डेरीका चालकहरुलाई चेतनामूलक ट्राफिक शिक्षा

0
843

काँकरभिट्टा।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापाद्वारा सञ्चालित एनएमसी डेरी उद्योगले आफ्नो उद्योगमा कार्यरत सवारी चालकहरुका लागि एकदिने चेतनामूलक ट्राफिक शिक्षा कार्यक्रम आइतबार सञ्चालन गरेको छ ।

उद्योगमा रहेका सवारीका करिव दुई दर्जन सवारीका चालकहरुलाई ट्राफिक तथा सवारी ऐनका बारेमा अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले प्रशिक्षण दिएका थिए । प्रनानि रेग्मीले ठूला या साना सवारीका चालकहरुले रोक, हेर र जाऊको सिद्घान्तलाई आत्मसात गर्नु पर्नेमा जोड दिए ।

उनले आफ्नो साइडभन्दा विपरीततर्फ गएर सवारी चलाउँदा र प्रतिस्पर्धा गर्दा अत्यधिक दुर्घटना हुने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए । हरेक चालक सवारी चलाउने बखत तनावमुक्त हुनुपर्ने, कसैसँग रिसराग गर्न नहुने तथा दिमागमा नानाथरीका कुरा खेलाउनु नहुने भन्दै प्रनानि रेग्मीले एउटा चालकको काँधमा ठूलो जिम्मेवारी रहेको बताए ।

पुल वा लामा–लामा धर्का भएका ठाउँमा गाडीले ओभरटेक गर्न नहुने भन्दै उनले यदि त्यसो गरे ऐन अनुसार दण्ड जरिवाना हुने चेतावनी दिए । कहिल्यै पनि पछाडिबाट बाटो काट्न नहुने उनको भनाइ थियो । दुर्घटना भए तत्काल सम्बन्धित निकायमा जानकारी गराउनु हरेक नागरिकको दायित्व भएको भन्दै उनले भने –चालकको त झन् ठूलो दायित्व हुन्छ ।

यदि कुनै मान्छेलाई मार्र्ने नियतले दुर्घटना गराएमा उसलाई जन्मकैदसम्मको सजाय हुने तथा पछि सारेर मारेको खण्डमा कडाभन्दा कडा कारवाही हुने उनले चालकहरुलाई जानकारी गराए । अधिकांश दुर्घटना मनिसका कारण हुने गरेका छन् भने केही दुर्घटना यान्त्रिकका कारण पनि हुने गरेकाले समय–समयमा आफ्ना सवारी साधनको राम्ररी चेकजाँच गर्न उनले सुझाव दिए ।

उनले आफ्नो सवारी साधन ४० को गतिमा छ भने त्यसलाई रोक्नुपरेमा १७ मिटर, ५० को गतिमा भए २३ मिटर ६० को गतिमा भए ३६ मिटर र ८० को गतिमा भए ५३ मिटरको दुरी आवश्यक पर्ने सहभागी चालकहरुलाई जानकारी गराएका थिए ।

पैदल यात्री, छाडा चौपायका कारणले दुर्घटना हुने भन्दै चालकका काँधमा निक्कै ठूल्ठूला चूनौति भएकाले यसलाई सहजरुपमा नियन्त्रण गर्न सक्नुपर्ने उनको भनाइ थियो । सवारी सम्बन्धि सांकेतिक भाषाहरु बुझ्न नसक्दा दुर्घटना निम्तिने भएकाले ओभरटेक गर्दा, बाटो काट्दा, रोक्दा, या साइडमार्ग जान लाग्दा नियम अनुसारका बत्ती बाल्नुपर्ने उनले बताए ।

सडकमा जहिले पनि साइरन जडित गाडीहरुलाई प्राथमिकता दिनु पर्ने भन्दै नेपाली सेना, बारुण यन्त्र, एम्बुलेन्स, भीआइपी सवार सवारी साधनलाई प्राथमिकता राख्न र तत्काल बाटो छोड्नु पर्ने उनको सुझाव थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइराला, सञ्चालक सदस्य डम्बरबहादुर बस्नेत लगायतले एनएमसीलाई हाम्रो र राम्रो बनाउन खोजेको बताए । कार्यक्रमको उद्देश्यमाथि डेरीका कर्मचारी नवराज अधिकारीले प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here