाली कारोबारीको सेटिङमा बिक्री वितरण हुँदै आइरहेको पाइएको छ । विशेष गरी झापाको भद्रपुर र काँकरभिट्टा नाकामा चिठ्ठा कारोबार गर्ने गिरोह सक्रिय रहेको छ । भारतको पश्चिम बङ्गाल, सिक्किम, नागालैण्डमा चिठ्ठा खुलेआम खेल्ने र खेलाइने गर्दै आइरहेको छ । यसको लतमा लागेर नेपाली नागरिक घरबारविहीन तथा बेरोजगार समेत हुन थालेको जनगुनासो बढेको छ । पछिल्लो समयमा भारतबाट दैनिक ज्याला मजदुरीको काम गर्न नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागूऔषध बिक्री गर्न आउने, पोका तस्करीमा संलग्न हुने लगायतका व्यक्तिले भारतीय चिठ्ठा नेपाल भित्र्याउने र यहाँका केही व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
भद्रपुरमा भारतीय अवैध चिठ्ठा बेचबिखन गर्ने कारोबारी बढेसँगै वडा प्रहरी कार्यालय भद्रपुरले एक भारतीय युवकलाई ठूलो परिमाणको चिठ्ठासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला डेङ्गुजोत बस्ने २० वर्षीय मोहमद एनसउललाई रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा भद्रपुर –६ स्थित भानुनगर नजिकै डब्लुबी ७४ एभी ५२९६ नम्बरको भारतीय मोटरसाइकलमा सवार एनसउललाई शङ्का लागी चेकजाँच गर्दा उनले बोकेको झोलाबाट भारतीय चिठ्ठा बरामद गरिएको हो । उनको साथबाट प्रहरीले पश्चिम बङ्गाल र नागालैण्ड स्टेट कम्पनीको १२० ठेली चिठ्ठा बरामद गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । युवक एनसउलले भारतबाट चिठ्ठा ल्याएर भद्रपुरका व्यक्तिहरूलाई बिक्री वितरण गर्दै आइरहेको अनुसन्धानको क्रममा खुलेको उनले बताए । यता पक्राउ परेका एनसउललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको जनाइएको छ ।
यस्तो छ चिठ्ठा सम्बन्धी कानून
चिठ्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिठ्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैन । कुनै चिठ्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिठ्ठा बिक्री वितरण गर्ने वा बिक्री वितरण वा विज्ञापनको लागि दिने, कुनै चिठ्ठा सम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री वितरण गर्ने वा सो कामको लागि आपूm साथ राख्ने, नेपाल सरकारले तोकेको बाहेक विदेशी मुलुकबाट कुनै चिठ्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिठ्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिठ्ठाको बिक्री वितरण सम्बन्धी कुनै लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिठ्ठा सम्बन्धी काम गर्नको लागि कुनै घर जग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ भन्ने चिठ्ठा ऐनमा प्रस्ट व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here